मोरङको श्रीपशुपतिनाथ जुट मिल्समा आगलागी, करिब ५० लाख रुपैयाँ बराबरको क्षति

बिजमाण्डू
२०८० फागुन ३० गते २१:०९ | Mar 13, 2024
मोरङको श्रीपशुपतिनाथ जुट मिल्समा आगलागी, करिब ५० लाख रुपैयाँ बराबरको क्षति

विराटनगर। मोरङको नयाँ जुट उद्योग श्रीपशुपतिनाथ जुट मिल्समा बुधबार आगलागी हुँदा ५० लाख बराबरको नोक्सानी भएको छ।

Tata
GBIME
Nepal Life

उद्योग चलिरहेका बेला फायर ब्याचिङ सेक्सनमा अपराह्न ४ बजे विद्युत् सर्ट भएर आगलागी भएको हो।

उद्योगका सञ्चालक अमित जैनका अनुसार आगलागी भएपछि तत्काल विराटनगर महानगरपालिकाबाट २ वटा वारुणयन्त्र बोलाएर नियन्त्रण कार्य सुरु भएको थियो। साथै कारखानाभित्रको अग्निप्रतिरोधक प्रणालीबाट पनि नियन्त्रण गरिएको थियो।

सञ्चालक जैनले अपराह्न ६.३० मा कारखानाभित्रको आगो पूर्ण नियन्त्रणमा आएको बताए।

जैनले आगलागीबाट उत्पादनको प्रक्रियामा रहेको २५ टन अर्धतयारी वस्तु र दमकलको पानीले १५ टन कच्चा जुट नष्ट भएको जानकारी दिए।

त्यस्तै ३ वटा ब्रेकर मेसिन, विभिन्न इलेक्ट्रिकल सामग्री र उच्च क्षमताका मोटर पनि आगलागीमा परेर काम नलाग्ने भएको उनको भनाइ छ।

जैनले मोरङको कटहरी गाउँपालिका वडा नम्बर ४ मा श्री पशुपतिनाथ जुट मिल्स गत साउन महिनादेखि सञ्चालनमा ल्याएका थिए।