सुपारी निर्यात खोल्न संसदीय समितिको चासो, झापा पुगेर किसानसँग गर्‍यो छलफल

बिजमाण्डू
२०८० मंसिर १३ गते २०:१३ | Nov 29, 2023
सुपारी निर्यात खोल्न संसदीय समितिको चासो, झापा पुगेर किसानसँग गर्‍यो छलफल


झापा। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले झापामा सुपारी खेती तथा उद्योगको अनुगमन गरेको छ। समितिका सभापति अब्दुल खानको नेतृत्वको संसदीय टोलीले बुद्धशान्ति र अर्जुनधारामा सुपारी बगान तथा दुना टपरी उद्योगको अनुगमनसहित सरोकारवालासँग छलफल गरेको हो।

Tata
GBIME
Nepal Life

झापा, इलाम, मोरङ, सुनसरीलगायत जिल्लामा हाल पर्याप्त सुपारी खेती हुँदै आएको छ। तर विगत तीन वर्षदेखि उत्पादित सुपारीलाई सरकारले विदेश निकासी गर्ने अनुमति नदिँदा उत्पादन गर्नेहरू मारमा परेको भन्दै निवेदन परेपछि वास्तविकता बुझ्न समितिको टोली स्थलगत अनुगमनमा आएको सभापति खानले बताए।

‘निर्यात बढाउने सरकारको नीति रहेको हुँदा स्वदेशमा उत्पादित सुपारीको विदेश निकासी रोकिनु हुँदैन’, विर्तामोडमा आयोजित छलफल कार्यक्रममा सभापति खानले भने, ‘यसबारे सरकारसँग छलफल गर्छौं।’

झापाको अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा बढीजसो सुपारी खेती गरिन्छ। बुद्धशान्ति -१ को श्रीकृष्ण सुपारी प्रशोधन उद्योग, बुद्धशान्ति -५ को नागबेली सुपारी सहकारी संस्था र अर्जुनधारा -१० को दुना टपरी उद्योगको संसदीय टोलीले अनुगमन गरेको थियो।

संसदीय समितिकी सदस्य सीता मिजारले अनुगमनको प्रतिवेदनमा सुपारी किसानको हितलाई समेटिने र स्वदेशी उत्पादनको बजार सुनिश्चितताका लागि निर्णय गरिने प्रतिबद्धता व्यक्त गरिन।

आयात रोक्न र निर्यात खुलाउन माग

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले आयोजना गरेको छलफल कार्यक्रममा सरोकारवाला सुपारी उत्पादक किसान तथा संस्थाका प्रतिनिधिले विदेशी सुपारीको आयात बन्द गर्न र स्वदेशी सुपारीको निर्यात खुलाउन जोडदार माग गरेका छन्।

नेपाल सुपारी खेती विकास संस्थाका केन्द्रीय अध्यक्ष देवीप्रसाद खतिवडाले कोरोनाकालयताको तीन वर्ष सुपारी निर्यातको अनुमति नपाउँदा नेपालका किसानको उत्पादनले बजार र उचित मूल्य नपाएको गुनासो गरे।

‘यही समस्या लिएर कहिले कुन मन्त्रालय, कहिले कुन मन्त्रालय धाइसक्यौँ’, उनले भने, ‘कसैले किसानको कुरा सुनेन। कतैबाट सुनुवाइ नभएपछि माग निवेदन लिएर किसान संसद्को समितिमा पुगेका हौँ।’

 उनले सुपारी किसानले राज्यबाट भोगिरहेको उपेक्षा र सुपारी खेतीको वास्तविकता हेरेर समितिले किसानलाई न्याय दिलाउने आशा व्यक्त गरे।

उपभोक्ता जागरण अभियान झापाका उपाध्यक्ष नीलकण्ठ तिवारीले विदेशबाट सुपारीको आयातलाई निरुत्साहित गरी स्थानीय उत्पादनको निर्यातलाई सुनिश्चित गरे मात्र किसानको हित हुने धारणा व्यक्त गरे।

