आईपीएलमा सनराइजर्स हैदराबादले तोड्यो उच्च स्कोरको आफ्नै रेकर्ड, बेङ्ग्लोर फेरि पराजित

बिजमाण्डू
२०८१ बैशाख ४ गते ०६:४६ | Apr 16, 2024
आईपीएलमा सनराइजर्स हैदराबादले तोड्यो उच्च स्कोरको आफ्नै रेकर्ड, बेङ्ग्लोर फेरि पराजित
Photo: BCCI

इण्डियन प्रिमियर लिग (आईपीएल)को एकै इनिङ्सको उच्च स्कोरको रेकर्ड फेरि तोडिएको छ। सनराइजर्स हैदराबादले एकै इनिङ्समा यसै संस्करणमा बनेको आफ्नै २७७ रनको कीर्तिमानलाई तोड्दै २८७ रन बनाएको हो।

Tata
GBIME
Nepal Life

टी-२० मा यो दोस्रो ठूलो स्कोर हो। टी-२० फर्म्याटमा बनेको सबैभन्दा ठूलो स्कोर ३१४ हो। यो नेपालले एसियन गेम्सका क्रममा चीनको हङजाउमा मंगोलियाविरुद्ध बनाएको थियो।

यसक्रममा चिन्नस्वामी स्टेडियम बेङ्ग्लोरमा गएराति सम्पन्न खेलमा सनराइजर्स हैदराबादले घरेलु टोलीलाई २५ रनले हराउन सफल भयो।

टस हारेर ब्याटिङमा उत्रिएको हैदराबादले बिस्फोटक ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २८७ रनको विशाल स्कोर खडा गर्न सफल भयो। जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले ७ विकेट गुमाएर २६२ रन बनायो।

एग्रिगेटमा एक खेलमा सबैभन्दा ठूलो स्कोर पनि यसै खेलमा बनेको छ। यो खेलबाट ५४९ रन बन्दा मुम्बई इण्डियन्स र हैदराबादबीचको खेलको ५२३ रनको कीर्तिमान टुटेको छ।

सुरुवाती ब्याटिङमा उत्रिएको हैदराबादका लागि ट्राभिस हेडले ४१ बलमा १०२ रन बनाए। त्यस्तै हेनरिच क्लासेनले ३१ बलमा ६७ रन बनाउँदा अभिषेक शर्माले ३४ रन बनाए। त्यस्तै अब्दुल समदले १० बलमा अविजित ३७ रन बनाउँदा ऐडन मार्क्रमले अविजित ३२ रन बनाए।

बलिङतर्फ बेङ्ग्लोरका लोकी फर्ग्युसनले २ विकेट लिँदा रीस टोपलीले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लोरलाई दिनेश कार्तिकले बिस्फोटक ब्याटिङ गर्दै माथि लगे। उनले ३५ बलमा ८३ रन बनाउँदा फाफ डुप्लिसिपले २८ बलमा ६२ तथा विराट कोहलीले २० बलमा ४२ रन जोडे। यसका स्कोरबोर्डमा राम्रो रन बनाए पनि बेङ्ग्लोर लक्ष्यसम्म पुग्न भने सकेन।

बलिङमा हैदराबादका प्याट कमिङ्सले ३ विकेट लिँदा मयंक मार्कण्डेयले २ तथा टी नटराजनले १ विकेट लिए।

योसँगै हैदराबाद ६ खेलबाट ४ जित निकाल्दै ८ अंक जोडेको छ। अंकतालिकामा हैदराबाद चौथो स्थानमा उक्लिएको छ। अर्कोतर्फ ७ खेल खेल्दा एउटामा मात्र जित निकालेको बेङ्ग्लोर २ अंक जोड्दै तालिकाको पुछारमा छ।