टेकु अस्पतालको भवन योजना रोक्का, अर्थले स्रोत सुनिश्चितता दिएन, सतर्कता केन्द्रले काट्यो पत्र



शुक्र गिरी
२०८० फागुन १९ गते १५:४१ | Mar 2, 2024
टेकु अस्पतालको भवन योजना रोक्का, अर्थले स्रोत सुनिश्चितता दिएन, सतर्कता केन्द्रले काट्यो पत्र

काठमाडौं। नयाँ भवनमा सुविधा सम्पन्न उपचार सेवा सञ्चालनमा ल्याउने काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको योजना अलपत्र भएको छ। अस्पताल व्यवस्थापनले भवन निर्माणका लागि अर्थ मन्त्रालयबाट बजेटको स्रोत सुनिश्चितता नगरी ठेक्का प्रक्रिया अगाडि बढाउँदा यस्तो भएको हो।

Tata
GBIME
Zonsen

अस्पतालको नयाँ भवन निर्माण योजनाका प्रक्रिया सहरी विकास तथा भवन निर्माण विभागले अघि बढाएको थियो। सहरी विकासलाई राष्ट्रिय सतकर्ता केन्द्रले ठेक्काको प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएपछि योजनामा धक्का लागेको हो। 

राष्ट्रिय सतर्कता केन्द्रले सहरी विकासलाई बजेटको स्रोत सुनिश्चितता नगरी भवन निर्माणको ठेक्का प्रक्रिया टुंगोमा नलगाउन पत्र काटेको छ। सार्वजनिक खरिद ऐनअनुसार बजेटको स्रोत सुनिश्चितता नगरी ठेक्का लगाउन पाइँदैन। स्वास्थ्य सेवा विभागले उक्त आयोजनाका लागि प्राप्त बजेटको स्रोत सुनिश्चितता नगरेको पाइएपछि रोकेको केन्द्रका उपसचिव हरिप्रसाद शर्माले बताए।

‘सार्वजनिक खरिद ऐनअनुसार बजेटको स्रोत सुनिश्चितता गरिएको रहेनछ। त्यो गरेपछि मात्र ठेक्का प्रक्रिया टुंगो लगाउन हामीले भनेका छौं,’ उनले भने, ‘अन्य प्रक्रिया सम्बन्धित मन्त्रालय वा कार्यालयले गर्ने कुरा हो। अर्थबाट बजेटको स्रोत सुनिश्चितताविना ठेक्का प्रक्रिया अगाडि बढाउन पाइँदैन।’

उनका अनुसार तत्कालका लागि सबै प्रक्रिया रोक्न भनिएको छ। स्रोत सुनिश्चिताको प्रक्रिया पुरा गरेपछि फेरि उक्त प्रक्रिया सुरु गर्न सकिने जानकारी उनले दिए।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले बजेटको स्रोत सुनिश्चितता गर्न फाइल अर्थ मन्त्रालयमा पुर्‍याएको बताए। उक्त फाइल ६ महिनादेखि अर्थमा अड्किएको छ। अर्थले जवाफ नपठाएको उनले बताए।  

उनका अनुसार स्वास्थ्य मन्त्रालयमार्फत अर्थले अस्पतालको नयाँ भवनका लागि चालु वर्ष ३२ करोड रुपैयाँ मात्र बजेट छुट्याएको थियो। तर उक्त भवन निर्माण गर्न ३ अर्ब ८६ करोड रुपैयाँको लागत अनुमान छ। ‘त्यसै त यस्ता आयोजनालाई बहुवर्षीयमा सूचीकृत गर्नुपर्ने प्रावधान रहेछ। तर, यो आयोजना अहिलेसम्म बहुवर्षीयमा सूचीकृत गरिएको छैन,’ उनले भने, ‘यसलाई बहुवर्षीय आयोजनामा सूचीकृत गरेर मात्र बजेटको स्रोत सुनिश्चितता गर्न मिल्ने अवस्था छ।’ 

त्यसका लागि अर्थले नै उक्त आयोजनालाई बहुवर्षे ठेक्काको सूचीमा राख्न स्वीकृति दिनुपर्ने डा. बसौलाको भनाइ छ। ‘अहिले त्यसैको पर्खाइमा छौं। त्यसपछि बजेटको स्रोत सुनिश्चिता हुने अवस्था छ,’ उनले भने ‘त्यसैले यो वर्ष ठेक्का लगाउन अर्थले बहुवर्षीय ठेक्काको रुपमा स्वीकृति दिएपछि मात्र टुंगो लाग्ने हुन्छ। अर्थ स्वीकृत नदिएको खण्डमा भने यो वर्ष ठेक्का लगाउन सकिँदैन।’

