
काठमाडौं। विवादास्पद व्यावसायी दुर्गा प्रसाईँले बिहीबार काठमाडौंमा गर्न लागेको प्रदर्शनमा अराजक समूहको प्रवेश हुनसक्ने विषयलाई लिएर सुरक्षा निकायले आफ्नो रणनीति तय गर्ने भएको छ।
सोसल मिडियामार्फत् लोकरिझ्याईंलाई प्राथमिकता दिँदै प्रसाईँले प्रदर्शनको आह्वानमात्र गरेका छैनन्, त्यसलाई हिंसात्मक बनाउनसमेत उत्प्रेरित गरेका छन्। उनले सोसल मिडियामा प्रवाह गरेका ‘कन्टेन्ट’लाई गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय र काठमाडौं जिल्ला प्रहरी परिसरले विश्लेषण गर्दै सुरक्षा रणनीति बनाएको हो।
दुर्गा प्रसाईका विरुद्ध नेकपा (एमाले) को भातृ संगठन युवा संघ नेपालले पनि कार्यक्रम गर्दैछ। परस्परविरोधी धारका दुई समूहको अराजक अभिव्यक्तिसहितको विरोधलाई सुरक्षा निकायले सतर्कता साथ हेरेको छ। त्यसकै असर हो, जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर-बालुवाटार क्षेत्रमा निषेधाज्ञा जारी गरिसकेको छ। त्यस्तै, दुवै पक्षलाई सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बोलाएर तीनकुनेमा युवा संघ र बल्खुमा प्रसाईँ समूहलाई कार्यक्रम गर्न दिइएको छ।
राजनीतिक पृष्ठभूमि भएका कारण महेश बस्नेन नेतृत्वको युवा संघभन्दा असंगठित र जिम्मेवार संगठन नरहेका कारण प्रहरीले दुर्गा प्रसाईँ केन्द्रित भएर थप सुरक्षा व्यवस्था मिलाउने रणनीति लिएको छ। प्रसाईँले उत्तेजित बनाएका व्यक्तिको भिड, आन्दोलनमा उपस्थितको सम्भावनासमेतलाई हेरेर प्रहरीले सुरक्षा तयारी गरिरहेको छ। राजनीतिक दल, विभिन्न संघसस्थाले गर्ने प्रदर्शनभन्दा फरक ढङ्गले सुरक्षा निकायले प्रसाईँको गतिविधिलाई निगरानी गरिरहेको छ। प्रसाईँको आन्दोलन बैंक तथा वित्तीय क्षेत्रसँग जोडिएकाले उनको भड्काउमा मानिसहरु पर्नसक्ने विषयलाई सुरक्षा निकायले गम्भीरताका साथ लिएको हो।
प्रसाईँको आन्दोलन अराजक हुनसक्ने रिपोर्ट
सुरक्षा निकायका केही अधिकृतले प्रसाईँ समूहको आन्दोलनले अराजकता निम्त्याउन सक्ने ब्रिफिङ गरेका छन्। प्रसाईँले बैंक तथा वित्तीय संस्थामाथि आक्रमण गर्ने अभिव्यक्ति दिँदै आएकाले उनको प्रभावमा परेका समूह आरजक हुनसक्ने आँकलन गरिएको हो। उनको समूहले सुरक्षाकर्मीलाई भड्काउन प्रयास गर्नसक्ने, युवा संघको कार्यक्रम विथोल्न सक्ने, बैंक तथा वित्तीय संस्थामा आक्रमण गर्नसक्ने, मारवाडी समूहलाई तारो बनाउन सक्ने विश्लेषण सुरक्षा निकायको छ।
प्रसाईँ समूहको आन्दोलन वैचारिक नेतृत्वबाट नहुने र अराजक समूह जतातिर पनि मोडिनसक्ने सम्भावनालाई अन्य आन्दोलनभन्दा फरक हिसाबले हेर्ने अवस्था बनेको हो। आन्दोलनलाई नेतृत्व गर्ने नेतृत्व नहुँदा भिड अनियन्त्रित हुनसक्ने भएकाले सुरक्षा चुनौती अन्य आन्दोलनभन्दा फरक हुने पूर्व एआईजी प्रधुम्न कार्की बताउँछन्। त्यसैले गृहदेखि प्रहरीसम्मको रणनीति फरक हुनु स्वभाविक मान्छन् उनी।

‘नेतृत्व राम्रो नभएको समुहले प्रदर्शन गर्दा भिड जता पनि लाग्न सक्छ। कन्ट्रोल नभएको भिडले दुर्घटना निम्त्याउने सम्भावना रहन्छ,’ पूर्व एआईजी कार्कीले भने।
