सेबोन अध्यक्षका लागि छनोटमा परेका नाममा असन्तुष्टि, सबै उम्मेदवारमा कर्पोरेट घरानाको नाम जोडियो

सुनिल कुँवर
२०८० चैत्र २८ गते १२:१४ | Apr 10, 2024
सेबोन अध्यक्षका लागि छनोटमा परेका नाममा असन्तुष्टि, सबै उम्मेदवारमा कर्पोरेट घरानाको नाम जोडियो

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षका लागि सर्टलिस्टिङमा परेकाहरुको कार्ययोजना प्रस्तुतिको कार्यक्रम अनिश्चितकालका लागि सरेको छ। बिहीबारका लागि भनेर टुंगो गरिए पनि अर्थमन्त्री वर्षमान पुनको चाहनामा पूर्वनिर्धारित कार्यक्रम सारिएको हो।

Tata
GBIME
Nepal Life

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ संयोजक रहेको समितिमा अर्थसचिव कृष्णहरि पुष्कर र प्राध्यापक उदय निरौला सदस्य छन्। समितिले १९ जनाबाट ५ जनाको नाम कार्ययोजना प्रस्तुतिका लागि छनोट गरिसकेको छ।

छानिएका नाममा अर्थमन्त्री पुन सन्तुष्ट नभएको स्रोतको दाबी छ। समितिले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, बीमा प्राधिकरण (तत्कालीन बीमा समिति) का पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी र मुक्ति श्रेष्ठका साथै व्यवसायी सन्तोषनारायण श्रेष्ठलाई अन्तिम पाँचमा छनोट गरेको थियो।

उनीहरुको कार्ययोजना प्रस्तुति बिहीबार सकेर नियुक्ति सिफारिसका लागि तीन जनाको नाम छनोट गर्ने योजना थियो। छानिएका तीनबाट एक जनालाई मन्त्रिपरिषद्ले बोर्डको अध्यक्ष बनाउने कानुनी प्रावधान छ। तर, जसरी नाम छानिए त्यसमा अर्थमन्त्री पुन सन्तुष्ट हुन नसकेको स्रोतको दाबी छ। बोर्डको ‘लाइन मिनिस्ट्री’ अर्थमन्त्रालय हो।

अन्य काबिलहरु पनि प्रतिस्पर्धामा रहेको तर उनीहरुलाई नछानी तुलनात्मक रुपमा कम काबिलहरु पनि छनोटमा परेको बुझाइ मन्त्रीको छ। त्यही आधारमा अर्को सूचना जारी नभएसम्म छनोट प्रक्रिया स्थगित भएको हो।

अहिले अर्को स्टक एक्सचेञ्जका लागि कर्पोरेट घरानाहरुबीच लडाइ छ। त्यो लडाइमा आफूलाई लाइसेन्स दिलाउन सक्ने मान्छेलाई अध्यक्ष बनाउन घरानाहरु प्रतिस्पर्धामा छन्। छानिएका नाममध्ये सन्तोषनारायण श्रेष्ठ अध्यक्ष हुने भन्ने चर्चा छ। उनी पेट्रोलियम व्यवसायीका छोरा हुन्। अन्य नाममा पनि घरानाहरु जोडिएका छन्।

प्रक्रिया स्थगित भएकाले यसले केही समय लिने देखिएको छ। अर्थमन्त्री पुन वैशाख २ गते अमेरिका उड्दै छन्। उनी फर्किएपछि मात्र योजना अगाडि बढ्छ।

समितिले अध्यक्षका लागि फागुन १६ गते दरखास्त आह्वान गरेको थियो। रमेशकुमार हमालको कार्यकाल सकिएपछि बोर्ड पुस तेस्रो सातादेखि नेतृत्वविहीन छ।