जीबी राईलाई नेपाल ल्याउन थालियो पहल, रविले मागे मलेसियाका गृहमन्त्रीसँग सहयोग

बिजमाण्डू
२०८१ बैशाख २३ गते १०:२५ | May 5, 2024
जीबी राईलाई नेपाल ल्याउन थालियो पहल, रविले मागे मलेसियाका गृहमन्त्रीसँग सहयोग

काठमाडौं। सहकारी ठगी आरोपमा फरारको सूचीमा रहेका गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी)लाई नेपाल ल्याउन गृहमन्त्री रवि लामिछानेले पहल थालेका छन्। चार दिनअघि मात्र लामिछानेले यसबारेमा मलेसियाका गृहमन्त्री सैफुद्दिन नसुतुन इस्माइलसँग कुराकानी गरेका थिए।

Tata
GBIME
Nepal Life

पक्राउ गर्न रेड कर्नर नोटिस जारी भएको तीन महिना बितिसक्दा पनि फरार राईलाई प्रहरीले नेपाल ल्याउन सकेको छैन। उनी मलेसियामा बसेको सूचना पाएपछि गत माघ १२ गते इन्टरपोलबाट डिफ्युजन नोटिस जारी गरिएको थियो। त्यसको दुई सातापछि माघ २९ गते फेरि रेड कर्नर नोटिस जारी भयो। तर, राई अझै प्रहरीको पकडमा छैनन्।

सूर्यदर्शन सहकरी र सुप्रिम सहकारीमा राई संलग्न भएर करोडौं रुपैयाँ अपचलन गरेको खुलेपछि पक्राउ गरेर नेपाल ल्याउनुपर्ने आवाज उठेको हो। गृहमन्त्रीको जिम्मेवारी सम्हालेको तीन महिना भइसक्दा पनि रवि लामिछानेले राईलाई ल्याउन पहल नगरेको भन्दै आलोचना भइरहेको छ। राई र लामिछानेले पहिला एकै संस्थामा रहेर काम गरेका थिए।

‘उहाँको गृहमन्त्रीसँग जीबी राईको विषयमा छलफल भएको थियो। कागजपत्र मिलाएर केही दिनमा नै पठाइदिने कुरा भएको छ,’ गृहमन्त्री लामिछाने स्रोतले भन्यो।

त्यस्तै रेड कर्नर र डिफ्युजन नोटिस जारी भइसकेकपछि पनि राईलाई नपठाएकाले परराष्ट्र मन्त्रालयमार्फत गत फागुनमा नै कूटनीतिक पत्रसमेत पठाइएको थियो। तर, राईलाई नेपाल सरकारले मलेसियाबाट फर्काउन सकेको छैन।

सहकारी ठगीमा गृहमन्त्री रवि लामिछाने पनि आरोपित छन्। तर, पदसँगै प्रधानमन्त्री पुष्पकमल दाहालसँगै सत्ता गठबन्धनले उनलाई आड दिएको छ। राईलाई पक्राउ गरेर नेपाल फर्काए लामिछानेमाथि लागेको आरोपका विषयमा पनि थप तथ्य खुल्ने आस गरिएको छ। कास्की र बुटवलमा अहिले राई र लामिछाने जोडिएका मुद्दाका जाहेरी दर्ता भएका छन्।

‘यसमा जीबी राईको बयानले गृहमन्त्रीको विषयमा थप खुल्ने देखिन्छ,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने।

वैशाख ३ गते जीबी राईसहित २८ जनाविरुद्ध बुटवलको सुप्रिम सहकारीका विरुद्ध मुद्दा दायर भएको थियो। जसमा जीबी राईले गोर्खा मिडिया प्रालिको नाममा १० करोड रुपैयाँ भन्दा बढी पठाएको देखिएको छ।

बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ। अनुसन्धानपछि तयार गरेको प्रतिवेदनअनुसार १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार रुपैयाँ ठगी गरेको खुल्न आएको हो। गत साउन २२ गते उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो।

१ हजार ३६ जनाले आफू ठगिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। जसमा सहकारीका कोषाध्यक्ष कुमार रम्तेल मात्र पक्राउ परेका छन्। प्रहरीले अध्यक्षसहित १९ जनालाई प्रतिवादी बनाएको छ। सोही सहकारीमा अर्को पूरक उजुरी पनि परेको छ।

जीबी राई गोर्खा मिडिया नेटवर्कमा हुँदा गृहमन्त्री लामिछानेका साझेदार थिए। त्यसैले पनि आफू गृहमन्त्री भएको समयमा राईलाई पक्राउ गर्नुपर्ने चुनौती उनीमाथि थपिएको छ।