
काठमाडौं। सरकारले राजस्वमा संकुचनले खर्च थेग्न कठिन हुँदै गएपछि आन्तरिक ऋण उठाउने क्रमलाई तीव्रता दिएको छ।आन्तरिक ऋण उठाउने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले फेरि १० अर्ब रूपैयाँको विकास ऋणपत्र बिक्री गर्न लागेको छ।
ऋणपत्र बिक्रीका लागि राष्ट्र बैंकले बुधबार सूचना जारी गरेको छ। सूचना अनुसार ऋणपत्र खरिदका लागि असोज १८ गते दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिने छ। ऋणपत्र असोज १९ गते निष्कासन गरिनेछ।
ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले ऋणपत्र खरिद गर्न सक्नेछन्।
ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा लगानी गर्न सकिने सूचनामा उल्लेख छ। ‘विकास ऋणपत्र २०८८ ‘ङ’ नाम दिइएको ऋणपत्र ८ वर्षमा परिपक्व हुनेछ।ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ।
सरकारले यो आर्थिक वर्ष २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएकामा अढाइ महिनामै ७२ अर्ब ३१ करोड रुपैयाँ उठाइसकेको छ। राजस्वमा संकुचनका कारण सरकारी खाता अहिले ७ अर्ब ७४ करोड रुपैयाँले ऋणात्मक छ।
सरकारले यो आर्थिक वर्ष गत वर्ष संकलन भएको भन्दा ४० प्रतिशत बढी राजस्व उठाउने लक्ष्य लिएकामा पहिलो २ महिनामा पोहोरको भन्दा पनि कम उठेको छ।