
काठमाडौं। सामान्य: सार्वजनिक बिदा वा शनिबार काठमाडौंका सडक अरु दिनभन्दा खाली हुन्छन्। ‘पिक आवर’ मा पनि जाम हुँदैन।
तर दसैं सुरु हुनु महिना दिन अघिदेखि शनिबार र सार्वजनिक बिदाका दिनसमेत सडकमा जाम हुन्थ्यो। किनमेल गर्ने ठाउँमा खुट्टा राख्ने ठाउँ हुँदैनथ्यो।
यसपालि दसैंअघि अब दुई वटा शनिबार मात्र किनमेलका लागि बाँकी छन्। असोज १३ गते शनिबार बजारमा खासै चहलपहल थिएन। अघिल्ला वर्षका दसैंमा ग्राहकको घुइँचो लाग्ने सपिङ मलका व्यापारी शनिबार फुर्सदमै देखिन्थे।
बैंक तथा वित्तीय संस्थाले दसैंका लागि भनेर कर्मचारीलाई चाडबाड भत्ता उपलब्ध गराइसकेका छन्। बीमा कम्पनीहरुले दिन थालेका छन् भने केही सूचीकृत कम्पनीहरुले पनि भत्ता दिएका छन्।
सरकारले समेत २१ अर्ब रुपैयाँ निकासा गरिसकेको छ। आन्तरिक ऋण उठाएर दसैंभत्ता र तलब दिएको हो।
केही सीमित क्षेत्रका व्यक्तिको हातमा पर्व मनाउन थप पैसा आएपनि समग्र क्षेत्रमा छाएको निराशाले बजार चलायमान हुन सकेको छैन।
यसपालि उनीहरुलाई बजारमा माग बढ्छ भन्ने विश्वास नै भएन। त्यही भएर उनीहरुले आन्तरिक उत्पादन बढाउने, बजार प्रवर्धन गर्नेतिर रुचि नै राखेनन्।

दसैं बिदा कात्तिक ४ गते सुरु हुन्छ। त्यसअघि नै तलब र दसैंभत्ता दिइसक्नु पर्छ। दसैं सकिएपछि तिहारको मुखमा फेरि असोजको तलब दिने बेला हुन्छ। यसो हुँदा करिब तीन साताको बीचमा ३ महिनाको तलब उपलब्ध गराउनु पर्ने हुन्छ।
तर व्यापार व्यवसाय घट्दो क्रममा रहेका कारण निजी क्षेत्र दसैं भत्ता दिन नसक्ने अवस्थामा पुगेको छ। त्यसैले पनि बजारमा किनमेल गर्नेहरु खासै देखिएका छैनन्।
दरबारमार्गको बेन्टलेका बिक्रेता निराश देखिएका छन्। पोहोर पनि अर्थतन्त्र राम्रो थिएन। यसपालि स्थिति थप बिग्रेको छ। ‘किन्ने त परको कुरा पसलमा आउने ग्राहकको संख्या नै पोहोरभन्दा धेरै घटेको छ‚’ बेन्टलेका बिक्रेताले भने। बेन्टले दसैंमा जुत्ताचप्पल किनेमलका लागि निकै चर्चित पसल हो।
अरुबेला सुस्त हुँदा पनि दसैंमा हुने खर्चले अर्थतन्त्र चलायमान बनाउँथ्यो। उद्यमीदेखि व्यापारीसम्म व्यापार बढाउन दसैंको पर्खाइमा हुन्थे। यसपालि उनीहरुलाई बजारमा माग बढ्छ भन्ने विश्वास नै भएन। त्यही भएर उनीहरुले आन्तरिक उत्पादन बढाउने, बजार प्रवर्धन गर्नेतिर रुचि नै राखेनन्।
आयात प्रतिबन्धका बखतभन्दा पनि कम सामान भित्रिएको छ। यसपालि दसैंको मुखमा भएको आयातको तथ्यांकले उत्साहित बनाउँदैन।

