विद्युतीय कमर्सियल भ्यानमा बैंकको लगानी कति जोखिममा ? ब्याट्रीको वारेन्टी सकिए के हुन्छ ?

शुक्र गिरी
२०८१ बैशाख ६ गते १३:०० | Apr 18, 2024
विद्युतीय कमर्सियल भ्यानमा बैंकको लगानी कति जोखिममा ? ब्याट्रीको वारेन्टी सकिए के हुन्छ ?

काठमाडौं। विद्युतीय कमर्सियल भ्यान खरिदमा अहिले बैंकहरुले दिल खोलेर ऋण प्रवाह गरिरहेका छन्। तर के त्यो जोखिममुक्त छ त?

Tata
GBIME
Nepal Life

नेपालमा अहिले १५०० भन्दा धेरै विद्युतीय कमर्सियल भ्यान सञ्चालनमा छन्। ती मध्ये ९० प्रतिशतभन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर किनिएका हुन्। बैंकले इभी कमर्सियल भ्यानलाई ७ वर्षसम्मका लागि ऋण लगानी गरिरहेका छन्।

बिक्रेता कम्पनीले भने इभी भ्यानमा ५ वर्षभन्दा बढीको वारेन्टी दिएका छैनन्। कम्पनीले ३ लाख किलोमिटर वा ५ वर्षसम्मको वारेन्टी दिएका छन्। वर्ष र किलोमिटरमध्ये जुन पहिला आउँछ त्यही लागू हुन्छ।

इन्धन गाडीको हकमा ५ वर्षको वारेन्टीपछि मर्मत संभार गर्न समस्या छैन। सर्भिस सेन्टरदेखि प्राविधिक जनशक्ति पर्याप्त पाइन्छन्। सामान फेर्नुपर्दा पनि धेरै महँगो पर्दैन।

तर इभी भ्यानको हकमा त्यस्तो छैन। इभीको ब्याट्री निकै महँगो पर्छ। अहिले ४५ देखि ६० लाख रुपैयाँ तिर्नुपर्ने भ्यानको ब्याट्रीलाई १५ देखि १८ लाख रुपैयाँ पर्छ। बिक्रेताले ३ लाख किलोमिटर वा ५ वर्षपछि ब्याट्रीको मतलव गर्दैन।

उदाहरणका रुपमा काठमाडौं-चितवन-काठमाडौं आउजाउ गर्दा विद्युतीय कमर्सियल भ्यान दैनिक ३०० किलोमिटर गुड्छ। यहि दरमा चलाए मासिक ९ हजार किलोमिटर र वार्षिक १ लाख ८ हजार किलोमिटर गुड्छ। वारेन्टी दिइएको ३ लाख किलोमिटर ३ वर्ष पन नभइ पूरा हुन्छ।

इभी भ्यान उच्च गतिको भेहिकल हो। यसमा प्राय: फाष्ट चार्जर प्रयोग गरिन्छ। फाष्ट चार्जरले ब्याट्रीको आयु घट्छ। अर्थात ३ वर्षपछि ब्याट्री नै परिवर्तन गर्नुपर्ने अवस्था आउन सक्छ। ब्याट्री मर्मत हुने ग्यारेन्टी नरहेकाले वारेन्टी सकिएपछि ग्राहकले आफैं किन्नुपर्ने हुन्छ। सवारीधनीले ब्याट्रीमा खर्च गर्न नचाहे बैंकको लगानी जोखिममा पर्छ।

एक अटो व्यवसायीले पनि ब्याट्रीको वारेन्टीभन्दा किस्ता तिर्ने अवधि धेरै रहेकाले बैंकको लगानी जोखिममा पर्न सक्ने बताए। ‘ब्याट्रीमा हामीले निश्चित समयका लागि वारेन्टी दिएका छौं। त्यसपछि मर्मतको ग्यारेन्टी छैन। मर्मत गर्ने ठाउँ खासै धेरै छन्। जनशक्ति पनि उपलब्ध छैनन्,’ ती व्यवसायीले भने, ‘तर किस्ता तिर्ने अवधि लामो छ। त्यसैले बैंकको लगानी जोखिममा नपर्ला भन्न सकिन्न।’

