टेकु अस्पतालको भवन बनाउन तीन कम्पनी प्रतिस्पर्धामा, आर्थिक प्रस्ताव मूल्यांकन गरिँदै

बिजमाण्डू
२०८० माघ ४ गते १५:३६ | Jan 18, 2024
टेकु अस्पतालको भवन बनाउन तीन कम्पनी प्रतिस्पर्धामा, आर्थिक प्रस्ताव मूल्यांकन गरिँदै
अस्पतालको प्रस्तावित भवन

काठमाडौं। राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सुरुवारोग अस्पतालको नयाँ भवन निर्माणका लागि प्राविधिकरुपमा तीन वटा कम्पनी छानिएका छन्।

Tata
GBIME

ठेक्का सम्झौता भइसकेको भवन बनाउन पुनः टेण्डर आह्‍वान गर्दा शर्मा एण्ड कम्पनी, समानान्तर निर्माण सेवा र कोन्टेक लामा जेभी प्राविधिकरुपमा छनोट भएका हुन्। सघन सहरी तथा भवन निर्माण आयोजना प्रमुख गणेश कर्माचार्यले आर्थिक प्रस्ताव मूल्यांकन गर्ने काम भइरहेको जानकारी दिए।

आयोजनाले भवन निर्माणका लागि गत चैतमा कोन्टेक-गौरी पार्वती जेभीसँग ठेक्का सम्झौता गरेको थियो। तर उक्त कम्पनी कालोसूचीमा परेको भएकाले ठेक्का सम्झौता रद्द गरेर मंसिर १५ गते पुन: टेण्डर गरिएको थियो। त्यसैमा अर्को कम्पनी छनोट हुन लागेको हो। गत चैतमा २ अर्ब ४४ करोड ८४ लाख ५९ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत काठमाडौंमा ३०० शय्याको सुविधासम्पन्न सरुवा रोग अस्पताल निर्माण गर्ने घोषणा गरेको थियो। त्यही घोषणा अनुसार अहिले निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढाइएको हो।

अस्पतालको प्रस्तावित भवन

भवन निर्माण, फर्निचर, अक्सिजन पाइनलाइन, अप्रेसन थिएटर, शय्या लगायतका लागि ३ अर्ब ८६ लाख रुपैयाँ लागत अनुमान गरिएको छ।