कोशी सरकारको बजेट सर्वसम्मतिले पारित, मुख्यमन्त्रीको प्रतिबद्धतापछि ८ सांसदले फिर्ता लिए प्रस्ताव

बिजमाण्डू
२०८० मंसिर १३ गते १९:११ | Nov 29, 2023
कोशी सरकारको बजेट सर्वसम्मतिले पारित, मुख्यमन्त्रीको प्रतिबद्धतापछि ८ सांसदले फिर्ता लिए प्रस्ताव
कोशी प्रदेश सभाको बुधबार बसेको बैठक

विराटनगर। कोशी प्रदेश सरकारको बजेट सर्वसम्मतिले पारित भएको छ। प्रदेश सभाको बुधबार बसेको बैठकले चालु आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक सर्वसम्मतिले पारित गरेको हो।

Tata
GBIME
NLIC

बजेटप्रति असन्तुष्टि जनाउँदै विभिन्न ८ सांसदले खर्च कटौतीको प्रस्ताव राखेकामा मुख्यमन्त्री केदार कार्कीले उनीहरुको चासो सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि विनियोजन विधेयक सर्वसम्मतिले पारित भएको हो।

तत्कालीन सरकारले गत भदौ २४ गते ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट ल्याएकामा अहिलेको सरकारले मंसीर ९ गते प्रतिस्थापन विधेयकमार्फत ३६ अर्ब ७४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट सभामा पेस गरेको थियो।

कोशी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि असन्तुष्टि जनाउँदै एमाले, राप्रपा लगायत दलका ८ सांसदले खर्च कटौतीको प्रस्ताव पेस गरेका थिए।

मुख्यमन्त्री कार्कीले विधेयकमा कुनै त्रुटी भए त्यसलाई सुधार गर्ने प्रतिबद्धता जनाएपछि रेवतीरमण भण्डारी, विदुरकुमार लिंथेप, किशोरचन्द्र दुलाल, तिलचन्द पाठक, कमला दर्नाल, भक्तिप्रसाद सिटौला, गोपालबहादुर विश्वकर्मा र निरन राईले खर्च कटौतीको प्रस्ताव फिर्ता लिएका थिए।

मंसीर ९ गते सभामा पेश भएको विधेयकमाथि २ दिन छलफल भएको थियो। छलफलका क्रममा ३१ सांसदले आ आफ्नो धारणा राखेका थिए।

बजेट पारितसँगै प्रदेश सभाको बैठक मंसीर १९ गते बस्ने गरी स्थगित गरिएको छ।