
काठमाडौं । काभ्रेको रोशी गाउँपालिकामा बुद्धचित्तको रुख काटिएपछि प्रहरीले अनुसन्धान थालेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले घटनास्थल पुगेर मुचुल्का उठाइसकेको छ।
रोशी गाउँपालिका वडा नम्बर ५ का स्थानीय ठकुरानी तामाङको बारीमा रहेको बुद्धचित्तको रुख काटिएको हो। शुक्रबार बिहान १ बजेतिर करिब १५ जना सो स्थानमा आएका थिए। बुद्धचित्तको रुख काटिएपछि अज्ञात समूहले रुख काटेको जानकारी प्रहरीमा पुगेको थियो।
केही महिना अगाडि बुद्धचित्तको रुख एक वर्षको लागि बिक्री गरेको ठकुरानी तामाङका छोरा शेरबहादुर तामाङले बताएका छन्।
‘अर्को समूहलाई बिक्री गरेपछि रिसिइबी साँध्नको लागि काटिएको हुनुपर्छ। अनुसन्धानको लागि प्रहरीमा जानकारी दिएका छौं,’ शेरबहादुरले भने।
तामाङले करिब दुई महिना अगाडि ३ करोड रुपैयाँ लिने सम्झौता गरि रुख बेचेको बताएका छन्। सो बुद्धचित्तको रुख सत्यमान लामा र सन्दीप त्रिपाठीलाई बिक्री गरिएको उनीले बताएका छन्।
बुद्धचित्तको रुख काटिएको क्षेत्रबाट जनमुक्ति सेना लेखेको कपडा समेत फेला पारेको छ। यसबारेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।
काभ्रे पछिल्लो समय बुद्धचित्तको लागि पकेट क्षेत्र मानिएको छ। बुद्धचित्तको कारण नै यस क्षेत्रमा पटक पटक झगडा, चोरी तथा हत्यासम्मका घटना भएका छन्।
महँगो मूल्यमा बिक्री हुने भएकाले पनि बुद्धचित्तमा ठूलो खेल हुने गरेको छ।