
काठमाडौं। नेपालमाथि फराकिलो जित निकाल्दै भारत यू-१९ विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। दक्षिण अफ्रिकामा जारी प्रतियोगिताको आज सम्पन्न सुपर सिक्सको खेलमा भारतले नेपालमाथि १३२ रनको सहज जित निकालेको हो।
टस जितेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १६५ रनमा समेटियो।
२ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको नेपालले सुरुवात राम्रो गरे पनि मध्यक्रमका ब्याट्सम्यान सम्हालिन नसक्दा चाँडै विकेट गुमायो।

पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेको नेपालका लागि ओपनर अर्जुन कुमालले २६ रन बनाउँदा दीपक बोहोराले २२ रन बनाए। त्यसपछि आएका कप्तान देव खनालले ३३ रन बनाउँदा ९ औँ विकेटसम्मका कुनै ब्याट्सम्यानको संयमित प्रदर्शन रहेन। गुल्सन झाको फ्लप प्रदर्शनले आज पनि निरन्तरता पायो। उनले ६ बल फेस गर्दै मात्र १ रन बनाए।
३८.५ ओभरमा कप्तान खनालको विकेट गएपछि संकटमा आउने आँकलन गरिएको नेपाललाई दुर्गेस गुप्ता र आकाश चन्दले सुझबुझपूर्ण ब्याटिङ गर्दै सम्मानित स्कोरतर्फ डोहोर्याए। १२०-९ को अवस्थाबाट यी दुईले ६९ बलमा ४५ रनको साझेदारी गर्दै १६५-९ मा पुर्याएका हुन्। यस क्रममा गुप्ताले अविजित २९ तथा चन्दले अविजित १८ रन बनाए। बलिङतर्फ भारतका सौम्य पाण्डैले सर्वाधिक ४ विकेट लिँदा अर्स्रिन कुलकर्णीले २ तथा राज लिम्बानी, आराध्या शुक्ला र मुरुगन अभिशेकले समान १ विकेट लिए।
भारतको इनिङ्स
टस जितेर ब्याटिङमा उत्रिएको भारतलाई ठूलो स्कोरसम्म पुर्याउन कप्तान उदय शरण र सचिन दासको महत्वपूर्ण योगदान रह्यो। उदयले १०० तथा सचिनले ११६ रन बनाए। ठूलो स्कोर बनाउने क्रममा भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमायो।

ओपनर आदर्श सिंहलाई २१ रनमा गुल्सन झाले ४.५ ओभरमै पभेलियन फर्काउँदै नेपालको सुखद सुरुवात गराएका थिए। त्यस्तै १३.५ ओभरमा प्रियांशु मोलिया रन आउट भए। त्यस्तै ओपनर अश्रिन कुल्कर्णी १८ रन बनाएर १३.६ ओभरमा आकाश चन्दको बलमा क्याचआउट हुँदा नेपाल खेलमा हावि हुन थालेको थियो।
चौथो विकेट भने नेपालले निकाल्न नसक्दा भारत विशाल स्कोरतर्फ अघि बढ्यो। चौथो विकेटका लागि कप्तान उदय शरण र सचिनले २०२ बलमा २१५ रनको साझेदारी गरे। दासलाई ४७.४ ओभरमा गुल्सन झाले दीपक बोहोराबाट क्याच आउट गराए पनि त्यतिबेलासम्म धेरै ढिला भइसकेको थियो। उदयलाई पनि गुल्सनले नै ४९.४ ओभरमा सुवास भण्डारीबाट क्याचआउट गराए।

बलिङतर्फ नेपालका गुल्सन झाले ३ तथा आकाश चन्दले १ विकेट लिए।
भारत सेमिफाइनलमा
नेपाललाई हराएसँगै भारतले सेमिफाइनलमा स्थान पक्का गरेको छ। समूह ‘ए’ मा अपराजित रहँदै सुपरसिक्समा पुगेको भारतले त्यहाँ पनि न्युजिल्याण्ड र नेपाललाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो।
समूह चरणमा अफगानिस्तानलाई हराएको नेपालले पाकिस्तान र न्युजिल्याण्डसँगको हारको बाबजुद सुपर सिक्समा स्थान बनाएको थियो। सुपर सिक्सको पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा भारतसँग पराजय ब्यहोरेसँगै नेपालको विश्वकपमा चुनौती सकिएको छ।