
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुको कार्यसम्पादनलाई लिएर निरन्तर असन्तुष्टि पोखिरहेका छन्। बिहीबार अर्धवार्षिक समीक्षामा मन्त्रीहरुमाथि प्रचण्डले रोष पोखे।
मन्त्रिपरिषद्मा आफूलाई अप्ठ्यारो पार्ने मन्त्रीहरुलाई जसरी पनि हटाएर नयाँ ल्याउने अडान धेरै अघिदेखिको हो दाहालको। यसका लागि दाहालले मन्त्रीहरुलाई कहिले कार्यसम्पादन रिपोर्ट माग्ने त कहिले काम गर्न नसके राजीनामा दिएर गए हुनेसम्मको घुर्की पनि देखाउन भ्याए।
तर सबैभन्दा ठूलो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाहालको घुर्कीको कुनै सुनुवाइ गरेनन्। महासमिति बैठकलगत्तै मन्त्री फेर्ने बचन दिएका देउवाले अहिले फेरि लगानी सम्मेलन देखाउँदै हेरफेर टार्न खोजेपछि प्रधानमन्त्री बिच्किएका देखिन्छन्।
कांग्रेसविरुद्ध काउन्टर निर्णय
यही बीचमा प्रचण्डले पार्टीबाट कांग्रेस महासमितिको काउन्टरमा निर्णय गराएका छन्। गोदावरी महासमितिको निर्णयको काउन्टरमा माओवादीले आफू पनि एक्लै निर्वाचन लड्ने र राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णयसँगै गठबन्धनमा काँधै फेर्नेसम्मको भित्री तयारी गरेको चर्चा छ। बिहीबार चितवन पुग्नसाथ प्रचण्डले परिस्थिति बदलिएको भन्दै राष्ट्रिय सभाको अध्यक्षमा सिटौलालाई साथ नदिने संकेत गरे।
‘त्यहाँदेखि यहाँसम्म आउँदा केही घटनाक्रम अलि भिन्न ढंगले अगाडि गए,’ दाहालले भरतपुर विमानस्थलमा भने, ‘गठबन्धन राम्रैसँग गइराखेको थियो, राम्रैसँग लाने कुरामा हामी प्रतिबद्ध थियौँ र छौं पनि।’
नेपाली कांग्रेसको हालै सम्पन्न महासमिति बैठकमा प्रस्तुत नीति प्रस्ताव र सांगठनिक प्रस्तावमा माओवादी लञ्छना लगाएपछि दाहाल आक्रोशित बनेका हुन्।

उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका उपसभापति खड्कले पेश गरेको नीति प्रस्तावमा माओवादी युद्धलाई ध्वंसात्मक हिंसा भनिएको छ भने महामन्त्री गगन थापाको सांगठनिक प्रस्तामा कांग्रेस एक्लै चुनावमा जानुपर्ने प्रस्ताव छ। प्रधानमन्त्री दाहालले भने माओवादीकै कारण कांग्रेस पहिलो दल बनेको दाबी गरेका छन्। भरतपुर भ्रमण वर्ष उद्घाटनका क्रममा प्रधानमन्त्री दाहाल गठबन्धनबारे मौन रहे। तर देउवाले भने यही गठबन्धन निरन्तर रहने भन्दै विश्वस्त पारे। गठबन्धन फुटाउन सक्रिय देखिएका ओलीको पनि मञ्चमा सरकार परिवर्तनबारे बोली फुटेन।
राष्ट्रिय सभा अध्यक्षमा होलसेल सहमति
प्रधानमन्त्री दाहाल राष्ट्रिय सभाको अध्यक्ष निर्वाचनमा देउवालाई गलाउने नीतिमा लागेको देखिन्छ। अर्थमन्त्री डा प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद र स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई जसरी पनि ब्याक गराउनुपर्ने दाहालको अडान रहेको प्रधानमन्त्री निकटहरु बताउँछन्। तर देउवाले पनि अडान नछाडेपछि राष्ट्रिय सभाको अध्यक्ष निर्वाचनमा दाहालले बार्गेनिङ थालिसकेका छन्। राष्ट्रिय सभाको अध्यक्षमा कृष्णप्रसाद सिटौलालाई अघि बढाउने गरी उभ्याएका दाहालले अहिले माओवादी केन्द्रबाटै अध्यक्षको उम्मेदवारी दिने निर्णय गराइसकेका छन्।
