नेपालले गुमायो वेस्ट इण्डिज ‘ए’ विरुद्धको सिरिज, चौथो खेलमा २८ रनले पराजित

बिजमाण्डू
२०८१ बैशाख २० गते १६:१० | May 2, 2024
नेपालले गुमायो वेस्ट इण्डिज ‘ए’ विरुद्धको सिरिज, चौथो खेलमा २८ रनले पराजित
वेस्ट इण्डिज 'ए' विरुद्ध ब्याटिङ गर्दै नेपालका कप्तान रोहितकुमार पौडेल। तस्बिर: क्यान

काठमाडौं। वेस्ट इण्डिज ‘ए’ ले नेपालविरुद्धको टी-२० सिरिज जितेको छ। पाहुना टोली एक खेल अगावै सिरिज च्याम्पियन भएको हो।

Tata
GBIME
Nepal Life

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहिबार भएको सिरिजको चौथो खेलमा नेपाल २८ रनले पराजित भयो। सिरिजको पहिलो खेल जितेको नेपाल त्यसपछिका तीन खेलमा लगातार पराजित भएको हो।

५ खेलको सिरिजमा वेस्ट इण्डिज ३-१ ले अघि छ। सिरिजको अन्तिम खेल शनिबार हुने छ।

नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको खेल हेर्दै दर्शक। तस्बिर: क्यान

बिहिबार टस जितेर ब्याटिङमा उत्रिएको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रन बनायो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल निर्धारित २० ओभरमा १८१ रनमा समेटियो।

२१० रनको विशाल लक्ष्य पछ्याएको नेपालको ओपनिङ फेरि पनि निराशाजनक रह्यो। ओपनर आशिफ शेख डकआउट भए। कुशल भुर्तेल १ रनमा बाहिरिए। उच्च लयमा रहेका कप्तान रोहित पौडेलले ८२ रन बनाए। यसक्रममा उनले ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे। तर सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले १९/१९ रनभन्दा बनाउन सकेनन्। अभिनाश बोहरा १७ रनमा अविजित रहे।

वेस्ट इण्डिजका हाइडेन वाल्स र म्याथ्यु फोर्डेले समान ३ तथा फाबियन एलन र गुडाकेश मोटिइले समान २ विकेट लिए।

नेपालविरुद्ध वेस्ट इण्डिजको ब्याटिङ। तस्बिर : क्यान

त्यसअघि सुरुवाती ओभरमै विकेट लिएर मोमेन्टम आफ्नो पक्षमा ल्याउन खोजे पनि नेपाली बलर वेस्ट इण्डिजको ब्याटिङसामू निरीह बने।

१.१ ओभरमा प्रतिश जिसीले एलिक अथानाजीको विकेट लिँदै नेपाललाई पहिलो सफलता दिलाए। दोस्रो र तेस्रो विकेट स्पिनर कुशल भुर्तेलले लिए। उनले ९.६ ओभरमा ५८ रन बनाएका जोन्सन चार्ल्स र १३.२ ओभरमा ४ रन बनाएका केसी कार्टीलाई क्रमश: दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलबाट क्याच आउट गराए। त्यसपछि अन्य बलरले विकेट लिन सकेनन्।

वेस्ट इण्डिजविरुद्ध दुई विकेट लिएका कुशल भुर्तेल। तस्बिर: क्यान

वेस्ट इण्डिजका लागि सर्वाधिक रन आन्द्रे फ्लेचरले बनाए। उनले ५४ बलमा ९ चौका र ४ छक्काको सहायतामा अविजित ८४ रन जोडे। त्यस्तै जोन्सन चार्ल्सले ५८ रन बनाए। फाबिअन एलन ३३ रनमा अविजित रहे।