एक सातापछि पोखरा विमानस्थलमा उडान नियमित, डढेलोका कारण थियो प्रभावित

बिजमाण्डू
२०८१ बैशाख २० गते ११:५१ | May 2, 2024
एक सातापछि पोखरा विमानस्थलमा उडान नियमित, डढेलोका कारण थियो प्रभावित

काठमाडौं । मौसमी प्रतिकूलताका कारण एक सातायता प्रभावित भएको पोखरा उडान यथावत संचालनमा आएको छ। नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बुधबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु भएको जानकारी दिए।

Tata
GBIME
Nepal Life

‘देशव्यापी रुपमा आगलागीका कारण तुवाँलोले भिजीबिलिटी कम भएपछि एक साता पोखराको उडान प्रभावित भएको थियो,’ उनले भने,’हिजो दिउँसोदेखि उडानहरु पुनः सुरु भएका छन्।’

उनका अनुसार पोखरा विमानस्थलमा इन्स्ट्रुमेन्ट ल्याण्डिङ सिस्टममार्फत न्यूनतम १७ सय मिटर र भिजुअल फ्लाइट रुल्सअन्तर्गत पाँच किलोमिटरको भिजीबिलिटी आवश्यक छ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार गत २५ अप्रिलदेखि उडान प्रभावित भएको थियो। बिहीबार बिहानदेखि भने नियमित रुपमा उडान सुरु भएको हो।

काठमाडौ-पोखरा दैनिक १७ उडान गर्दै आएको कम्पनीको एक सातापछि पोखराबाट नेपालगञ्ज, भैरहवा तथा भरतपुरको सिधा उडान सुरु भएको जानकारी उनले दिए।

‘२५ अप्रिलका दिन दिउँसो ४ बजे अनुकूल भिजिबिलिटी भएपछि बुद्धले ७ वटा उडान भरेको थियो। मौसमी प्रतिकूलताका कारण अप्रिल २६ र २७ का दिन एउटा पनि उडान भएनन्,’ सूचना अधिकारी कर्णले भने, ‘२८ अप्रिलका दिन दिउँसो साढे १ बजेदेखि मौसममा सुधार भएपछि ६ उडान भएको थियो।’

अप्रिल २९ र ३० मा एउटै उडान गर्न नसकेको सो वायुसेवा कम्पनीले मे १ का दिन भने दिउँसो १ बजेदेखि ५ वटा उडान भरेको थियो। यो अवधिमा कम्पनीले यात्रु सेवालाई मध्यनजर गर्दै फ्लाइट रिसेडुलिङ र रिफण्‍डिङको व्यवस्था लागू गरेको उनले जानकारी दिए।