
काठमाडौं । पछिल्लो तीन दिनमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २० किलो भन्दा बढी सुन बरामद भयो। दुबईबाट शरीरमा ज्याकेट बनाएर १४ किलो र साढे ६ किलो सुन बोकेर आएका एकजना विदेशी र एकजना नेपाली समातिए। एक दिनको ‘ग्याप’मा विमानस्थलको प्रयोग गरेर दुईपटक अवैध रुपमा सुन ल्याउने प्रयास भयो।
प्रहरीले सो प्रकरणको अनुसन्धानको घेरा थप तीन जना रहेको जनाएको छ। बिहीबार, शुक्रबार र शनिबार गरेर हवाई तथा स्थलमार्ग प्रयोग गरेर चीन र दुबईबाट सुन तस्करी भएको देखिएको हो।
प्रहरीको तथ्यांक हेर्दा पछिल्ला १० वर्षको अवधिमा प्रत्येक वर्ष औसत ५० किलो भन्दा बढी अवैध तरिकाले सुन भित्रिने गरेको छ। सुरक्षा दृष्टिकोणले महत्त्वपूर्ण क्षेत्र रहेको विमानस्थलबाटै सुनको ओसारपसार भइरहेको छ।
खुलेआम सुन बोकेर ल्याउँदा सरकार र सम्बन्धित निकायहरू तस्करी रोक्न कठोर नबनेको सहजै देखिन्छ। ठूला तस्करीहरु सरकार र राजनीतिक दलका व्यक्तिकै आडमा यो धन्दा चलारहेको धेरैको अनुमान छ। केही घटना ती अनुमानलाई पुष्टि गर्ने आधार बनेका छन्।

निरन्तर सुन तस्करी हुनु माथिल्लो तहका राजनीतिज्ञहरूको ‘सेटिङ’ बिना सम्भवन नभएको पूर्व अर्थसचिव शिशिर ढुंगाना बताउँछन्।
‘यो भ्रष्टाचारको स्वरूप हो। उच्च तहका नेताको सेटिङमा राष्ट्रलाई घात गर्ने काम भइरहेको छ,’ ढुंगानाले भने।
गएको पुसमा विमानस्थलबाट बरामद भएको भेपभित्रको सुन प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको नाम मुछियो। उनका छोरा राहुल महरा जिल्ला अदालतको आदेशमा सोही केसमा हाल पुर्पक्षको लागि थुनामा छन्।
त्यस्तै, अघिल्ला सुन प्रकरणमा भन्सारका कर्मचारी, प्रहरी, अध्यागमनका कर्मचारीको संलग्नता भएको अनुसन्धानबाट खुलिसकेको छ।

विदेशबाट आएको सुन नेपालमा खपत हुँदैन। सुन नेपालबाट स्थलमार्ग हुँदै भारतमा पुग्ने गरेको छ। नेपालमा सुनको प्रबन्ध लगायतका विषयमा नेपालीहरू प्रयोग हुने गरेका छन्। यसरी निरन्तररुपमा विदेशबाट तस्करीको सुन आउँदा त्यसको असर दीर्घकालीन हुने विज्ञहरू बताउँछन्। नेपालमा रहेका व्यक्तिले कालोधनलाई सेतो बनाउन सुन तस्करी गर्ने गरेको पूर्व सचिव ढुंगानाको दाबी छ।
‘कालो पैसा बढी विदेशमा भएपछि त्यसलाई ह्वाट बनाउन सुन तस्करी भएको हो। यसले देशमा आर्थिक संकटसँगै सामाजिक सद्भाव समेत बिगार्ने गर्छ,’ उनले भने।
सुन सबैभन्दा धेरै उत्पादन गर्ने राष्ट्र चीन हो भने धेरै खपत गर्ने भारत हो। यी दुई ‘जायन्ट र ग्रोइङ इकोनोमी’ भएका देशको बीचमा भएकाले तस्करले नेपालका व्यक्तिलाई प्रयोग गर्ने गरेका छन्। चीनको सीमा जोडिएका नाकाबाट स्थलमार्ग हुँदै सुन भित्रिने गरेको देखिन्छ। दुबईबाट भने विमानस्थलको प्रयोग हुने गरेको छ।
पछिल्लो पटक चिनियाँ नागरिकले सुनमा लगानीदेखि नेपालमा नै आएर सुनको व्यवस्थापन समेत गर्ने गरेको खुलेको छ।
पछिल्ला तस्करीको शैली, संलग्न मानिसको अनुसन्धान हेर्दा संगठित रुपमा सुन तस्करी गर्ने गिरोह नेपालमा सक्रिय भएको खुलेको छ। साउनमा बरामद भएको ६१ किलो सुन प्रकरणमा संलग्न व्यक्तिहरूको सम्पर्क केलाएर हेर्दा देशका राजनीतिज्ञदेखि विभिन्न सरकारी निकायका मानिससँग सम्पर्क रहेको पुष्टि हुन्छ।

