
काठमाडौं। बजार व्यवस्थापन प्रभावकारी नहुँदा लगातार घाटामा रहेको दुग्ध विकास संस्थानमा सरकारले महाप्रबन्धक खुला प्रतिष्पर्धाबाट नियुक्ति गर्ने भएको छ। यसका लागि कृषि तथा पशुपन्छी मन्त्रालयले बुधबार सूचना जारी गर्दै योग्यता पुगेका इच्छुकबाट दरखास्त माग गरेको हो।
दरखास्त दिन चाहने व्यक्ति कृषि तथा पशुपन्छी विकास मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७६ (संशोधन सहित) को दफा ३ को उपदफा (२)(ग) बमोजिमको शैक्षिक योग्यता हासिल गरी कुनै संस्था वा निकायमा अधिकृतस्तर/ व्यवस्थापकको हैसियतले कम्तिमा १० वर्षको कार्य अनुभव हासिल भएको हुनुपर्ने सूचनामा छ।
उक्त दफामा ‘कार्यकारी प्रमुखको लागि सम्बन्धित सार्वजनिक निकायको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र वा कानूनमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उत्तीर्ण गरेको र कुनै संस्था वा निकायमा व्यवस्थापकको हैसियतले कम्तीमा पाँच वर्षको कार्य अनुभव हासिल गरेको’ हुनुपर्ने उल्लेख छ।
दरखास्त दिने अन्तिम मितिसम्म ३० वर्ष उमेर पूरा भएर ६० वर्ष ननाघेको हुनुपर्छ। दुग्ध विकास संस्थानको महाप्रबन्धक नियुक्तिको लागि सिफारिस समितिको कार्यविधि, २०६१ को अनुसूची २ बमोजिमको दरखास्त/प्रतिबद्धता पत्रका साथ उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि, अनुभव खुल्ने कागजातहरूको प्रतिलिपि, वैयक्तिक विवरण पेस गर्नु पर्नेछ।
दरखास्तसाथ दुग्ध विकास संस्थानको वर्तमान अवस्था, समस्या तथा चुनौती र सुधार योजनासहितको ५ हजार शब्दमा नबढाई तयार पारिएको व्यावसायिक कार्ययोजना सिलबन्दी गरी पेस गर्नु पर्नेछ। व्यावसायिक कार्ययोजनाको सफ्ट कपी/पेन ड्राइभसमेत छुट्टै खाममा सिलबन्दी गरी पेस गर्नु पर्नेछ।
व्यावसायिक कार्ययोजना प्रस्तुत गर्न विद्युतीय प्रति प्रस्तुति तोकिएको समयमा पेस गर्नु पर्नेछ। नेपाल सरकार, प्रदेश, स्थानीय तह वा सरकारको पूर्ण वा आंशिक स्वामित्वमा सञ्चालित सार्वजनिक निकाय वा संगठित संस्थामा कार्यरत कर्मचारीले आवेदन पेस गर्दा सम्बन्धित निकायको अधिकार प्राप्त अधिकारीको स्वीकृति/अनुमति अनिवार्य रुपमा पेस गर्नु पर्नेछ। दरखास्त दस्तुर ३ हजार रुपैयाँ छ।
आवेदन फाराम व्यावसायिक कार्ययोजनको कभरपृष्ठ, दुग्ध विकास संस्थानको महाप्रबन्धक नियुक्तिको लागि सिफारिस समितिको कार्यविधि, २०८१ कृषि तथा पशुपन्छी विकास मन्त्रालयको वेबसाइटबाट डाउनलोड गर्न सकिने सूचनामा उल्लेख छ।