त्यसो त प्रदर्शनका क्रममा सुरक्षाकर्मीले भिडको प्रकृतिअनुसार सुरक्षा रणनीति तत्कालै परिवर्तन पनि गर्छ। प्रसाईँ समुहमा अराजक युवाको उपस्थिति हुने आँकलन गरिएको छ जसले जहाँसुकै पनि आक्रमण गर्न सक्छ। भिडलाई उत्तेजित बनाउन सक्छ। यिनै आधारमा सुरक्षाकर्मी संख्या बढाएर मैदानमा उतार्ने तयारी प्रहरीको छ। प्रहरीको आन्तरिक आँकलनअनुसार प्रसाईँको आन्दोलनमा १० हजार जनासम्म मानिस रहनसक्छन्। त्यसै अनुसार गृहले सशस्त्र प्रहरी र जनपथ प्रहरी दुवैलाई परिचालन गर्दैछ। पूर्वएआजी कार्की चाहिँ आन्दोलनकारीको सङ्ख्या र सुरक्षाकर्मीको सङ्ख्या भन्दा पनि भिडको प्रकृति निर्णायक हुने बताउँछन्
‘प्रदर्शनकारी शान्तिपूर्ण विरोधमा छन्, शिक्षित वर्गहरू हुन् भने सुरक्षाकर्मीको सङ्ख्याले मात्र फरक राख्दैन। नत्र त १० जना अराजक समूहले नै ठूलो आतंक पैदा गरेर माहोल बिगार्न सक्छन्,’ कार्कीले भने।
गृह मन्त्रालयदेखि जिल्ला प्रशासन कार्यालयले भने कार्यक्रमलाई हेरेर सम्पूर्ण सुरक्षा व्यवस्था मिलाउने दाबी गरेको छ। जसको लागि काठमाडौं उपत्यकाभित्र र आवश्यक परे विभिन्न गणहरूबाट पनि सुरक्षाकर्मी परिचालन गर्न लागेको छ।
‘हामीले सबै सुरक्षा विश्लेषण गरेर सुरक्षाको व्यवस्था मिलाएका छौँ,’ काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने।
असङ्गठित मानिसको प्रवेशको सम्भावना
दुर्गा प्रसाईँको आन्दोलन सैद्धान्तिक नभइ मुढेबल आधारित देखिएको छ। व्यक्तिगत टकरावका कारण आन्दोलनले उग्र रुप लिनसक्ने विज्ञहरूको बुझाई छ। किनकि प्रसाईँका अधिकांश माग राज्यले सम्बोधन गर्न सक्दैन। उनले जे आश्वासन बाँडिरहेका छन्, त्यो लोकरिझ्याईभन्दा माथि छैन।
सरकारप्रतिको असन्तुष्टि, आर्थिक मन्दी अवस्था लगायतका कारण दुर्गा प्रसाईँको लहडी आन्दोलनमा मानिसहरु सहभागी हुनु अनौठो होइन। त्यसमाथि अदृश्य रुपमा संगठित रुपमा संघसस्था समेत उपस्थिति हुँदैनन् भन्ने आधार छैन। त्यसैले सुरक्षा चुनौती अन्य राजनीतिक दलका आन्दोलन भन्दा फरक हुने पुर्व डीआईजी हेमन्त मल्ल ठकुरी बताउँछन्।

‘अहिले एजेन्डाभन्दा पनि नेता र सरकारको विरोध गर्ने असङ्गठित समूह पनि संलग्न हुने सम्भावना हुन्छ। घोषितभन्दा असङ्गठित र अदृश्य समूहले आन्दोलन भड्काउने चुनौती हुन्छ,’ पूर्व डीआईजी मल्ले भने। यी सबै परिदृश्यका बीच सूचना सङ्कलन गर्नको लागि सादा पोसाकमा प्रहरी परिचालन गरेको छ।
असन्तोषमा उत्तेजित भाषण, सुरक्षा चुनौती
राजनीतिक दलहरुको डेलिभरीप्रति जनता सन्तुष्ट छैनन्। त्यसैलाई आफ्नो रणनीतिक स्वार्थमा क्यास गर्ने प्रयास प्रसाईँले गरेका छन्। राजनीतिक दलका नेतालाई जथाभावी गाली गरेरै राष्ट्रिय स्वतन्त्र पार्टीको बलियो उदय भएको, बालेन शाह काठमाडौंमा त्यही शैलीले मेयर बनेको पृष्ठभूमिमा दुर्गा प्रसाईँले आन्दोलन आह्वान गरेका हुन्। बालेन र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताभन्दा तुच्छ शब्द प्रयोग गर्दै नेताहरु विरुद्ध गालीगलौचमा उत्रिएपछि सोसल मिडियामा उनी लगातार छाइरहेका छन्।
राजनीतिक दलबाट असन्तुष्ट एउटा ठूलो वर्ग प्रसाईँका तिनै अभिव्यक्तिका कारण प्रभावित छन्। उनको सामाजिक सद्भाव विथोल्ने अभिव्यक्तिप्रति उनका समर्थकहरु ताली बजाइरहेका हुन्छन्। काठमाडौंमा उनले गर्ने भाषणले मानिसलाई थप उत्तेजित र आक्रामक बनाउने सम्भावना छ।
‘उनका शब्द चयन ठीक छैन। एक खाले मानिसले यस्तै सुन्न खोजिरहेका छन्। त्यसले पनि आन्दोलनलाई भड्काउन वा उत्तेजित बनाउन मद्दत गर्न सक्छ,’ मल्लले भने।