वान एक्स बेटमार्फत ५७ करोड ४१ लाख बढी कारोबार गर्ने सर्लाहीका तीन जना पक्राउ

बिजमाण्डू
२०८१ बैशाख ३ गते ०८:०० | Apr 15, 2024
वान एक्स बेटमार्फत ५७ करोड ४१ लाख बढी कारोबार गर्ने सर्लाहीका तीन जना पक्राउ
फाइल फोटो।

काठमाडौं। नेपाल प्रहरीले वान एक्स बेटमार्फत विभिन्‍न खेलमा सट्टेबाजी खेलाएको आरोपमा ३ जनालाई पक्राउ गरेको छ।

Tata
GBIME
Nepal Life

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विश्‍वमा सञ्‍चालन हुने विभिन्‍न खेलहरूमा सट्टेबाजी गर्न प्रयोग हुने वान एक्स बेटमार्फत सट्टेबाजी गराउन रकम संकलन गर्ने तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सर्लाही मलंगवाका ३१ वर्षीय सञ्‍जयकुमार साह, १९ वर्षीय रामजी साह र ३० वर्षीय राकेश चौधरी रहेका छन्। कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले विभिन्‍न खेलमा वान एक्स बेटमार्फत सट्टेबाजी गराएको आरोपमा पक्राउ गरिएको जानकारी दिए।

‘पक्राउ परेकाले विभिन्‍न मोबाइल नम्बरबाट २१ वटा कनेक्ट आइपीएस खाता र विभिन्‍न बैंकमा ९८ वटा खाता खोलेको अनुसन्धानमा भेटिएको छ,’ प्रवक्ता रेग्मीले भने।

पक्राउ परेकाले ती खाताबाट ५७ करोड ४१ लाख ५७ हजार १ सय ४७ रुपैयाँ बराबरको कारोबार गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनैजनामाथि मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद-५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरूद्धको कसुरअन्तर्गत दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको प्रवक्ता रेग्मीले बताए।

प्रहरीले उनीहरूसँग ९ थान मोबाइल, २१ थान सिमकार्ड, ल्यापटप दुई थान, सीपीयू एक थान, नगद ६२ हजार रुपैयाँ र विभिन्‍न सहकारीका पासबुक तथा बैंकका चेकबुक बरामद गरेको छ। पक्राउ परेकालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। रासस