
काठमाडौं। दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयको टोलीले धनकुटा चौबिसे घर भएका ३४ वर्षीय लक्ष्मण श्रेष्ठलाई नियन्त्रणमा लिएको हो। उनले विवेक पाटकलाई वैदेशिक रोजगारीको लागि दुबई पठाइदिन्छु भन्दै १ लाख ९५ हजार रुपैयाँ ठगी गरेका थिए।
दुबईमा मासिक ५० हजार रुपैयाँ कमाई हुन्छ त्यसको लागि २ लाख ४० हजार रुपैयाँ बुझाउनु पर्छ भनेका थिए। १ लाख ९५ हजार रुपैयाँ बुझाएपछि श्रेष्ठ सम्पर्कविहीन भए। प्रहरीमा उजुरी गरेपछि आइतबार प्रहरीले काठमाडौंको नयाँ बसपार्कबाट समातेको हो।
थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाएको प्रहरीले जानकारी दिएको छ।