प्राधिकरणको निर्देशनपछि आइएमई लाइफको लाभांश प्रस्ताव संशोधन, बोनस सेयर यथावत, नगद घट्यो

बिजमाण्डू
२०८१ बैशाख २३ गते १०:५० | May 5, 2024
प्राधिकरणको निर्देशनपछि आइएमई लाइफको लाभांश प्रस्ताव संशोधन, बोनस सेयर यथावत, नगद घट्यो

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव संशोधन गरेको छ। नेपाल बीमा प्राधिकरणले कम्पनीलाई करप्रयोजन बाहेक नगद लाभांश वितरण नगर्न निर्देशन दिएपछि कम्पनीले लाभांश प्रस्ताव संशोधन गरेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट २५ प्रतिशत बोनस सेयर र ९.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो।

प्राधिकरणको निर्देशनपछि कम्पनीले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। लाभांश प्रस्ताव प्राधिकरण र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३३ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनीले खुद नाफा पोहोर ९ महिनाको तुलनामा ७५.७९ प्रतिशतले बढाएको हो। पोहोर चैतसम्म आइएमई लाइफले १८ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

प्रिमियम र खुद आम्दानी बढाउँदा कम्पनीको खुद नाफा उच्च दरमा वृद्धि भएको हो। कम्पनीले ३ अर्ब ११ करोड रुपैयाँ खुद प्रिमियम संकलन गरेको छ।

यो पोहोर चैतको तुलनामा ७.७९ प्रतिशत धेरै हो। कम्पनीले पोहोर ९ महिनामा २ अर्ब ८९ करोड रुपैयाँ खुद प्रिमियम आर्जन गरेको थियो।

आइएमई लाइफको चुक्ता पुँजी हाल ४ अर्ब रुपैयाँ छ। कम्पनीको प्रति सेयर आम्दानी ११.०५ रुपैयाँ र प्रति सेयर नेटवर्थ १७७.२५ रुपैयाँ छ।