खेतान समूहले नेपालमै थाल्यो रेड बुल उत्पादन, पहिलो चरणमा २५० एमएल क्यान बनाउने

बिजमाण्डू
२०८० मंसिर १९ गते १७:२३ | Dec 5, 2023
खेतान समूहले नेपालमै थाल्यो रेड बुल उत्पादन, पहिलो चरणमा २५० एमएल क्यान बनाउने


काठमाडौं। रेड बुलले नेपालमै उत्पादन थालेको छ। नवलपुरको अमरापुरीमा उद्योगबाट रेड बुल उत्पादन सुरु भएको हो।

Tata
GBIME
NLIC

रेड बुलको फ्याक्ट्रीमा जर्मन र स्वीस प्रविधि प्रयोग गरिएको छ। फ्याक्ट्रीले खपत गर्ने आधाभन्दा बढी विद्युत वैकल्पिक ऊर्जा स्रोतहरूबाट उत्पादन गरिने कम्पनीले जनाएको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योग उद्घाटन गरेका थिए। उद्योगले पहिलो चरणमा २५० एमएल क्यानमा रेडबुल उत्पादन गर्नेछ। रेड बुल उत्पादन गर्ने सूचीमा नेपाल विश्वको चौथौं देश बनेको कम्पनीले जनाएको छ। पहेंलो रेड बुल अहिले थाइल्यान्ड, भियतनाम र चीनसँगै अब नेपालमा समेत उत्पादन सुरु भएको हो।  

योविध्या परिवारको स्वामित्वमा रहेको टीसीपी समूह थाइल्याण्डको अग्रणी पेय पदार्थ हो। यही कम्पनीले रेड बुल उत्पादन गर्दै आएको छ। नेपालमा भने खेतान समूहको सरस बेभरेजेजले उद्योग नै लगाएर रेड बुल उत्पादन गर्न लागेको हो।

एशियाका १५ भन्दा बढी देशका बजारहरूमा प्रत्यक्ष रूपमा सक्रिय रहेको कम्पनीले विश्वभर ५ हजार जना भन्दा बढीलाई रोजगारी दिइरहेको छ। ।

‘टीसीपी समूहले खाद्य तथा पेय पदार्थ उद्योगलाई नयाँ नयाँ सिर्जनशील उत्पादन र सेवाहरूका साथ बद्लिंदो जीवनशैली, स्वास्थ्य तथा समयअनुसारको आवश्यकतालाई मध्यनजर राख्दै रेडबुल उत्पादन गर्दैछ। यसले विश्वलाई सदैव इनर्जी प्रदान गरिरहनेछ। रेड बुल इनर्जी ड्रिंक नेपालमा पहिलो पटक सन् २०१० मा आयात गरेर बिक्री भएको थियो। आज हामी रेडबुललाई वातावरणमैत्री तथा स्थानीय रूपमा उत्पादन गर्न सफल भएकोमा हामी गर्व गर्दछौं,’ टीसीपी समूहका प्रमुख कार्यकारी अधिकृत सरभूत युविध्याले भने।

उद्योगले नेपालमा सामाजिक, आर्थिक वृद्धि, रोजगारीका नयाँ अवसरहरू प्रदान गर्ने उनले बताए। उद्योग स्थापनाले नेपाल र थाइल्याण्डबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने उनको भनाइ छ।

सरस बेभरेजेजका प्रमुख कार्यकारी अधिकृत पवन जगेटियाले भने, ‘सरस बेभरेजेजको अत्याधुनिक अमरापुरी फ्याक्ट्रीमा हामी गर्वका साथ प्रतिष्ठित रेड बुल उत्पादन गर्दैछौं। वातावरणीय दिगोपनप्रति हामी सदैव प्रतिबद्ध छौं। त्यसैले उद्योगको आधा बिजुली वैकल्पिक ऊर्जा स्रोतहरूबाट उत्पादन गर्दैछौं।’