
काठमाडौं। त्रिशारा रेष्टुरेन्टले अब अब रिसोर्ट पनि सञ्चालनमा ल्याउने भएको छ। रेष्टुरेन्टले सेवा सुरु गरेको १३औं वर्ष प्रवेशको अवसर पारेर रिसोर्ट सञ्चालनको योजना बनाएको हो।
त्रिशाराले आफ्नो व्यावसायिक योजना अनुसार नै रिसोर्ट सञ्चालनमा ल्याउने योजना बनाएको सञ्चालक शोभनबीर मालाकारले बताए। उनका अनुसार आउँदो चार वर्षभित्र ककनीमा हाइ इण्ड रिसोर्ट सञ्चालनमा ल्याउने तयारी छ।

‘१२ वर्षदखि दिंदै आएको रेष्टुरेन्ट सेवासँगै अब रिसोर्ट सेवा दिने योजना अगाडी बढाएका छौं,’ मालालकाले बिजमाण्डूसँग भने, ‘हामी आफ्नो क्षमता बिस्तारसँगै मुलुकको पर्यटन प्रवर्धन गर्ने उद्धेश्यले रिसोर्ट सेवामा प्रवेश गर्न लागेका हौं। यसमा व्यवस्थापन त्रिशाराकै हुनेछ।’
उनका अनुसार आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गर्दै सञ्चालनमा ल्याइने रिसोर्ट १०० रोपनी क्षेत्रफलमा हुनेछ। रिसोर्ट भिल्ला शैलीमा बनाइनेछ।
‘रिसोर्टमा ६० वटा भिल्ला हुनेछन्। हरेक भिल्लामा पाहुनाले अन्तर्राष्ट्रियस्तरको सेवा सँगै इण्डोनेसियाको बालीमा जस्तै पर्सनल स्विमिङ पुलको सेवा लिन सक्नुहुनेछ,’ उनले भने, ‘अवधारणा तयार भइसकेको छ। आवश्यक प्रक्रिया पूरा गरी आउँदो वैशाखबाट निर्माण सुरु गर्ने योजना छ।’

लाजिम्पाटबाट सेवा सुरु गरेको त्रिशाराले १२ वर्षमा दरबारमार्ग, ठमेल, हात्तीवन र गोल्फुटारमा आउटलेट बिस्तार गरिसकेको छ। रौनकशमशेर जबरा, अरुणकृष्ण श्रेष्ठ र शोभनबीरको लगानी रहेको त्रिशाराले अष्ट्रेलियामा समेत फ्रेन्चाइज बिस्तार गर्न लागेको छ।
त्रिशाराले यसअघि पोखराको लेकसाइडमा जेड समूहसँगको सहकार्यमा २४ कोठा क्षमताको ‘होटल जेड सिटी’ सञ्चालनमा ल्याएको थियो।