काठमाडौं। कियाको इभी ६ गाडी अन्ततः नेपाली बजारमा आइपुगेको छ। नेपालका लागि कियाको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अनुसार किया इभी ६ नेपाल हिजो मात्रै आइपुगेको हो। गाडी वीरगंज भन्सार नाका पास गरेको कम्पनीले जनाएको छ। उक्त गाडी अहिले भन्सार छुटेर काठमाडौं ल्याइँदै छ।
कम्पनीका स्रोतका अनुसार उक्त गाडी पहिलो लटमा लगभग ४० युनिट आएको छ भने त्यहीअनुसार बुकिङ भएकाहरुको तत्काल डेलिभरी दिने तयारीमा कम्पनी छ।
यो गाडीको मूल्य १ करोड २५ लाख ९० हजार रुपैयाँ राख्ने तयारी छ। अहिलेसम्म सबै डिलरहरुबाट लगभग ५० युनिट इभी ६ बुकिङ भइसकेको कम्पनीले जनाएको छ।
कम्पनीले ५० हजार रुपैयाँ ‘टोकन मनी’ लिएर बुकिङ लिइरहेको छ। कम्पनीको नाडा अटो शोमा नै उक्त गाडीको डेलिभरी दिने तयारी थियो। तर पछि उत्पादक कम्पनीले समयमा उपलब्ध गराउन नसक्दा यो गाडीको डेलिभरी ढिला भएको थियो।
स्रोतले पठाएको फोटोमा नेपाल आइपुगेको किया इभी ६ स्पोर्टी लुक्समा देखिएको छ।
यो गाडी कियाको लक्जरियस सेग्मेन्टको इभी हो। यसमा ७७.४ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री प्याक उपलब्ध छ। जसलाई एक पटकको फुल चार्जमा ५२८ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।
यसमा १६८.१ किलोवाटको मोटर छ‚ जसले ४४०० आरपीएमका ३५० एनएम टर्क उत्पादन गर्न सक्ने जनाइएको छ।
यो गाडीमा अगाडि र पछाडि १७ इन्चको डिस्क ब्रेक छन् भने टायर १९ इन्चको एलोय ह्वील छ। यो गाडी ५ वटा कलरमा उपलब्ध हुने छ। यसमा ३ वटा सामान्य, स्पोर्ट र इको ड्राइभिङ मोडहरु उपलब्ध छन्। जसले आफूले भनेको र आफ्नो ड्राइभिङ प्याटर्न अनुसार मोडहरु छनोट गरेर गाडी ड्राइभ गर्न सकिन्छ।
यसमा स्मार्ट रिजेनेरेटिभ ब्रेकिङ सिस्टम छ। जसले अगाडि पछाडि दुवै ब्रेक लगाउदा वा ओरालोमा यो सिस्टम अन गर्दा ब्याट्री चार्ज हुने र रेन्ज बढाउने काम गर्छ। यसमा क्रुज कन्ट्रोल सिस्टम पनि उपलब्ध छ।
यस्तै यसमा अटो होल सिस्टम भने उपलब्ध छैन। जुन अहिलेको धेरै गाडीमा हुने गर्छ। यो सिस्टमले उकालो वा जाममा गाडी रोकिँदा पछाडि जानबाट रोक्छ।