
काठमाडौं । आज घोडेजात्रा। टुँडिखेलमा पनि नेपाली सेनाको आयोजनामा घोडेजात्रा मनाइएको छ। नेपाली सेनाले घोडेजात्राका अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरि घोडेजात्रा मनाएको हो।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे लगायतको सहभागिता थियो।

जात्रामा नेपाली सेनाका घोडसवारहरुले अश्वकला, युद्धकला, लगायतका विभिन्न कला प्रस्तुत गरेका थिए। घोडादौड, म्युजिकल रेस, सोजम्मलगायत विधामा प्रतिस्पर्धा गराइएको थियो। त्यस्तै, सैनिक कुकुरको कौशल पनि प्रस्तुत गरिएको थियो ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रुखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो । राक्षसले केटाकेटी खाएर आतंकित पारेपछि सहरवासीले अनेक उपाय लगाएर राक्षसको संहार गरेको कथन छ।

तर, सहरवासीले राक्षसको आत्मा टुंडिखेलको पूर्व दक्षिणमा रहेको रुखको फेदमा जिवितै रहेको विश्वास गरेका कारण गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउन यो पर्व मनाउन थालिएको जनविश्वास छ।


टुंडिखेलमा सेनाले घोडा कुदाउने परम्परा भने राणाकालमा सुरु भएको बताइन्छ।









