मलेसियामाथि ५ विकेटको रोमाञ्चक जित निकाल्दै प्रिमियर कपमा नेपालको सुखद सुरुवात

बिजमाण्डू
२०८० चैत्र ३० गते १९:४६ | Apr 12, 2024
मलेसियामाथि ५ विकेटको रोमाञ्चक जित निकाल्दै प्रिमियर कपमा नेपालको सुखद सुरुवात
मलेसियाविरुद्ध उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेका दीपेन्द्रसिंह ऐरी। तस्बिर: एसीसी

काठमाडौं। एसियाली क्रिकेट परिषद (एसीसी) प्रिमियर कपमा मलेसियालाई हराउँदै नेपालले सुखद सुरुवात गरेको छ। ओमनमा आजबाट सुरु भएको प्रतियोगिताको आफ्नो पहिलो खेलमा मलेसियालाई ५ विकेटको रोमाञ्चक जित निकाल्दै नेपालले प्रतियोगितामा सुखद सुरुवात गरेको हो।

Tata
GBIME
NLIC

टस जितेर ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले १९.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरीको अलराउण्ड प्रदर्शन महत्वपूर्ण रह्यो। प्लेयरअफदी म्याचसमेत बनेका उनले बलिङतर्फ २ विकेट लिँदा ब्याटिङमा २० रन बनाए।

नेपाली ब्याटरद्वय कुशल भुर्तेल र आशिफ शेख। तस्बिर: एसीसी

१४४ रनको औशत लक्ष्य पछ्याएको नेपालको पहिलो विकेटका लागि कुशल भुर्तेल र आशिफ शेखले ४९ रनको साझेदारी गरे। भुर्तेल ७.५ ओभरमा पवनदीप सिंहको बलमा २४ रन बनाएर एलबीडब्लु आउट हुन पुगे।

त्यस्तै अर्का ओपनर शेखले ३२ रन बनाएर ११.१ ओभरमा विरनदीप सिंहको बलमा आउट हुँदा स्कोरबोर्डमा नेपाल ६४-२ को अवस्थामा थियो।

त्यसपछि आएका रोहित पौडेलले इनिङ्स सम्हाल्ने जिम्मेवारी लिए। तर, लगत्तै  तेस्रो विकेटका रुपमा कुशल मल्ल ५ बलमा ७ रन बनाएर पेभेलियन फर्किए।

मलेसियाविरुद्ध ब्याटिङ गर्दै नेपाली कप्तान रोहितकुमार पौडेल। तस्बिर: एसीसी

त्यसपछि आएका दीपेन्द्रसिंह ऐरीले ११ बलमा २० रन जोड्दा मलेसियातर्फ ढल्कँदै गरेको खेलको मोमेन्टम नेपालतर्फ मोडियो। आवश्यक रनरेट माथि पुगिसकेको अवस्थामा क्रिजमा आएका गुल्सन झाले ७ बलमा १९ रनको आक्रामक ब्याटिङ गर्दै सन्दीप जोरासँग मिलेर नेपाललाई लक्ष्यसम्म पुर्‍याए। जोरा १२ रनमा अविजित रहे।

बलिङतर्फ मलेसियाका विरनदीप सिंहले सर्वाधिक ३ विकेट लिँदा पवनदीप सिंह र मोहम्मद वफिकले समान १ विकेट लिए।

मलेसियाको इनिङ्स

त्यसअघि ओमनको अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएको थियो।

टसका क्रममा नेपाल र मलेसियाका कप्तानद्वय। तस्बिर: एसीसी

सुरुवाती ब्याटिङमा उत्रिएको मलेसियाका लागि ओपनर विरनदीप सिंहको इनिङ्स सबैभन्दा महत्वपूर्ण रह्यो। उनी ५७ बलमा ७२ रन बनाउँदै अविजित रहे।

त्यस्तै सर्विन मुनिएण्डीले ४१ रन बनाउँदा मुहम्मद अमिरले १६ रन बनाए।

बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले २ विकेट लिँदा अभिनास बोहराले १ विकेट लिए।

नेपालविरुद्ध ब्याटिङमा मलेसियाका ब्याटर। तस्बिर: एसीसी

नेपाल रहेको समूह ‘ए’ मा हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन्। त्यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमन र यूएई छन्।

समूह चरणबाट दुवै समूहका शीर्ष २/२ टोली सेमिफाइनलमा जानेछन्। प्रतियोगिताको च्याम्पियन बन्ने टोलीले एसिया कप खेल्नेछ।

पहिलो दिनको खेलमा समूह ‘ए’ मा नेपालले मलेसियालाई हराउँदा हङकङ र कतार प्रतिस्पर्धामा छन्। समूह ‘बी’ मा ओमनले बहराइनलाई र यूएईले कुवेतलाई हराएको थियो।

नेपालले शनिबार कतारविरुद्ध खेल्दैछ।