
काठमाडौं। कारोबारको प्रमुख सिजनमै सुनकाे भाउ लगातार बढेर तोलाको १ लाख १८ हजार रुपैयाँनजिक पुगेको छ। मंगलबार प्रति तोला १ लाख १७ हजार ७ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबारका तुलनामा मंगलबार ३ सय रुपैयाँ बढेको हो भने गत आइतबारका तुलनामा ८ सयको बढोत्तरी हो। साताको पहिलो दिनका तुलनामा सोमबार ५ सय बढेको थियो।
गत साताको प्रारम्भमा प्रति तोला १ लाख १५ हजार ७ सय रहेको सुन २ हजार रुपैयाँ बढिसकेको छ। विवाहका साइत रहेको महिना भएकाले मंसिरमा सुनको कारोबार उल्लेख्य हुने गरेकाे छ। लगातार बढेको भाउले घट्ने संकेत गरेको छैन।
चाँदी भने मंगलबार प्रति तोला १५ सय रुपैयाँमा स्थिर छ। यो मूल्य गत आइतबारका तुलनामा १५ रुपैयाँको बढोत्तरी हो। गत साताको सुरुमा चाँदी तोलाको १४ सय ५० रुपैयाँले कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सोमबार प्रति औंस २०११.७१ डलरले कारोबार भएको सुन २०१४.८७ डलर पुगेको छ।
चाँदी मंगलबार प्रति औंस २४.५९ डलरले कारोबार भइरहेको छ। सोमबार २४.६८ डलर थियो।