डिपल एस०७ पछि एल०७ सेडान नेपाली बजारमा छिट्टै ल्याइँदै, मूल्य कति ?

बिजमाण्डू
२०८१ बैशाख २३ गते ०९:३२ | May 5, 2024
डिपल एस०७ पछि एल०७ सेडान नेपाली बजारमा छिट्टै ल्याइँदै, मूल्य कति ?

काठमाडौं। एक महिना अघिमात्रै चांगनको सब-ब्रान्ड डिपल एस०७ बिक्री सुरु गरेको एमएडब्लुले सेडान एल०७ नेपाली बजारमा छिटै ल्याउने भएको छ। यसको पुष्टि कम्पनीले आइतबार उक्त गाडीको अधिकतम खुद्रा मूल्य (म्याक्सिमम रिटेल प्राइस) सार्वजनिकसँगै गरेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले गाडीको मूल्य ६६ लाख ९९ हजार रुपैयाँ तोकेको छ। कम्पनीले एसयुभी एस०७ भने ७२ लाख रुपैयाँमा बिक्री गर्दै आएको छ।

कम्पनीले एल०७ केही महिना अघिदेखि नै नेपाली सडकमा ‘टेस्ट’ गरिरहेको छ। कम्पनीहरुले गाडी ग्राहकहरुलाई बिक्री गर्नुभन्दा अगाडि रोड टेस्ट गर्छन्। जसलाई ‘रोडवर्दी टेस्ट’ अर्थात ‘रियल वर्ल्ड युजेज प्याटर्न’ पनि भनिन्छ।

कम्पनीले यसलाई ९९ किलोवाट क्षमताको मोटर पावरमा ल्याएको छ। यसअघिको एसयुभी एस०७ पनि ९९ किलोवाट पावरको मोटरमा ल्याएइको हो। यो गाडी ५ सिटर छ।

नेपाल ल्याइएको उक्त स्पोर्टी सेडानमा ६६.८ किलोवाट आवर(युनिट)को टर्नरी एनएमसी ब्याट्री प्याक छ। जसले एक पटकको फुल चार्जमा ५४० किलोमिटर दुरी पार गर्न सकिने कम्पनीले जनाएको छ।

यसमा इन्ट्रीगेटेड एडप्टिभ क्रुज कन्ट्रोल, कार फलो स्टप एण्ड गो, फ्रन्ट कोलिजन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेक, लेन किप असिस्ट, ट्राफिक जाम असिस्ट, लेन डिपार्चर वार्निङ, ब्लाइन्ड स्पर्ट डिटेक्सन, लेन चेन्ज असिस्ट, रियर कुलिजन वार्निङ, रियर क्रस ट्राफिक अलर्ट जस्ता फिचर छन्।

यो गाडी इपी१ प्लेटफर्ममा निर्माण गरिएको हो। यो मिडसाइज सेडानको डाइमेन्सनको कुरा गर्दा ४ हजार ८२० एमएम लामो छ। यसमा २९०० एमएमको ह्‍वीलबेसका साथै १९ इन्चको ह्‍वील छ। यसको ग्राउन्ड क्लियरेन्स ग्लोबल स्ट्यान्डर्डअनुसार १५० एमएमको छ। तर, नेपाल आउने गाडीको भने १६५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीले जनाएको छ।

यसमा १४.६ इन्चको स्क्रिन उपलब्ध छ, जसमा १०.५ इन्च एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर पनि दिइएको छ।