बेल्ट एण्ड रोड परियोजनाबाट बाहिरिने इटालीको घोषणा, चीनले के भन्यो ?

बिजमाण्डू
२०८० मंसिर २२ गते १३:५० | Dec 8, 2023
बेल्ट एण्ड रोड परियोजनाबाट बाहिरिने इटालीको घोषणा, चीनले के भन्यो ?
इटालिन प्रधानमन्त्री जर्जिया मेलोनी Photo : Reuters


काठमाडौं । चीनको बेल्ट एण्ड रोड (बीआरआइ) परियोजनाबाट इटालीले बाहिरिने घोषणा गरेको छ। इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले चीनलाई यो वर्षको अन्त्यसम्म समय सीमा सकिनु अघि नै बीआरआइबाट बाहिरिने जानकारी दिएकी हुन्।

Tata
GBIME
NLIC

बीआरआइमा चीनसँग सहकार्य गर्ने इटाली एकमात्र पश्चिमी राष्ट्र थियो। उक्त कदमको त्यतिबेला अमेरिका र अन्य देशले चर्को आलोचना गरेका थिए।

सन् २०१३ मा चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा सुरु गरिएको बीआरआइले एसिया र युरोपभरि अनुमानित १ ट्रिलियन डलर लगानी गर्ने लक्ष्य राखेको छ। नयाँ र स्तरोन्नति रेलमार्ग र बन्दरगाह लगायतका परियोजनाहरूले चीनलाई युरोप र एसियाका अन्य भागहरूसँग जोड्ने लक्ष्य राखिएको छ।

योजनाबाट बाहिरिने इटालीको निर्णयमा प्रतिक्रिया दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बेल्ट एण्ड रोड सहकार्यलाई नोक्सान पुर्‍याउने कुनै पनि गतिविधिको चीनले विरोध गर्ने बताएका छन्। तर, उनले प्रत्यक्ष रुपमा इटालीको नाम भने लिएनन्।

युरोपेली युनियनका नेताको बेइजिङ भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङले बिहीबार युरोपसँग चीनको बृहत्तर सम्बन्धबारे चर्चा गरेका थिए। तर, त्यसहीबेला नै इटालीले बीआरआइबाट बाहिरिने घोषणा गरेको हो।

चीनको बीआरआइलाई अमेरिकाले ‘डेब्ट-ट्रयाप- कूटनीति’ भन्दै आलोचना गर्दै आएको छ।

इटालीले यो वर्षको अन्त्यसम्ममा बीआरआइबाट बाहिरिने जानकारी चीनलाई नदिनए परियोजनामा इटालीको सदस्यता अर्को वर्ष मार्चमा स्वतः नवीकरण हुने थियो।

मेलोनीले आफूभन्दा अघिको सरकारले गरेको सो निर्णयलाई ‘गम्भीर गल्ती’ भन्दै आएकी छिन्। उनले बीआरआइबाट बाहिरिए पनि आफ्नो सरकार चीनसँग राम्रो सम्बन्ध कायम गर्ने पथमा रहेको बताएकी छिन्।

सन् २०१९ मा बीआरआइ अन्तर्गत इटालफले २० अर्ब युरो चीनबाट पाउने प्रतिबद्धता व्यक्त गरिएको थियो। तर त्यसको थौरै अंश मात्रै पूरा भएको जनाइएको छ। चीनमा इटालियन निर्यात गत वर्ष १६.४ अर्ब युरोको थियो, जुन सन् २०१९ मा १३ अर्ब युरोमा सिमित थियो। त्यसको विपरीत इटालीमा चिनियाँ निर्यात सोही अवधिमा ३१.७ अर्ब युरोबाट बढेर ५७.५ अर्ब युरोमा पुगेको थियो।

गत वर्ष कार्यालयमा आएदेखि मेलोनीले आफ्ना पूर्ववर्तीहरू भन्दा धेरै पश्चिमा समर्थक र नेटो समर्थक विदेश नीतिको नेतृत्व गर्न खोजेकी छिन्।