उत्तराखण्डमा शुक्रबार लोकसभा निर्वाचन : झुलाघाट, ब्रह्मदेव र गड्डाचौकी नाका आजदेखि बन्द

बिजमाण्डू
२०८१ बैशाख ४ गते १४:४९ | Apr 16, 2024
उत्तराखण्डमा शुक्रबार लोकसभा निर्वाचन : झुलाघाट, ब्रह्मदेव र गड्डाचौकी नाका आजदेखि बन्द

काठमाडौं । भारतमा वैशाख ७ गतेबाट लोकसभा निर्वाचन सुरु हुँदैछ। सात चरणमा हुने निर्वाचनको लागि अहिले भारतमा तयारी भइरहेको छ। यसबीच सुरक्षा सतर्कतालाई ध्यानमा राख्दै नेपाल-भारत सीमा नाका पनि बन्द गरिँदैछ।

Tata
GBIME
Nepal Life

पहिलो चरणमा भारतमा १०२ सिटका लागि निर्वाचन हुँदैछ। सो अनुसार उत्तराखण्डमा पनि निर्वाचन हुँदैछ।

निर्वाचन संघारमा आइपुग्दा भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि बन्द गरिने बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए। निर्वाचनलाई मध्यनजर गर्दै आज साँझ ६ बजेदेखि वैशाख ७ गते साँझ ७ बजेसम्म झुलाघाट नाका बन्द रहने शर्माले बताए।

यस्तै, कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका पनि तीन दिन बन्द हुनेभएको छ। मंगलबार साँझ ५:१५ बजेदेखि मतदान समाप्ति हुँदासम्म नेपाल–भारत सीमा नाका पूर्ण बन्द हुनेछन्।

उत्तराखण्ड चम्पावत जिल्लासँग जोडिए दुई नाका मंगलबार साँझ सवा पाँच बजेदेखि बन्द हुने कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताए।

सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ।