मुद्दाको सुनुवाइ लाइभ गर्ने विशेष अदालतको तयारी, मुद्दा ६ महिनामा टुंग्याउने

बिजमाण्डू
२०८० चैत्र १ गते १९:२२ | Mar 14, 2024
मुद्दाको सुनुवाइ लाइभ गर्ने विशेष अदालतको तयारी, मुद्दा ६ महिनामा टुंग्याउने
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर

काठमाडौं। विशेष अदालतले महत्त्वपूर्ण मुद्दामा सुनुवाइको लाइभ गर्ने भएको छ। लाइभका लागि आवश्यक सामग्री जुटाउने काम गरिरहेको विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरले जानकारी दिए।

Tata
GBIME
Nepal Life

उनले विशेष मुद्दामा गोपनियता कायम राख्ने गरी चाँडै नै लाइभ गर्ने तयारी रहेको बताए। यसका लागि सर्वोच्च अदालतबाट भने अनुमति लिइएको छैन।

‘अन्य देशमा पनि यस्तो गरिने गरिएको छ। हामी पनि सर्वोच्चसँग अनुमति लिएर लाइभ स्ट्रिमिङ गर्ने तयारीमा छौं,’ अध्यक्ष कुँवरले भने।

अदालतले न्यायमा सबैलाई पहुँचका लागि भर्चुअल इयरिङ, विदेशबाट बकपत्र, तारेख लिने व्यवस्था समेतको तयारी गरिरहेको छ। कानुन व्यवसायीले भर्चुअलरुपमा फर्मबाट नै बहस गर्ने प्रणाली समेत विकास गर्न लागिएको अध्यक्ष कुँवरले बताए।

६ महिनाभित्र नै मुद्दाको कारबाही र किनारा लगाउने गरी काम गर्ने लागिएको उनको दाबी छ।

चालु आर्थिक वर्ष आठ महिनामा ४८६ वटा लगतमध्ये फागुनसम्म ३२७ वटा फर्स्योट भएको र १५९ वटा मुद्दा बाँकी रहेको अदालतले जनाएको छ। बाँकी रहेका लगतमध्ये ८ वटा २ वर्षअघिका हुन्।

फर्स्योट भएका मुद्दामध्ये सबैभन्दा धेरै अनियमितता सम्बन्धी छन्। अनियमितताका २९६ वटा लगतमध्ये २०६ वटा फर्स्योट भएका हुन्।

आर्थिक वर्ष २०७९/८० मा ६२९ लगतमध्ये २७० वटा मात्र फर्स्योट भएका थिए।