इन्जिनमा समस्याले हुन सकेन एनएसीको जुम्ला-नेपालगञ्ज उडान, यात्रुलाई भोलि उडाउने आश्वासन

बिजमाण्डू
२०८० मंसिर २५ गते १६:०५ | Dec 11, 2023
इन्जिनमा समस्याले हुन सकेन एनएसीको जुम्ला-नेपालगञ्ज उडान, यात्रुलाई भोलि उडाउने आश्वासन
नेपाल वायुसेवा निगमको ट्विनअटर जहाज

काठमाडौं। इन्जिनमा समस्या आएपछि नेपाल वायुसेवा निगमको जुम्ला-नेपालगञ्ज उडान रद्द भएको छ। सोमबार नेपालगञ्ज-जुम्ला उडान गरेको ९ एन-एबीयु कलसाइनको जहाजमा यात्रु लिएर नेपालगञ्ज फर्कने बेला इन्जिनमा समस्या आएको निगमका प्रवक्ता रमेश पौडेलले बताए।  

Tata
GBIME
NLIC

‘जुम्ला-नेपालगञ्ज उडान प्रभावित भएको छ। चिसोका कारण इन्जिन स्टार्ट नभएको जानकारी आएको छ। यात्रुलाई भोलि ल्याउने तयारी छ,’ प्रवक्ता पौडेलले भने, ‘भोलि हाम्रो प्राविधिक टोलीले नेपालगञ्जबाट ब्याट्री लगेर इन्जिन स्टार्ट गराउने तयारी छ।’

अपराह्‍न १२:३८ बजे जुम्ला उडान गरेको जहाज साढे २ बजे फर्कने तालिका थियो।

इन्जिनमा भएको के हो?

निगमको ट्विनअटर जहाज गो प्लग प्रणाली अन्तर्गतको हो। गो प्लग भनेको इन्जिन कोयलमार्फत स्टार्ट गर्ने प्रविधि हो। १६ वर्षदेखि प्रयोग हुँदै आएको यो प्रविधिको रुपान्तरण भइसकेपनि निगम व्यवस्थापनले भने चासो देखाएको छैन।

जसका कारण हरेक महिना न्यूनतम २ पटक इन्जिन स्टार्ट नहुने समस्या आइरहेको निगमका एक प्राविधिकले जानकारी दिए।