वर्षमानले महतलाई भने- तपाईंको विज्ञता र अनुभवले काम गरेन, राजस्वको लक्ष्य आधारहीन

बिजमाण्डू
२०८० चैत्र ७ गते १८:२० | Mar 20, 2024
वर्षमानले महतलाई भने- तपाईंको विज्ञता र अनुभवले काम गरेन, राजस्वको लक्ष्य आधारहीन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतमाथि आधारविनै राजस्वको लक्ष्य तय गरेको आरोप लगाएका छन्।

Tata
GBIME
Nepal Life

आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमितामाथि सांसदहरुले उठाएका प्रश्नको बुधबार प्रतिनिधि सभामा जवाफ दिने क्रममा मन्त्री पुनले जथाभावी लक्ष्य निर्धारण गरिएकै कारण राजस्व धेरै उठ्न नसकेको बताए।

‘राजस्वको लक्ष्य पोहोरको भन्दा ४० प्रतिशत बढी लिएका छौं। तर ९ प्रतिशतभन्दा बढ्न सकेको छैन। अनुमान कस्तो?,’ उनले प्रश्न गरे।

चालु वर्ष १४ खर्ब २२ अर्ब राजस्व संकलनको लक्ष्य लिइएकामा ८ महिना वित्दा ६ खर्ब ५० अर्बभन्दा उठ्न सकेको छैन।

डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा आर्थिक वर्ष २०६५/६६ मा राजस्वको वृद्धि सबैभन्दा धेरै ३३ प्रतिशत थियो। पोहोरका साथै साढे पाँच दशकअघिको एक वर्ष राजस्वको वृद्धि ऋणात्मक भएको थियो।

राजस्वमा २० देखि २५ प्रतिशतको वृद्धिलाई राम्रो मानिन्छ। अर्थमन्त्री पुनले के आधारमा ४० प्रतिशत बढीको लक्ष्य लिएको भनी प्रश्न गरे। ‘आधारविनै लक्ष्य निर्धारण गरियो। विज्ञता र अनुभवले काम गरेन,’ उनले महतलाई लक्षित गर्दै भने।

मन्त्री पुनले पुँजीगत खर्चलाई लिएर पनि महतको क्षमतामाथि प्रश्न उठाएका छन्। ‘पुँजीगत खर्च किन गर्न सकिरहेका छैनौं। अर्थमन्त्रीको कमजोरी हो वा प्रशासनको हो वा लाइन मिनिस्ट्रीको, यसमा समीक्षा गर्न आवश्यक छ। यसमा कसैले लाज मान्नुपर्ने छैन। आरोप लगाउने कुरा होइन यो,’ उनले भने।

उनले सरकार खासगरी वैदेशिक सहयोग परिचालनमा चुकेको बताए। ‘विदेशी साझेदारहरुले कमिट गरेको रकम ५ खर्ब रुपैयाँभन्दा बढी छ। तर हामीले खर्च गर्न नै सकिरहेका छैनौं,’ उनले भने, ‘पैसाको अभाव होइन। खर्च गर्ने क्षमता नभएको हो। विगतमा वैदेशिक सहायता २० देखि २२ प्रतिशत खर्च हुन्थ्यो अहिले ७ प्रतिशतभन्दा कम छ।’

मन्त्री पुनले उत्पादनदेखि उपभोगसम्म र लगानीदेखि व्यापारसम्म देखिएको शिथिलता हटाउने गरी नीतिगत सुधार गर्ने बताएका छन्। निजी क्षेत्रलाई विश्वासमा लिइ आर्थिक क्रियाकलाप बढाउने तथा ठूला र निर्माणाधीन आयोजनालाई तिब्रता दिने उनको भनाइ छ। उनले आर्थिक शिथिलता अन्त्यका लागि वित्त र मौद्रिक नीतिमा एकरुपता कायम गराउने बताए।

त्यसअघि बोलेका पूर्वअर्थमन्त्री महतले आर्थिक शिथिलताकाबीच राजस्व १० प्रतिशतले बढेको भन्दै त्यसलाई ठूलो सफलता भने। उनले आर्थिक विकासमा ठूलो फड्को मार्ने गरी आफूले जग बनाएको दाबी समेत गरे।

‘रातदिन गरेर निर्माण गरेको धरातल छ। जुन बाटो कोरिएको छ त्यो बाटो हिंड्नुभयो भने ठूलो सम्भावना छ। आर्थिक वृद्धिमा अब हाम्रो पालो आउँछ। मैले तय गरेको बाटोमा हिंडे अर्थतन्त्रमा आमूल परिवर्तन आउँछ,’ महतले भने।

उनले बजेटरी प्रणालीमा आफूले सुधार गरेको दाबी गर्दै औसत काममा चित्त नबुझेर गठबन्धन फेरेको प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइप्रति असन्तुष्टि जनाए।

‘शिथिलताका बाबजुद राजस्व १० प्रतिशतले बढेको थियो। हामीले काम गर्न पाएको भए धेरै ठूलो लगानी आउँथ्यो। औसत ग्रोथबाट खुशी थिइन रे। जादु हो र जम्प गर्न। यत्तिकै बढ्छ। जुन बढ्या छ त्यसमा म गर्व गर्छु। प्रधानमन्त्रीले मलाई धन्यवाद दिनुपर्छ,’ उनले भने।