उनले विदेशबाट आयातित सुपारीलाई अहिलेको भन्दा दोब्बर कर लगाउन, उक्त करको हिस्सा सुपारी किसानको हितमा प्रयोग गर्न र प्रशोधन गरेको स्थानीय सुपारीलाई स्थानीय गुट्खा उद्योगले अनिवार्य खरिद गर्नुपर्ने नीति तर्जुमा गर्न माग गरे।

सुपारी जोन समिति झापाका अध्यक्ष दीपक पोखरेलले सरकारले सुपारी खेतीको विकासका लागि बर्सेनि बजेट घटाइरहेको गुनासो गरे।

उनले भने, ‘सुरुका वर्षहरूमा करोडौँ बजेट पठाउने गरेको सरकारले अहिले घटाउँदै लगेर रु २० लाखमा सीमित गरेको छ। यो त सुपारी खेती नगर भनेजस्तै भयो।’

सरोकारवाला संस्थाका प्रतिनिधिले तेस्रो मुलुकबाट नेपालमा उपभोग हुनै नसक्ने मात्रामा सुपारी आयात गर्ने र तस्करीको बाटो भएर भारत पठाउने गरेका कारण स्वदेशी सुपारी मारमा परेको गुनासो गरेका थिए। स्वदेशी सुपारीको विदेश निकासी कोटा निर्धारण गर्दा विदेशी सुपारी मिसाएर लैजाने गरेको हुँदा त्यसलाई रोकिनुपर्ने उनीहरूको जोड थियो।

मेचीनगर नगरपालिकाका प्रमुख गोपाल बुढाथोकीले सुपारी व्यापारको निहुँमा अनेक चलखेल हुने गरेका कारण स्वदेशी किसान, नेता र सीमाका बासिन्दा बदनामको सिकार हुने गरेको बताए। उनले सुपारी खेती झापाको विशिष्ट पहिचान र हात्तीले क्षति नपुर्‍याउने बाली भएको हुँदा सुपारी खेती गरिरहेका किसानलाई सुविधा र सहयोग पुर्‍याउने राज्यको नीति बन्नुपर्ने सुझाव राखे।

कति फल्छ नेपालमा सुपारी

नेपालमा १४ हजार पाँच सय ६१ मेट्रिक टन सुपारी उत्पादन हुँदै आएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नै उक्त तथ्याङ्क सार्वजनिक गरेको हो। नेपाल सुपारी खेती विकास संस्थाका अध्यक्ष देवीप्रसाद खतिवडा बर्सेनि सुपारीको उत्पादन वृद्धि हुँदै आएको बताउँछन्। झापाबाट सुरु भएको सुपारी खेती हाल छिमेकी जिल्लामा विस्तार भइरहेको छ।

न्वारान र विवाहदेखि मृत्यु संस्कारसम्म सुपारीको प्रयोग हुन्छ। यसको पातबाट वातावरणमैत्री थालबटुका समेत उत्पादन हुने गरेको छ। अरु बालीभन्दा कम लागतमा बढी आम्दानी पाइने भएकाले किसान धान र अन्य बालीको साटो सुपारी खेतीमा आकर्षित हुन थालेको संस्थाका अध्यक्ष खतिवडा बताउँछन्।

आर्थिक वर्ष २०७९/०८० मा मन्त्रालयले नै नेपालमा चार हजार ५४ हेक्टरमा सुपारी खेती रहेको थियो। अनुगमनमा सांसदहरू रमा कोइराला पौडेल, रेखा यादव, सीता मिजार, हेमराज राई र रणेन्द्र बराइली छन्। टोलीले झापा, सुनसरी र मोरङका औद्योगिक क्षेत्र तथा बन्द भइसकेका केही उद्योगको समेत अनुगमन गर्ने जनाएको छ।