हङकङमाथि नेपालको सजिलो जित, प्रिमियर कपमा लगातार तेस्रो जितसँगै सेमिफाइनलमा

बिजमाण्डू
२०८१ बैशाख ३ गते १५:४१ | Apr 15, 2024
हङकङमाथि नेपालको सजिलो जित, प्रिमियर कपमा लगातार तेस्रो जितसँगै सेमिफाइनलमा
नेपाली क्रिकेट टोलीका ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेल। तस्बिर: एसीसी

काठमाडौं। नेपाली क्रिकेट टोलीले हङकङलाई हराएको छ। एसीसी प्रिमियर कप अन्तर्गत ओमनमा आज सम्पन्न समूह ‘ए’को खेलमा नेपालले हङकङलाई ८ विकेटले हराएको हो। योसँगै प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै सेमिफाइनल खेल्ने पक्कापक्की गरेको छ।

Tata
GBIME
Nepal Life

अल अमेरत स्टेडियममा टस हारेर हङकङ सुरुवाती ब्याटिङमा उत्रिएको थियो। नेपालले कसिलो बलिङ गर्दा हङकङ १७.५ ओभरमा ११४ रनमा अलआउट भयो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले १२.२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो।

हङकङले दिएको सामान्य लक्ष्य भेट्टाउने क्रममा ओपनर द्वय कुशल भुर्तेल र आशिफ शेखले आक्रामक सुरुवात दिलाए। नेपालको पहिलो विकेटका रुपमा कुशल भुर्तेल ५.३ ओभरमा आउट हुँदा स्कोर बोर्डमा नेपालले ७० रन बनाइसकेको थियो। भुर्तेलले १९ बलमा ३२ रन बनाउँदा शेखले १८ बलमा ३ चौका र ३ छक्काको सहायतामा ४० रन बनाए। त्यस्तै कप्तान रोहित पौडेल २५ र सुन्दिप जोरा १९ रनमा अविजित रहे।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको हङकङले निर्धारित १७.५ ओभरमा अलआउट हुँदै ११४ रन बनाएको हो।

नेपालविरुद्ध हङकङका चार ब्याट्सम्यानले मात्र दोहोरो अंकको रन जोड्न सके। अन्शु रथले सर्वाधिक ३४ रन बनाउँदा जेसन अलीले १४ तथा कप्तान निजाकत खानले १२ र एहसान खानले ११ रन बनाए।

हङकङविरुद्ध फिल्डिङमा नेपाली क्रिकेट टोली। तस्बिर: एसीसी

बलिङतर्फ नेपालका लागि अभिनास बोहराले सर्वाधिक ३ विकेट लिँदा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिए। करण केसीले १ विकेट लिए।

आजको खेल पौने १२ बजेबाट सुरु हुने तय भए पनि वर्षा भएपछि खेल केही पछि सरेको थियो।

समूह ‘ए’मा डिफेन्डिङ च्याम्पियन नेपाल अपराजित एकमात्र टोली हो। नेपालले पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा कतारलाई हराएको थियो।

अर्कोतर्फ प्रतियोगिताको प्रमुख दाबेदारमध्येमै हेरिएको हङकङले पहिलो खेलमा कतारलाई हराए पनि दोस्रो खेलमा साउदी अरबसँग निराश भएको थियो।

१० टोली सहभागी यो प्रतियोगिताको विजयी टोलीले एसिया कप खेल्ने अवसर पाउने छ। त्यसअघि दुई वटा समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्। त्यहाँबाट फाइनल खेल्ने दुई टोलीको टुंगो लाग्नेछ।

नेपालले अर्को खेलमा बुधबार साउदी अरबसँग खेल्नेछ।