उधारो कारोबारको सेटलमेन्ट मिलाउन साना लगानीकर्ताको भुक्तानीमा ढिलाइ, ब्रोकरमाथि छैन कारबाही

आकाश बोगटी
२०८१ बैशाख ३ गते ०६:४० | Apr 15, 2024
उधारो कारोबारको सेटलमेन्ट मिलाउन साना लगानीकर्ताको भुक्तानीमा ढिलाइ, ब्रोकरमाथि छैन कारबाही

काठमाडौं। बिक्री गरेको सेयरको समयमा नै भुक्तानी नपाएको भन्दै पछिल्लो समय लगानीकर्ताले ब्रोकर कम्पनीविरुद्ध उजुरी दिने क्रम बढेको छ। सेयर बिक्री गरेको हप्ता दिनसम्म पनि भुक्तानी नपाएको गुनासो गर्दै लगानीकर्ताले सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा उजुरी दिइरहेका छन्।

Tata
GBIME
Nepal Life

ब्रोकर कम्पनीहरूले समयमै भुक्तानी नगरेको भन्दै लगानीकर्ताबाट औपचारिक भन्दा अनौपचारिक उजुरी धेरै आउने गरेको सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपाने बताए। प्रायः लगानीकर्ताले बिक्री गरेको सेयरको समयमा भुक्तानी नपाएको भन्दै उजुरी आउने गरेको न्यौपानेले बताए।

उनले भने, ‘अन-अफिसियल उजुरी आउनासाथ सम्बन्धित बोक्ररलाई स्पष्टीकरण सोध्ने गरेको छौं। उनीहरू सिस्टमको समस्याले भुक्तानीमा ढिलाइ भएको भन्छन्। त्यस्ता उजुरी तत्कालै सम्बोधन गरिने हुँदा त्यसको रेकर्ड हुँदैन।’

औपचारिक उजुरीको संख्या चालू आवमा ९ वटा मात्रै रहेको न्यौपानेले बताए। उनले कतिपय अवस्थामा खाता अपडेट नभएको र सिस्टमको समस्याले भुक्तानीमा ढिलाइ भएको देखिएको बताए।

‘कहिले टेक्निकल इररले पनि यस्तो भुक्तानीमा ढिलाइ भएको देखिएको छ। त्यस्तो इरर सधैं हुने त होइन,’ उनले भने, ‘त्यस्तो केसमा एक दिनसम्म भुक्तानी ढिलाइ हुने हो। तर हप्ता दिनसम्म पनि भुक्तानी नहुने भन्‍ने हुँदैन।’

लगानीकर्ताको उजुरीपश्चात ब्रोकर कम्पनीले दिएको स्पष्टीकरण सीडीएसीले धितोपत्र बोर्डमा पठाउने गरेको छ।

उजुरी परेका अधिकांश ब्रोकरले केही ठूला लगानीकर्ताले सेयर खरिद गरिसकेपछि समयमा भुक्तानी नगरिदिँदा सेटलमेन्ट मिलाउन साना लगानीकर्तालाई भुक्तानीमा केही ढिलाइ गर्ने गरेको बोर्डका एक कर्मचारीले बताए।

‘लगानीकर्ताले किनेको सेयरको भुक्तानी समयमा नगरिदिंदा त्यो ब्रोकरले सेटलमेन्ट गर्नु पर्‍यो,’ ती अधिकारीले बिजमाण्डूसँग भने, ‘पैसा नै समयमा नआएर सेटलमेन्ट गर्न समस्या भएपछि भुक्तानीमा ढिलाइ गर्न थालेका हुन्।’

कुनै लगानीकर्ताले किनेको सेयरको भुक्तानी नगरे सोही सेयर बिक्री गरी सेटलमेन्ट गर्न सक्ने प्रावधान छ। तर ब्रोकरहरू आफ्ना रेगुलर ठूला ग्राहक भड्किने डरले भुक्तानी नपाउँदा समेत चुपचाप बस्ने गरेका छन्।

लगानीकर्ताले सेयर खरिद गरेको २ दिनभित्र भुक्तानी गर्नुपर्छ। कुनै पनि कारोबारको राफसाफ तथा फर्छ्योट कारोबार पछिको २ कार्य दिन अर्थात टी प्लस टू मा हुने व्यवस्था छ। लगानीकर्ताले बिक्री गरेको सेयर टी प्लस टूभित्र ट्रान्सफर (ईडीआइएस) गर्न नसके २० प्रतिशत पेनाल्टी तिर्नुपर्छ।

तर बेचेको सेयरको रकम हप्ता दिनसम्म भुक्तानी नदिँदा पनि ब्रोकरमाथि कुनै कारबाही गरिएको देखिंदैन।

सेयर बिक्री गरेको रकम भुक्तानीमा केही ढिलाइ भएको ब्रोकरहरू स्वीकार गर्छन्। प्राविधिक कारण, ग्राहकको खाता अपडेट नहुने लगायत समस्याले कहिलेकाहीं भुक्तानीमा ढिलाइ हुने गरको उनीहरुको स्वीकारोक्ति छ।

सिस्टममा देखिएको समस्या बाहेक अन्य समयमा ब्रोकर कम्पनीले लगानीकर्तालाई समयमै भुक्तानी गर्ने गरेको ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटा बताउँछन्।

‘कहिलेकाहीं सिस्टममा समस्या आउँछ। त्यसले गर्दा लगानीकर्ताको पैसा भुक्तानी गर्न केही ढिलाइ हुने गर्छ,’ उनले भने, ‘त्यो बाहेक ब्रोकर कम्पनीहरूले समयमा भुक्तानी गरिरहेका छन्। एक/दुई ब्रोकर कम्पनीले भुक्तानीमा गरेको ढिलाइलाई सबैसँग जोड्न मिल्दैन।’