
काठमाडौं। ६१ किलो सुन बरामद भएपछि सरकारले गठन गरेको जाँच आयोग सक्रिय भइरहेको समयमा सुन तस्कर पनि उतिकै सक्रिय भएको देखिएको छ। बिहीबार राति दुबईबाट आएको १४ किलो सुन बरामद भएसँगै तस्कर समूहले निरन्तर तस्करी गरेको खुलेको हो।
बिहीबार राति त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले १४ किलो सुनसहित गोरखाका ५४ वर्षीय चन्द्र घलेलाई पक्राउ गरेको थियो। यही प्रकरणमा संलग्न अर्का मीनबहादुर घलेलाई पनि कामाडौंको बसुन्धराबाट नियन्त्रणमा लिन सफल भयो। दुबईबाट ज्याकेट बनाएर त्यसभित्र ७ वटा टुक्रा सुन बोकेर चन्द्र काठमाडौं ओर्लिएका थिए।
तर भन्सारको टोलीले विमानमा नै गएर उनलाई समातेको थियो। पूर्व सूचनाको आधारमा अन्य कर्मचारीको पनि संलग्नता हुने भएकाले विमानबाट ओर्लिएपछि कतै सुन गायब हुने त होइन भनेर भन्सारको टोली विमानमा नै पुगेको थियो। सुन कसले मगाएको थियो? कहाँ जाँदै थियो? लगायत विषयमा भने अनुसन्धान जारी छ।
त्यसको २४ घण्टा नबित्दै काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले थप दुई किलो सुन समात्यो। यो सुन भने हवाईमार्ग नभएर स्थल मार्गबाट आएको थियो। रसुवा नाकाबाट छिरेको सुन लिएर काठमाडौं आउँदै गरेको अवस्थामा प्रहरीले तीन जना युवकलाई नियन्त्रणमा लिएको थियो। जसको सूचना प्रहरीले पहिले नै पाएको थियो।

‘सूचनाको आधारमा नै हामीले सुन सहित तीन जनालाई पक्राउ गरेका छौँ,’ काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसपी रवीन्द्र रेग्मीले भने।
कार्यालयको टोलीले नै दुई दिनअघि न्यूरोडबाट अवैध रुपमा ल्याएको भन्दै ७ किलो सुन बरामद गरेको थियो। कार्यालयको टोलीले पदम पाण्डेले सञ्चालन गरेको ओम पर्ल गोल्ड र कैलाश ज्वेलर्समा छापा मारेको थियो। छापा मार्दा ७ किलो १८५ ग्राम सुनका गहना, ३९ लाख ५० हजार रुपैयाँ र ४१ सय अमेरिकन डलर फेला पारेको छ। प्रहरीले कैलाली लम्की घर भएका ४१ वर्षीय पदम पाण्डेलाई नियन्त्रणमा लिएको छ।
यसरी २४ घण्टाको फरकमा नै दुई ठाउँबाट १६ किलो सुन बरामद भएको छ। तस्करले सुन तस्करीको लागि हवाई र स्थल मार्ग दुवै प्रयोग गरेका छन्। चीन र दुबईबाट नै सुन तस्करी भएको छ। दुवै सुनको प्रकृति हेर्दा लुकाई छिपाइ भन्दा पनि सेटिङमा नै ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। भन्सारका कर्मचारीको अनुमान पनि दुबईबाट आएको सुन सेटिङमा नै विमानस्थलबाट बाहिरिने तयारीमा थियो।
‘ल्याएको प्रकृति र सुनको परिमाण हेर्दा सेटिङ नै मिलाएर विमानस्थलबाट बाहिर ल्याउने योजना बनाएको देखियो,’ भन्सारका एक कर्मचारीले भने।
विदेशबाट हवाई रूट भएर नेपाल आउने सुन विमानस्थलबाट बाहिर निकाल्ने प्रहरी, भन्सार कर्मचारी, विमानका कर्मचारी, अध्यागमनका कर्मचारीको मिलोमत्तो भएको भेटिएका छन्। बिहीबार बरामद सुनमा कुन कर्मचारीको कस्तो योजना थियो भन्ने अनुसन्धानमा खुल्ने छ। तर भरिया नै प्रयोग गरेर विदेशबाट हुने तस्करी भने सरकारले जति नै समिति, कडा सुरक्षा, प्रविधिको विकास भन्ने शब्दमा ‘डंका’ पिटे पनि बीसबाट उन्नाइस नभएको देखाउँछ।
‘सुन तस्करी शून्य हुँदैन न्यून गर्न सकिन्छ। हाम्रो देशमा बिक्ने मानिस सजिला छन्। अब त तस्करको पनि मुटु ठूलो भइसक्यो,’ पूर्वएआइजी विज्ञानराज शर्माले भने।
