६३ करोडको प्रतिबन्धित सुपारी र पोस्तादाना ल्याउने ५ फर्ममाथि भन्सार ‘सफ्ट’, कारबाहीमा आलटाल

अनन्तराज न्यौपाने
२०८० फागुन १६ गते १८:१६ | Feb 28, 2024
६३ करोडको प्रतिबन्धित सुपारी र पोस्तादाना ल्याउने ५ फर्ममाथि भन्सार ‘सफ्ट’, कारबाहीमा आलटाल

विराटनगर। बिनाअनुमति आयात गर्न नपाउने भनी परिमाणात्मक बन्देज लगाइएका मालवस्तु ल्याएर जाँचपास नगराई भन्सारको गोदाममै छाड्ने व्यवसायीलाई सरकारले ११ महिनादेखि कारबाहीको दायरामा ल्याउन सकेको छैन।

Tata
GBIME
Nepal Life

काठमाडौंको बाघभैरव ट्रेडर्स लगायतका केही फर्मले आयातमा परिमाणात्मक बन्देज लगाइएका सुपारी र पोस्तादाना अर्कै मालवस्तुका नाममा आयात गरेर वीरगंजको सुक्खा बन्दरगाह भन्सारको गोदाममा थन्क्याएका हुन्।

सुक्खा बन्दरगाह भन्सार कार्यालयले उक्त सुपारी र पोस्तादानाको मूल्य ६३ करोड रुपैयाँ भएको ठहर गरेको छ। यसरी एक मालवस्तुका नाममा अर्कै वस्तु आयात गर्ने व्यवसायी र तिनका फर्मलाई कारबाहीको दायरामा ल्याउन सरकारी निकायले सक्रियता देखाएका छैनन्। गलत घोषणा गर्ने व्यवसायीलाई कारबाही चलाउन भन्सार विभाग गम्भीर नभएको पाइएको छ।

भएको के हो ?

गत वैशाख २४ गते वीरगंजस्थित सुक्खा बन्दरगाहमा २० फिटका १२ वटा कन्टेनर आए। एगोन सिपिङ लाइनबाट आयात गरिएका यी कन्टेनरका आयतकर्ताको नाम थियो, बाघ भैरव टेडर्स काठमाडौं।

बाघभैरव ट्रेडर्सले यी कन्टेनरमा ल्याएको वस्तु ‘ब्ल्याक म्याप्ते’ अर्थात् कालो मासको दाल भनेर घोषणा गर्‍यो। प्रज्ञापनपत्रमा एउटा कन्टेनरमा २३ हजार ७७९ किलोका दरले कालो मासको गेडा दाल भएको उल्लेख गरियो।

तर, बाघभैरवले त्यो दाल सुक्खा बन्दरगाहमा भन्सार जाँचपास गराएन। सात महिनासम्म पनि बाघभैरवले कन्टेनर जाँचपास नगराएपछि मंसिर २४ गते बन्दरगाहले भन्सार जाँचपास गरेर सामान लैजान बाघभैरवका नाममा सूचना निकाल्यो। सूचना प्रकाशित भएपछि पनि कम्पनी भन्सारको सम्पर्कमा पुगेन।

आयातकर्ता भन्सारको सम्पर्कमा नपुगेपछि कार्यालयले कन्टेनर खोलियो। कन्टेनर खोल्दा मासको कालो गेडा मात्रै भेटिएन, भेटियो मासजस्तै देखिने पोस्तादाना।

पोस्तादाना नेपालमा खासै खपत हुँदैन। तस्करी गरेर भारत पुर्‍याइन्छ। भारतमा पोस्तादानाको आयातमा नियन्त्रण गरिएको छ। त्यही कारण नेपालमा छिरेको पोस्तादाना महँगो मूल्यमा तस्करी भएर भारत पुग्छ।

बाघभैरवका नाममा वैशाख २४ मा आएका १२ वटा कन्टेनरमा भन्सार विभागले १ लाख ८६ हजार ६ सय किलो पोस्तादाना भेट्यो। दाल भने जम्मा ३५ हजार ३०० किलो मात्र भेटिएको छ।

यी वस्तु दाबी गर्न आउन भन्सारले पुस २६ गते बाघभैरवका नाममा अर्को सार्वजनिक सूचना जारी गर्‍यो। यसपटक पनि बाघभैरवका प्रतिनिधि त्यो सामान जाँचपास गराउन भन्सारमा पुगेनन्। बाघभैरवले सामान जाँचपास नगराएपछि भन्सार कार्यालयले माघ २९ गते लिलामीमा पठायो।

यस्तो अवस्था बाघभैरवको मात्रै छैन। सिगुल ट्रेडिङ, महेश्वरी ट्रेड, जयमुखी एग्रो ट्रेडर्स र पाथीभरा स्टोर्स नेपालको कथा पनि उही हो।

२०७९ चैत ७ मा महेश्वरी ट्रेडका नाममा ३ वटा कन्टेनर वीरगंजस्थित बन्दरगाहमा पुगे। कन्टेनरमा मुसुरोको दाल भएको बताइएको थियो। तर, यथार्थमा त्यहाँभित्र दाल मात्रै थिएन, नेपालमा आयात नियन्त्रण गरिएको सुपारी पनि थियो।

नेपालमा गुट्खा उद्योगले सुपारी आयात गर्न पाउँछन्, तर त्यसका लागि पनि सरकारले गत आर्थिक वर्षको खपतका आधारमा कोटा तोकिदिएको छ। सरकारले बीचमा केही समय उद्योगलाई सुपारीको कोटा दिन ढिलाइ गरेको थियो।

