काठमाडौं। नेपाल र भारतबीच यात्रुवाहक बस सेवा सञ्चालनका लागि आधिकारिक सञ्चालकको आवेदन खुलेको छ। १३ वटा रुटमा बससेवा सञ्चालनका लागि यातायात व्यवस्था विभागले आवेदन माग गरेको हो।
सन् २०१४ मा भएको सम्झौतामा आधारित रहेर विभागले बिहीबार एक सूचना जारी गर्दै कम्पनी छनोट गर्नका लागि व्यवसायीहरुबाट अवेदन माग गरेको हो। उक्त सूचनामा ३५ दिनभित्र आवश्यक कागजात पेस गर्न भनिएको छ।
सडक मार्ग हुँदै भारतका विभिन्न सहर पुग्नका लागि नेपाल र भारतबीच १३ वटा रुट स्वीकृत भएका छन्। जसमा काठमाडौं-पटना-बोधगया, महेन्द्रनगर-दिल्ली, सिलिगुडी-काँकडभिट्टा-काठमाडौं, जनकपुर-पटना, महेन्द्रनगर-देहरादून, नेपालगंज- रूपैडिया-बरेली-मोरादावाद-हरिद्वार, नेपालगंज-रूपैडिया-लखनउ तथा दिल्ली र काठमाडौं-सुनौली-गोरखपुरसम्म सेवा उपलब्ध गराउन पाइने छ।
यसैगरी, काठमाडौं-भैरहवा-सुनौली-गोरखपुर-लखनउ-दिल्ली, काठमाडौं-आजमगढ-बनारस, पोखरा-भैरहवा-सुनौली- गोरखपुर-लखनउ-दिल्ली र जनकपुर-मुजफ्फरपुर-गोरखपुर-अयोध्या यात्रुवाहक बस सेवा सञ्चालनका लागि आवेदन माग गरिएको छ।
२०७६ जेठ र २०७९ जेठको निर्णयअनुसार आधिकारिक सञ्चालकको स्वीकृति प्राप्त गरिसकेका कम्पनीहरूले भने निवेदन पेस गरिरहनु नपर्ने सूचनामा उल्लेख छ। आधिकारिक सञ्चालकका रूपमा सूचीकृत कम्पनीले भारतको समकक्षी कम्पनीसँग यातायात सेवा सञ्चालनका लागि सम्झौता गर्नुपर्नेछ।
सम्झौतापछि मापदण्ड पूरा गरेको सवारीको हकमा विभागले बाटो इजाजत पत्र जारी गरी भारतीय निकायको स्वीकृतिका लागि पेस गर्नेछ। साथै सञ्चालन अनुमति प्राप्त गर्नका लागि २ चालक र २ सहचालकको नियुक्ति पत्र आवश्यक पर्ने छ।