विमानस्थलबाट चलिरहेको सुन तस्करी निरन्तर रहेको संकेत अहिले बरामद गरेको सुनले प्रष्ट पारिसकेको छ। यसका साथै देशका संयन्त्रणहरु को निष्प्रभाव उदांगो भएको छ। सरकार नै विमानस्थलको सुरक्षा प्रबन्ध कडा बनाउन नचाहिरहेको विज्ञहरूको दाबी छ।
पूर्वगृहसचिव सूर्यप्रसाद सिलवाल बरामद सुनको परिमाण हेर्दा तस्करी निरन्तर भइरहेको संकेत गर्नेछन्। तस्करी रोक्न सुरक्षा निकायको सुराकी प्रणाली र विमानस्थलमा खटिने संयन्त्रलाई थप प्रभावकारी बनाउनु पर्ने उनी बताउँछन्।
यता, स्थलमार्गबाट पनि ‘सेटिङ’मै सुन तस्करी भइरहेको छ। विमानस्थलमै संयन्त्रलाई बलियो बनाउन नसकेको सरकारले स्थलमार्गमा तस्कर रोक्न प्रयास गर्ने कुरै भएन।
दोलखा प्रहरीले असोज १० देखि विभिन्न मितिमा चीनबाट ल्याएको ११ किलो सुन सहित केही व्यक्ति पक्राउ गरेको थियो। ११ किलो सुन बरामद भए पनि प्रहरीको अनुसन्धानमा दोलखाको लामाबगर फलाक नाका हुँदै ३३ किलो सुन भित्रिएको प्रहरी पुष्टि भयो। सुन तस्करीमा संलग्न व्यक्तिको बयान र प्रहरी अनुसन्धानबाट लामाबगरको फलाक नाका हुँदै ६ पटकमा ३३ किलो सुन भित्रिएको खुल्न आएको प्रहरीले जानकारी दिएको छ। यसरी ठूलो परिमाणमा सुन ल्याएको देख्दा त्यहाँ ‘सेटिङ’ भएको संकेत गर्छन् पूर्व एआइजी विज्ञानराज शर्मा।
‘यति धेरै रिक्स लिएर किन सुन बोकेर आउँछन्? यहाँ ठूला मानिसको पनि संलग्नता हुने देखिन्छ,’ पूर्वआइजी शर्माले भने।
सरकारका संयन्त्रहरू प्राविधिकरुपमा मात्र होइन ठूला व्यक्तिको प्रभावमा पर्दा पनि चुकिरहेको सरोकारवालाहरु बताउँछन्। विमानस्थलबाट सुन र लागूऔषध सहज रुपमा भित्रिँदा अर्थतन्त्रमा मात्र होइन अन्तराष्ट्रिय जगतमा पनि नेपाललाई हेर्दे दृष्टिमा नकारात्मक छवि बनाइरहेको उनीहरुको मत छ।