तस्करी भएर नेपाल आयात हुने सुपारी मुख्यतया दुईवटा काममा प्रयोग गरिन्छ। पहिलो, त्यो सुपारी तस्करीमार्फत भारत नै पठाइन्छ। दोस्रो, नेपालमा गुट्खा उत्पादनमा भ्याट र अन्तःशुल्क गरेर ठूलो मात्रामा कर लाग्ने भएकाले उत्पादकहरूले तस्करी भएर आएको सुपारीबाट गुट्खा उत्पादन गरी करको हिसाबमा नदेखाइ बजारमा पठाउँछन्।

यसबाट गुट्खा उद्योगका मालिकलाई अनधिकृत कारोबारबाट ठूलो आम्दानी हुन्छ। यस्तो कारोबारमा देशका ठूला गुट्खा उद्योगको समेत मिलेमतो हुने गरेको राजस्व अनुसन्धान विभागका अधिकारीको दाबी छ।

महेश्वरी ट्रेडले आयात गरेको तीनवटा कन्टेनरमा मुसुरोको दाल जम्मा १४ हजार ७ सय किलो थियो। सुपारी भने ३८ हजार ९ सय किलो थियो।

यस्तै, पाथीभरा स्टोर्स नेपालको एउटा कन्टेनर गत असार ११ मा र २ वटा कन्टेनर साउन १२ मा सुख्खा बन्दरगाहमा आएका थिए। पाथीभराले पनि २ वटा कन्टेनर मुसुरोको दाल र एउटा कन्टेनर मुङ्ग्रेला (कालो जिरा)का नाममा ल्याएको थियो। एउटा कन्टेनरमा मुसुरोको दाल मात्र थियो।

बाँकी २ कन्टेनरमध्ये एउटामा ७ हजार ८० किलो मुसुरोको दालसँगै ९ हजार ७४० किलो सुपारी र अर्को कन्टेनरमा ४ हजार किलो कालो जिरासँगै १३ हजार ३ सय किलो पोस्तादाना थियो।

यस्तै, जयमुखी ट्रेडर्सका नाममा जेठ २३ गते बन्दरगाहमा २ वटा कन्टेनर आए। आयातकर्ताले ती कन्टेनरमा सोयाबिन मिल भएको घोषणा गरे। तर, कन्टेनरमा भने सोयाबिन मिलसहित सुपारी र सुकुमेल फेला परे।

पहिलो कन्टेनरमा ५ हजार २५० किलो सोयाबिन मिल, १२ हजार ७२० किलो सुपारी र ८ हजार ८४० किलो सुकमेल थियो। दोस्रो कन्टेनरमा ५ हजार एक सय किलो सोयाबिन मिल र २२ हजार ८ सय किलो सुपारी फेला पर्‍यो।

फिड मिलका नाममा सुपारीको धन्दामा रहेको अर्को कम्पनी हो, सिगुल ट्रेडिङ। जेठ १४ गते वीरगंज सुख्खा बन्दरगाहमा सिगुल ट्रेडिङका १२ वटा कन्टेनर आएका थिए।

ती कन्टेनरमा आएको भनिएको ३ लाख २२ हजार ३८० किलो फिड मिलमध्ये जम्मा ५८ हजार २ सय किलो मात्र फिड मिल थियो। बाँकी २ लाख ६४ हजार १८० किलो सुपारी भेटियो।

आयातमा परिमाणात्मक बन्देज लगाइएका मालवस्तुका नाममा यति ठूलो छली धन्दा हुँदा पनि ११ महिनादेखि कारोबारीलाई कारबाहीको दायरामा ल्याइएको छैन।

हामी निष्क्रिय छैनौं : भन्सार प्रमुख

सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख डा. रामप्रसाद मैनालीले मालवस्तुको गलत घोषणा गर्ने र मालवस्तु नै जाँचपास नगर्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन अनुसन्धान भइरहेको बताए।

‘पर्याप्त सपोर्टिङ डकुमेन्ट र प्रमाण नभएकाले चोरी पैठारीमा तत्काल कारबाही चलाउने अवस्था छैन,’ मैनालीले बिजमाण्डूसँग भने, ‘पहिले त हामीले उनीहरूले ल्याएको हो भनेर ‘इस्ट्याब्लिस’ गर्नुपर्‍यो। कानुनी हिसाबले ‘इस्ट्याब्लिस’ गर्न पर्याप्त डकुमेन्ट र प्रमाण त चाहिन्छ। यसको माग गर्ने काम हामीले गरिरहेका छौं। कागजात आउन केही विलम्ब भएको छ। तर, ढुक्क हुनुस्, यस्तो धन्दा गर्नेले उन्मुक्ति पाउँदैनन्। उन्मुक्ति दिने भए सामानको उहिल्यै जाँचपास भइसक्थ्यो।’

उनले गलत घोषणा गरेको र विदेशी मुद्रा अपचलन गरेको समेत अभियोग लाग्ने अवस्था रहेको बताए। ‘हामीले उनीहरूले नै आयात गरेका हुन् भन्ने कोणबाट कागजात र प्रमाण संकलन गरिरहेका छौं,’ उनले भने, ‘उनीहरूले आयात गरेको होइन भन्ने कोणबाट फेस गर्ने तयारी गरिरहेका होलान्। तर, हेर्दै जानुस्, कारबाही भएरै छाड्छ। अहिले अनुसन्धानको क्रममा भएकाले सबै कुरा भन्न मिल्दैन। सबै कुरा बाहिर ल्याउँदा अनुसन्धान फितलो हुने भय छ। सबै छताछुल्ल गर्न मिल्दैन।’