भ्याट बिल अनिवार्य गर्दा बजारमा आलु र प्याज अभाव, सरकारले व्यवहारिकता नहेरेको व्यवसायीको आरोप

शुक्र गिरी
२०८० मंसिर २० गते २१:०० | Dec 6, 2023
भ्याट बिल अनिवार्य गर्दा बजारमा आलु र प्याज अभाव, सरकारले व्यवहारिकता नहेरेको व्यवसायीको आरोप

काठमाडौं। नेपाली बजारमा आधिकारिक रूपमा तरकारी व्यवसाय गर्नेहरूले तीन दिनदेखि आलु र प्याज नउठाएपछि चरम अभाव भएको छ। कालीमाटी थोक बजारमै अभाव भएको छ। आलु र प्याजको भण्डार हुने स्टल खाली छन्।

Tata
GBIME

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले तीन दिनदेखि आलु र प्याज नभएको बताए।

‘हाम्रो होलसेल बजारमा तीन दिनदेखि आलु र प्याज हुने स्टल सबै खाली नै छन्,’ उनले भने, ‘व्यवसायी सरकारले आलु र प्याजमा लगाएको भ्याटका कारण समस्यामा परेको भन्दै आयातितसँगै लोकल पनि मन्डीमा ल्याउन ठप्प पारेका छन्।’

सरकारले चालु आर्थिक वर्षबाट आयातित र स्थानीय दुवै आलु र प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) कार्यान्वयनमा ल्याएको थियो। स्थानीय उत्पादनलाई भ्याटको दायरामा ल्याउन कठिन भएको भन्दै व्यवसायीले सरकारी कदमको विरोध गर्दै आएका थिए।

‘व्यवसायीहरूले यसरी भ्याट कायम गरिनु व्यवहारिक नभएको बताउँदै आइरहेका थिए,’ श्रेष्ठले भने, ‘व्यवसायीको माग भनेको जो व्यावसायिक रूपमा सामेल छन् तिनीहरूको लागि मात्र भ्याट कार्यान्वयन भयो भन्ने गरेका छन्। स्थानीय उत्पादनमा कृषकले कहाँबाट भ्याट बिल ल्याउँछन्?’

तरकारी व्यवसायी नेपाल कृषि उपज आलु प्याज आयात निर्यात तथा थोक बिक्रेता संघका महासचिव प्रकाश गजुरेलका अनुसार पहिला स्थानीय स्तरमा उत्पादित आलु र प्याजमा भ्याट लाग्ने थिएन। अहिले सबैमा भ्याट लगाइयो। कृषकहरूसँग भ्याट बिल नहुने र बजारका बेच्नेहरूले पनि भ्याट बिल नआएपछि किनबेचमा आफूहरू समस्यामा परेको गजुरेल बताउँछन्।

‘हामीले ३ दिनदेखि कारोबार ठप्प बनाएका छौं,’ उनले भने, ‘हामीलाई व्यवसाय गर्ने वातावरण सरकारले दिनुपर्‍यो। स्थानीय उत्पादनमा भ्याट नलगाउने वा लगाए पनि एकरूपता कायम हुनेगरी भ्याट लगाउनु पर्छ। हामीलाई कसैले भ्याटमै सामान दिन्छ भने भ्याटमा कारोबार गर्न समस्या भएन तर अहिले स्थानीय उत्पादनमा भ्याट बिल कतैबाट पनि आउन सक्दैन। हामीले त्यही सामान भ्याटमा बिक्री गर्न समस्या भएको छ।’

गजुरेलका अनुसार कारोबार गर्दा प्रतिकेजी ५ रुपैयाँसम्म जोडेर बिक्री गर्नुपर्ने अवस्था छ। ‘यस्तो हुँदा हामीले होलसेलमा दिने रेट बजारमा पाइने भन्दा महंगो हुन जान्छ,’ उनले भने, ‘यसो हुँदा हामीले भ्याटबाट कारोबार गर्न नसक्ने भएको हो। यस्तै आयातको विषयमा पनि समर्थन मूल्य भन्सार बिन्दुमा राखिएको छ। कुनै समय महंगोमा पनि किनेर ल्याइएको हुन्छ। तर त्यस्ता बिल समायोजन गरेर बिल काट्ने नमिल्ने अवस्थाले पनि गाह्रो बनाएको छ।’

दर्ता भएर बसेका व्यवसायीलाई भ्याटको कुरा गर्ने राज्यले जो दर्ता नभई बाहिर खुला रूपमा हाम्रो भन्दा सस्तोमा भ्याटबिना बिक्री गरिरहेका छन् त्यस्तालाई छोडेर आफूहरू कारोबार गर्न नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ।

‘कि सरकारले संकलन केन्द्रदेखि बजारसम्म सबै क्षेत्रमा टोट्ली भ्याटकै सिस्टम चल्नु पर्‍यो,’ उनले भने, ‘तर स्थानीय उत्पादन भएका आलु र प्याजमा भ्याटको कारोबार गर्न त्यति सहज छैन।’

आन्तरिक राजश्व विभागको भने अर्कै भनाइ छ। विभागका महानिर्देशक दीर्घराज मैनालीले आफूहरूले स्थानीय उत्पादन हुने आलु, प्याज र स्याउ जस्ता कुरा भ्याट नलगाइएको बताए।

‘हामीले यस्ता स्थानीय उत्पादनमा कुनै पनि भ्याट लगाएका छैनौं,’ उनले भने, ‘सरकारले आन्तरिक उत्पादनलाई महत्त्व दिएर आयातितमा मात्र भ्याट लगाएको हो। हामीले यस विषयलाई प्रस्ट पार्न धेरै पहिले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अध्यक्ष र सीईओहरुलाई भनिसकेका छौं।’

मैनालीले यो अहिले आएर बखेडा गर्नुपर्ने विषय नभएको बताए। ‘स्थानीय उत्पादनमा बिक्री गर्दा होस् वा खरिद गर्दा होस् कतै भ्याट लाग्दैन। तर आयातितमा भने जुनमा पनि भ्याट लाग्छ। यही कुरा क्लियर भइसकेको छ,’ उनले भने।

अहिले काठमाडौं उपत्यकामा मात्रै दैनिक १०० क्विन्टल आलु र प्याज खपत हुने गरेको छ। यसरी खपत हुने आलु र प्याज व्यवसायीले ल्याउन ठप्प पारेपछि बजारमा अन्य माध्यमबाट आएका आलु र प्याजले भाउ पाएका छन्। नियमित कारोबारी व्यवसायले आलु-प्याज ल्याउन ठप्प पारेको केही दिनमै बजार महँगिएको छ। गजुरेलले भने, ‘अहिले प्रति केजी ३८ देखि ४० पर्ने आलुको ६० देखि ७० रुपैयाँ र ८० देखि ९० मा पाइने प्याज १३० देखि १४० रुपैयाँसम्म पुगेको छ।’