तीन महिनामा नै १७ किलो सुन बरामद
दैनिक अवैध रुपमा कति सुन नेपाल छिर्छ भन्ने कुनै तथ्याङ्कले पुष्टि गर्दैन। तर फाटफुट प्रहरी र भन्सारले बरामद गर्ने सुनको परिमाणले निरन्तर सुन तस्करी भइरहेको पुष्टि चाहिँ गरिदिएको छ। साउनमा ६१ किलो सुन बरामद भएपछि तातेको सरकारको जालो तोड्दै तस्करी हच्किएर भन्दा हौसिएर तस्करी गरेको देखिन्छ।
दोलखा, रसुवा, विमानस्थल लागेका स्थानमा बरामद गरेको सुनले थप पुष्टि गरिदिएको छ। नेपाल प्रहरीले मात्र साउन, भदौ र असोजमामा १७ किलो सुन बरामद गरेको छ। जसको बजार मूल्य १ करोड ७४ लाख रुपैयाँ भन्दा बढी रहेको छ। सुनसँगै प्रहरीले ५६ जनालाई समातेको छ। वाग्मती प्रदेश प्रहरीले मात्र १४ किलो अवैध तरिकाले ल्याएको सुन बरामद गरेको हो।
दोलखा प्रहरीले असोज १० देखि विभिन्न मितिमा चीनबाट ल्याएको ११ किलो सुन सहित मानिस पक्राउ गरेको थियो। ११ किलो सुन बरामद भए पनि प्रहरीको अनुसन्धानमा दोलखाको लामाबगर फलाक नाका हुँदै ३३ किलो सुन भित्रिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ। सुन तस्करीमा संलग्न व्यक्तिको बयान र प्रहरी अनुसन्धानबाट लामाबगरको फलाक नाका हुँदै ६ पटकमा ३३ किलो सुन भित्रिएको खुल्न आएको प्रहरीले जानकारी दिएको छ।
दोलखा प्रहरीले सुन तस्करीमा संलग्न मुख्य नाइके चिनियाँ नागरिक ग्याङ रु र आकर लामासहित १५ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो। तीमध्ये एक जना बालकलाई हाजिर जमानीमा रिहा गरेको थियो।

लामाबगर फलाक नाका हुँदै सुन भित्रिएको र सोबापतको रकम डलर तथा क्रिप्टोकरेन्सीमार्फत भुक्तानी भएको खुलेको हो। सुन तस्करीमा संलग्न अन्य १२ जना अझै फरार छन्।
साउनदेखि असोजसम्म त्रिभुवन विमानस्थलबाट काठमाडौं प्रहरीले एक किलो सुन बरामद गरेको थियो। त्यस्तै रसुवाबाट पनि २ किलो सुन बरामद भएको देखिन्छ। चीनको नाका जोडिएका जिल्लाबाट सुन तस्करी भइरहेको छ। यसरी तस्करीको सुन भारतमा पुग्ने गरेको छ। नेपालमा भन्दा भारतमा सुनको मूल्य महँगो भएकाले नेपाललाई ट्रान्जिट बनाएर सुन तस्करी हुने गरेको छ।
५ वर्षमा १८४ किलो बरामद‚ ३९३ जना पक्राउ
पछिल्ला ५ वर्षमा नेपाल प्रहरीले मात्र १ सय ८४ किलो भन्दा बढी सुन बरामद गरेको छ। त्यस्तै राजस्व अनुसन्धान विभाग, भन्सार कार्यालयले बरामद गर्ने तस्करीको सुनको परिमाण छुट्टै छ।
त्यस्तै गएको आर्थिक वर्षमा २० किलो ७ सय ग्राम सुनसहित मानिस पक्राउ गर्न प्रहरी सफल भएको देखिन्छ। जसबापत १७ करोड २० लाख २२ हजार रुपैयाँ बराबरको राजस्व संकलन भएको देखिएको छ।
आर्थिक वर्ष २०७८\७९ मा ३१ किलो ३ सय ८३ ग्राम सुन सहित प्रहरीले ८८ जनालाई पक्राउ गर्न सफल भएको थियो। जसरी प्रहरीले बरामद गरेको सुन जफत गरेर राज्य कोषमा ९७ करोड ४७ लाख ३९ लाख रुपैयाँ जम्मा भएको देखिन्छ।
आर्थिक वर्ष २०७७/७८ मा ५५ जना मानिस समातिँदा उनीहरूको साथबाट ३८ किलो सुन फेला परेको थियो। जसबापत २७ करोड १५ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन भएको देखिन्छ। आर्थिक वर्ष २०७६/७७ मा ३४ किलो ३ सय ग्राम तस्करीको सुन फेला परेको थियो।
विश्वमा सबैभन्दा धेरै सुन उत्पादन गर्ने राष्ट्र चीन र धेरै खपत गर्ने भारतको बिचमा रहेको हाम्रो देशका प्रणालीलाई छेडेर तस्करी हुने गरेको छ।