जसकारण देउवा अफ्ट्यारोमा परेको कांग्रेसकै नेताहरु बताउँछन्। माओवादीको यस्तो तयारी बुझेर कांग्रेस सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा बिहीबार बुढानिलकण्ठमा भेटेका थिए। त्यसलगत्तै देउवा र खड्का बालुवाटार पुगेर प्रधानमन्त्री दाहाललाई भेटे।
यही भेटमा कांग्रेस दाहालको अडानमा गलेको कांग्रेसका एक पदाधिकारीले बताए। ‘प्रचण्ड मन्त्री फेर्न हतारिनुभएको छ। तर देउवाले लगानी सम्मेलन नजिकिएको छ। अहिले नै नगरौं भनेर भन्नुभएको छ। राष्ट्रिय सभाको अध्यक्षसँगै होलसेलमा एक हप्ताभित्र एउटा सहमति बन्छ होला,’ ती पदाधिकारीले भने।

गृहमा रमेश लेखक, अर्थमा नारायण खड्काको चर्चा
कांग्रेसले अर्थ मन्त्रालय छाडेमा गृह मन्त्री रमेश लेखक बन्ने चर्चा छ। लेखक कांग्रेस संसदीय दलका प्रमुख सचेतक हुन्। यसैगरी अर्थ नछाडे यो मन्त्रालय डा नारायण खड्का वा उदय शम्शेरले सम्हाल्ने गरी दिने देउवाको तयारी छ।
बैशाखको लगानी सम्मेलनलाई ध्यानमा राखी डा खड्कालाई अर्थमा ल्याउने तयारी सरकारले गरेको बताइएको छ। त्यसैगरी स्वास्थ्यमा वीरबहादुर बलायर र रामहरि खतिवडाको चर्चा छ। खतिवडा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हुन्। तपाईंको नाम पनि मन्त्रीको लिस्टमा रहेछ नि? बिजमाण्डूको प्रश्नमा खतिवडाले भने, ‘भए बनुलाँ नि।’
अर्थमा वर्षमान पुनको सम्भावना
कांग्रेस र माओवादीले अर्थ र गृह साटे अर्थमन्त्रीमा वर्षमान पुनको सम्भावना बलियो रहेको माओवादी नेताहरु बताउँछन्। सत्तामा जान पुनले सिंहदरबारदेखि बालुवाटार धाएको धेरै भइसकेको ती नेताहरु बताउँछन्। माओवादीबाट हितबहादुर तामाङको नाम पनि चर्चामा छ। अहिले नै मन्त्री हेरफेर हुने विषयमा आफू विश्वस्त नरहेको तामाङ बताउँछन्। ‘मन्त्री फेर्ने हल्ला त बेलाबेला चलिरहन्छ। त्यसैले निर्णय नभई भन्न सकिने कुरा भएन यो,’ तामाङले भने।
माओवादीका सचिव गणेश शाहले पनि अहिले नै मन्त्री हेरफेरको सम्भावना कम रहेको बताए। ‘देउवा आफैले पनि मन्त्री हेरफेर गर्न चाहेका छैनन्। प्रचण्डलाई पनि आफ्नो दलबाट मन्त्री भएकाहरुलाई हटाउन सहज देखिदैन,’ साहले भने। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हटाउन प्रचण्डलाई मुश्किल हुने बताइन्छ। यता जनता समाजवादी पार्टी र अरु दलको मन्त्री फेर्न खासै चासो देखिन्न।
कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले दाग लागेका मन्त्रीहरुलाई बिदाइ गर्दा ठीकै हुने तर पटकपटक मन्त्री फेर्दा कार्यसम्पादन झनै झुर हुने बताउँछन्। ‘प्रधानमन्त्रीको एकै कार्यकालमा एउटा मन्त्रालयमा दुई मन्त्री बने भने तीन जना प्रधानमन्त्री हुने सहमति छ। यही पाराले एउटा मन्त्रालयमा ६ मन्त्री हुने भयो,’ पाण्डे भन्छन्, ‘अनि यसरी झन् काम होला त?’