ग्राहकले ब्याट्री फेर्न नसेकेको अवस्थामा गाडी काम नलाग्ने एसेट बन्न पुग्छ। जथाभावी विस्तार गरिएको ऋण वारेन्टी अवधि सकिएपछि एनपीएमा परिणत हुने जोखिम हुन्छ।

नबिल बैंकका डेपुटी सीइओ मनोज ज्ञवाली विद्युतीय गाडी किन्न ऋण दिंदा ग्राहकको क्षमता पनि हेर्ने गरिएकाले जोखिममा नपर्ने बताउँछन्। ‘विद्युतीय कमर्सियल गाडी किन्नेको कमाइदेखि सबै कुराहरु हेरेर ऋण दिइन्छ। धितो पनि लिने चलन छ,’ उनले भने, ‘हामीले गाडी मात्रै हेरेर ऋण दिने होइन। ग्राहकको क्षमता पनि हेर्छौं। त्यसबाहेक धितो पनि राख्छौं। त्यसैले ऋण जोखिममा पर्ने कुरै आउँदैन।’

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्ट बैंकहरुले कर्जाको जोखिम हेरेर लगानी गर्नुपर्ने बताउँछन्। ‘बैंकहरुले लगानी गर्दा जोखिम अध्ययन गर्छन्। ऋण सुरक्षित भए मात्रै उनीहरुले लगानी गर्छन्,’ उनले बिजमाण्डूसँग भने, ‘इभीमा पनि बैंकहरुले अध्ययन गरेर ऋण दिएका होलान्।’

यसरी कम गर्न सकिन्छ जोखिम

बैंकहरुले वारेन्टी पिरियड पछि ग्राहकलाई कसरी ब्याट्री खरिद गर्न सक्ने अवस्थामा पुर्‍याउने भन्ने योजनाबारे ऋण दिंदा नै सोच्नुपर्ने देखिन्छ। बैंक आफैंले ऋण दिंदा नै गाडी सञ्चालनबाट कमाएको रकमबाट केही प्रतिशत ब्याट्रीका लागि भनेर ग्राहकलाई जम्मा गर्न लगाउने व्यवस्था गर्ने हो भने जोखिम टार्न सकिन्छ।

ब्याट्री फेर्नै परे पनि पैसा जोहो गर्न ग्राहकलाई समस्या पर्ने छैन। तत्कालको फाइदा हेरेर विद्युतीय कमर्सियल गाडी खरिद गर्ने ग्राहकहरुका लागि पनि यो राम्रो उपाय हुनसक्छ।

यस्तै, इभी कमर्सियल भ्यान कम्पनी खडा गरेर खरिद गर्न लगाउँदा पनि बैंकहरुको लगानी जोखिममा पर्ने सम्भावना कम हुन्छ।

यसैगरी अर्को भनेको इभी बिक्रेता कम्पनीहरुले ब्याट्री रिपेयर सेन्टरहरु स्थापना जतिसक्दो चाँडो गर्दा पनि केही हदसम्म ब्याट्रीको रिपेयर गरेर ग्राहकहरुको ब्याट्री परिवर्तनको कस्ट घटाउन सक्नेछन्।

यस्तो छ इभी भ्यानको आम्दानी

नाडा अटोमोबाइल एसोसिएसनले यसअघिका अर्थमन्त्री डा. प्रकाशशरण महतलाई इभी कमर्सियल भेहिकलको मासिक कमाई सम्बन्धी तथ्यांक बुझाएको थियो।

नाडाको विवरण अनुसार ११ सिटर भ्यानका एक खरिदकर्ताले गत माघमा भोजपुरदेखि इटहरीसम्म ४ हजार २०४ किलोमिटरसम्म गुडाउँदा १ लाख ५१ हजार ६५ रुपैयाँ कमाए। चार्जिङ शुल्कमा जम्मा १८ हजार ७१५ रुपैयाँ मात्र खर्च भयो।

ड्राइभरको तलब, पार्किङ शुल्क, सडक कर लगायत शीर्षकमा ३३ हजार ८२० रुपैयाँ खर्चिएका ती गाडीधनीले किस्तामा मासिक ५२ हजार २०० रुपैयाँ यसैबाट बुझाए। यसबाहेक उनले ४६ हजार ३३० रुपैयाँ बचत गरे। नाडाको हिसाब अनुसार इभी भ्यानमा गरेको लगानी करिब ४ वर्षमा फिर्ता आउँछ।