अस्तव्यस्त पृथ्वी राजमार्ग : दसैंमा घर जानेलाई सडक सास्ती, पोखरा पुग्नै १२ घण्टा

प्रवीण रानाभाट
२०८० कात्तिक ५ गते ०९:४३ | Oct 22, 2023
अस्तव्यस्त पृथ्वी राजमार्ग : दसैंमा घर जानेलाई सडक सास्ती, पोखरा पुग्नै १२ घण्टा

काठमाडौं । दसैंका लागि राजधानी छाडेर जानेको संख्या १० लाख नाघिसकेको छ। तर काठमाडौं उपत्यका छाडेर आफ्नो जन्मथलोमा पुग्न धेरैलाई सहज छैन।

Tata
GBIME
Nepal Life

नागढुंगा हुँदै काठमाडौं छाड्नेको संख्या पछिल्लो समय बढेको छ। तर, पृथ्वी राजमार्गमा सडक विस्तारका कारण यात्रुले निकै सास्ती भोग्नु परिरहेको छ।

सडक निर्माणमा ढिलाइ हुँदै हरेक दिन यो नाका हुँदै यात्रा गर्नेले दु:ख पाउँछन्। दसैंको समयमा सवारी संख्याको चाप बढ्दा राजमार्ग झन् अस्तव्यस्त हुन थालेको छ।

पोरखा, लमजुङ, चितवन, धादिङ लगायतका जिल्लामा हिँडेका यात्रुलाई घाम लागेका बेला सडकबाट उडेका धुलोले हैरान पारेको छ। धुलाम्मे सडकमा सवारीको चाप बढ्दा अगाडिको सवारीसाधन नै देख्न मुस्किल छ। जसले दुर्घटनाको जोखिम बढाएको छ।

मोटरसाइकलमा सवार यात्रुहरु रनकोट र ज्याकेटले धुलो छेकेर यात्रा गर्ने प्रयासमा देखिन्छन्। सडकको कतिपय खण्ड हिलाम्मे हुँदा थप यात्रा थप कष्टकर भएको छ।

सामान्य समयमा काठमाडौंदेखि पोखरा पुग्न ५ देखि ६ घण्टा लाग्थ्यो। तर अहिले सडकको दुरअवस्थाका कारण सोहि गन्तव्य पुग्न १० देखि १२ घण्टा लाग्ने गरेको यात्रुहरुको गुनासो छ। सडकमा पहिरो खस्ने, निर्माण कार्य, दुर्घटनाका कारण सडक पटकपटक अवरुद्ध हुने गरेको छ।

दसैंको समयमा झन् कष्टकर यात्रा गर्नुपर्दा यात्रुहरु हैरान भएका छन्।

एसियाली विकास बैंकको सहयोगमा २०७७ सालदेखि चिनियाँ कम्पनी अनहुइ कैयुएन हाइवे एन्ड ब्रिजले ७ अर्ब ४० करोड ४६ लाख ८१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। सम्झौता गरेर २०७८ सालपछि सडक स्तरोन्‍नतिको कार्य अघि बढेको थियो। काम छिटो सक्न र ४ लेनमा सडक विस्तार कार्य अघि बढिरहेको स्तरोन्‍नतिको कार्य दुई खण्डमा भाग गरेर सुरु भयो।

मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँ खण्डलाई दुई भागमा विभाजन गरी काम गरिएको मा दुवै खण्डको हालसम्मको प्रगति १५ प्रतिशत रहेको छ।

अहिले पूर्वी र पश्‍चिम सडकखण्ड गरि दुई भागमा सडकको काम अघि बढिरहेको छ। तर, पश्‍चिम सडकखण्डको काम भने पूर्वीको भन्दा सुस्त गतिमा भइरहेको छ। पूर्वी सडकखण्डको कार्य ३३ प्रतिशत पुग्दा पश्‍चिम सडकखण्डको कार्य जम्मा ९ प्रतिशत पुगेको छ।

यो समय पर्यटकीय सिजन पनि हो। पोखरा, मनाङ मुस्ताङ लगायतका क्षेत्रमा पुग्ने पर्यटकलाई पनि सडकले सास्ती दिएको छ। व्यापारीहरुका अनुसार सडकको अवस्थाकै कारण पर्यटकको संख्या उल्लेख्य वृद्धि हुन सकेको छैन।