अर्थतन्त्रमा सुधार नभएपछि दबाबमा बैंक, मुनाफा १३.३६ प्रतिशतले गिरावट

सुनिल कुँवर
२०८० चैत्र २८ गते १५:५९ | Apr 10, 2024
अर्थतन्त्रमा सुधार नभएपछि दबाबमा बैंक, मुनाफा १३.३६ प्रतिशतले गिरावट

काठमाडौं। अर्थतन्त्रमा सुधार नहुँदा त्यसको असर बैंकको ब्यालेन्सिटमा देखिएको छ। आर्थिक शिथिलताले चालु आर्थिक वर्षको सुरुदेखि नै व्यवसाय विस्तार गर्न नसकिरहेका बैंकहरुको खुद नाफा संकुचित भएको छ।

Tata
GBIME
Nepal Life

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष ८ महिनामा वाणिज्य बैंकहरुले ४२ अर्ब ३० करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो पोहोर ८ महिनाको तुलनामा १३.३६ प्रतिशत कम हो।

पोहोर ८ महिनामा वाणिज्य बैंकहरुले ४८ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका थिए।

यो वर्ष ८ महिनामा कृषि विकास बैंक, प्राइम कमर्सियल, हिमालयन, सिद्धार्थ र एभरेष्ट बाहेक सबै वाणिज्य बैंकको नाफा घटेको छ। कृषि विकास बैंकले सर्वाधिक ३८० प्रतिशतले बढाएर १ अर्ब ९७ लाख रुपैयाँ नाफा कमाएको छ।

यस्तै प्राइम कमर्सियलले २०.७४, हिमालयनले ९.२१, सिद्धार्थले ९.१२ र एभरेष्टले २.६३ प्रतिशतले नाफा बढाएका छन्।

खुद नाफा सबैभन्दा धेरै नेपाल बैंकको ३९.३३ प्रतिशतले घटेको छ। यस्तै एसबीआईको ३८.६७, एनआईसी एसियाको ३७.३५, प्रभुको ३१.८४ र कुमारी बैंकको ३०.८९ प्रतिशतले घटेको छ।

सबैभन्दा धेरै नबिल बैंकले ४ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएको छ। ग्लोबल आइएमईले ३ अर्ब ४३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। सबैभन्दा न्यून नेपाल एसबीआई बैंकले १ अर्ब रुपैयाँ नाफा कमाएको छ।

बजारमा माग संकुचन हुँदा बैंकहरुले यो वर्ष कर्जा लगानी अपेक्षित रुपमा बढाउन सकिरहेका छैनन्। अर्कातिर लगानी भएको ऋण समेत बैंकहरुले उठाउन सकिरहेका छैनन्।

ऋणको मागमा आएको कमी र यसअघि लगानी गरेको ऋण समेत नउठ्नु बैंकहरुका लागि टाउको दुखाइ भएको छ। ऋणीले समयमै कर्जा तिर्न नसक्दा खराब कर्जा पोहोरभन्दा दोब्बरले बढेको छ।

त्यही भएर उनीहरुको सम्भावित कर्जा नोक्सानी बापतको सुरक्षण रकम (प्रोभिजन)उल्लेख्य बढेको छ। खराब कर्जा वृद्धिले प्रोभिजन रकम बढ्दा नाफामा गिरावट आएको हो।

बैंकहरुमा संस्थागत निक्षेपको हिस्सा ठूलो छ। निक्षेपको ब्याजदर घटे पनि कर्जा लगानी नहुँदा त्यसले लागत नै महँगो परेको छ। बजारमा माग नहुँदा लगानीयोग्य रकम ५ खर्ब रुपैयाँ थुप्रिएको छ।

यो आर्थिक वर्ष अहिलेसम्म बैंकहरुले २ खर्ब रुपैयाँ मात्रै ऋण लगानी गर्न सकेका छन्। जबकि राष्ट्र बैंकले यो वर्ष ११.५ प्रतिशत अर्थात ५ खर्ब ६१ अर्ब रुपैयाँले ऋण विस्तार हुने प्रक्षेपण गरेको थियो।

बैंकरहरुका अनुसार कर्जा विस्तारमा आएको संकुचन र लगानी गरेको रकम नउठ्दा प्रोभिजन बढेर नाफा घटेको हो। देशको अर्थतन्त्र बैंकको ब्यालेन्सिटमा प्रतिबिम्बित भएको उनीहरुको भनाइ छ।

नबिल बैंकका डेपुटी सीइओ मनोज ज्ञवाली बैंकको ब्याज आम्दानी घट्नुका साथै प्रोभिजन बढ्दा नाफा घटेको बताउँछन्। ‘राष्ट्र बैंकको प्रावधानका कारण बैंकहरुको ब्याज आम्दानी घटेको छ,’ उनले भने, ‘एनपीए बढ्दा लोनलस प्रोभिजन बढेको छ। यी दुई कारण बैंकको नाफा घटेको हो।’