उनका अनुसार अर्थ मन्त्रालयले अहिले बजेट छैन भनेर भन्दै आइरहेको छ। ‘अर्थले बजेट अभाव भएका कारण स्रोत जुटाउन गाह्रो भएको भन्दै आइरहेको छ। साथै बहुवर्षीय ठेक्काका लागि स्वीकृति समेत दिन मानेको छैन,’ उनले भने।

सहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर गणेशबहादुर महर्जनले सतर्कता केन्द्रले बजेटको स्रोत सुनिश्चितता नभएको ठेक्का नलगाउनु भनेर पत्र काटेपछि प्रक्रिया रोकिएको बताए। ‘त्यहीअनुसार हामीले उक्त ठेक्काको आशयपत्र मात्र निकाल्न बाँकी छ। अन्य प्राविधिक तथा आर्थिक मूल्यांकन गर्ने काम सम्पन्न गरेका छौं,’ उनले भने।

उनका अनुसार विभागले आशयपत्र निकाल्ने समयमा यस्तो पत्र आएको हो। ‘स्वास्थ्य मन्त्रालयले पनि बजेटको स्रोत सुनिश्चितता गर्ने काम भइरहेको बताउँदै आइरहेको छ। हामीले बजेट भएपछि ठेक्का लगाउने र निर्माणको काम गर्ने मात्र हो। बजेटको स्रोत सुनिश्चितता गर्ने काम स्वास्थ्य मन्त्रालयको हो,’ उनले भने।

योजनाअनुसार नयाँ बनाइने भवनको नमुना चित्र ।

लफडामा बित्यो ३ वर्ष

अस्पतालको भवन निर्माण ठेक्काका लागि प्राविधिक मूल्यांकनमा तीन वटा कम्पनीहरु पास भएका थिए। जसमा शर्मा एण्ड कम्पनी समानान्तर निर्माण सेवा र कोन्टेक लामा जेभी थिए। त्यहीअनुसार सहरी विकासले आर्थिक प्रस्तावको मूल्यांकन गर्ने काम सम्पन्न गरेको थियो। 

तर आर्थिक प्रस्ताव खोलेर आशयपत्र निकाल्ने बेला मात्र बजेटको स्रोत सुनिश्चितता नभएको विभागले सतर्कता केन्द्रको पत्र आएपछि मात्र थाहा पाएको थियो। त्यसपछि अन्य सबै प्रक्रिया रोकिएको छ। 

आयोजनाको भवन निर्माण गर्न गत वर्ष चैतमा कोन्टेक गौरी पार्वती जेभीसँग २ अर्ब ४४ करोड ८४ लाख ५९ हजार रुपैयाँमा ठेक्का सम्झौता भइसकेको थियो। तर सम्झौता भएको निर्माण कम्पनी कालीसूचीमा परेको भएकाले ठेक्का सम्झौता रद्द गरेर मंसिर १५ गते पुन टेन्डर गरिएको थियो। त्यसैमा अहिले अर्को कम्पनी छनोट हुन लागेको थियो। तर यस पटक पनि फेरि अर्को समस्या खडा भएको छ। यो पटक बजेट स्रोत सुनिश्चितता नभएको कारण ठेक्का प्रक्रिया होल्ड गरिएको छ। 

सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत काठमाडौंमा ३०० शय्याको सुविधा सम्पन्न सरुवा रोग अस्पताल निर्माण गर्ने घोषणा गरेको थियो। त्यही घोषणा अनुसार निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढाइएको थियो। 

उक्त भवन निर्माण, फर्निचर, अक्सिजन पाइपलाइन, अप्रेसन थिएटर, शय्यालगायतका लागि ३ अर्ब ८६ लाख रुपैयाँ लागत अनुमान गरिएको छ। यसको स्रोत सुनिश्चिता भएपछि मात्र ठेक्का प्रक्रिया अगाडि बढ्नेछ। 

यो अस्पतालको नयाँ भवन ठेक्का पाउने निर्माण कम्पनीले ३ वर्षभित्र निर्माण सम्पन्न गर्नु पर्नेछ। तर उक्त समय ठेक्का लगाउने प्रक्रियामा नै सकिएको अवस्था छ। अझै पनि ठेक्का प्रक्रिया लम्बिने सम्भावना उच्च भएको छ।