दसैं भत्ता, लाभांश, रेमिटेन्स, बैंक बचत र अन्य आर्थिक स्रोतका साथै ऋणपानले गर्दा दसैंमा बढ्ने आर्थिक गतिविधिले मुर्झाएको अर्थतन्त्रलाई कम्तिमा तीन महिनासम्म गति दिने गरेको थियो। यसपालि दसैंको मुखमा भएको आयातको तथ्यांकले उत्साहित बनाउँदैन।
औद्योगिक उत्पादन, कच्चा पदार्थ र उपभोगका लागि आयात हुने गर्छ। यसपालि आयात प्रतिबन्धका बखतभन्दा पनि कम सामान भित्रिएको छ। भन्सार विभागका अनुसार, भदौमा १ खर्ब ३० अर्ब ५० करोडको आयात भएको छ। जबकि पोहोर आयात प्रतिबन्धको अवस्थामा समेत १ खर्ब ५७ अर्ब रुपैयाँमाथिको सामान आएको थियो।
‘बाह्य क्षेत्र रेमिटेन्स आयले राम्रो भएको हो। रेमिटेन्स बढ्नु भनेको अर्को हिसाबले गर्दा दक्ष जनशक्ति पलायन भइरहेका छन् भन्ने पनि हो‚’ राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक त्रिलोचन पंगेनीले भने, ‘आन्तरिक अर्थतन्त्र त नराम्रोसँग प्रभावित भएको छ।’
दसैं तिहारजस्ता पर्वले उपभोग निक्कै बढाउँछ। दसैंमा उपभोग्य सामग्रीको खपत अरु बेलाभन्दा शतप्रतिशत बढ्छ। लुगाफाटादेखि गाडी र अन्य सामग्री दसैंमा नै किन्ने चलन छ। दसैंका लागि बजारमा आएको पैसामध्ये ८० प्रतिशत उपभोगमा खर्च हुने गरेको छ। त्यसैले दसैंमा हुने आर्थिक गतिविधिले त्यसपछि तीन महिनासम्म अर्थतन्त्र चलायमान हुने गरेको हो।
‘मुद्रा विस्तारले आर्थिक गतिविधि बढाउँछ,’ राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले भने, ‘दसैंको गतिविधि उपभोक्तामुखी भएकाले खाद्यान्न र उपभोगका सामग्रीले बजारको आकार बढ्छ। यसले बजारलाई धेरै हदसम्म चलायमान बनाउँछ।’
तर यसपालि ठिक उल्टो भएको छ। बजारमा पहिलेजस्तो ठूलो मात्रामा पैसा आउने सम्भावना देखिएको छैन। रेमिटेन्स आय बढेपनि अर्थतन्त्रमा दुई तिहाइभन्दा बढी योगदान गर्ने निजी क्षेत्रको अवस्था कमजोर बनेको छ। निजी क्षेत्रका केही संस्थाले कर्मचारीलाई तलब दिए पनि भत्ता दिने अवस्था छैन। यसले गर्दा बजारमा यसअघिका वर्षमा जस्तो पैसा आउने देखिंदैन।
सरकार आफैंले पनि चालु बाहेक खर्च गर्न सकेको छैन। पोहोरदेखि नै काम लगाएको पैसा निर्माण व्यवसायीलाई सरकारले अझै तिर्न सकेको छैन। चालु आर्थिक वर्ष त लगभग ‘डेभलपमेन्ट होलिडे’ नै छ।
दसैंका बेला यसअघि सडक मर्मतको काम जोडतोडले हुन्थ्यो, यसपालि त्यो पनि हुन सकेको छैन। नयाँ परियोजना सुरु हुने भन्ने त परै जाओस् भएकै परियोजना अगाडि बढेका छैनन्।
‘अर्थतन्त्रमा पैसा आउने मुहानहरु थुनिएका छन्’ पंगेनीले भने, ‘लगानीको वातावरण छैन। जताततै नैराश्यता मात्र देखिन्छ। यसले गर्दा उपभोगमा समस्या आएको हो।’ पढ्न र काम गर्नका लागि युवाको ठूलो जमात विदेशिएको छ। उपभोग बजारलाई थेग्ने समूह बाहिरिएकाले पनि दसैंमा उत्साह देखिएको छैन।
‘दसैंका लागि भनेर यसपालि मालसामान मगाउन एलसी नै त्यति खुलेनन्‚’ एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले भने, ‘ऋणको माग पनि छैन।’
चालु वर्ष अलिकति बढी माग इलेक्ट्रिक गाडीका लागि आएको छ। सूचीकृत कम्पनीमा काठमाडौं केन्द्रित पाँच तारे होटलले राम्रो कमाइ गरिरहेका छन्। त्यसबाहेक कुनै पनि कम्पनीको नाफामा सुधार छैन।

सामान्य अवस्थामा दसैं तिहारमा निक्षेप घट्ने तर ऋण बढ्ने हुन्थ्यो। पछिल्लो दुई वर्षयता उल्टो भइरहेको छ। यसपालि त ऋण बिस्तार पोहोर जति पनि भएको छैन।
चालु वर्ष अलिकति बढी माग इलेक्ट्रिक गाडीका लागि आएको छ। सूचीकृत कम्पनीमा काठमाडौं केन्द्रित पाँच तारे होटलले राम्रो कमाइ गरिरहेका छन्। त्यसबाहेक कुनै पनि कम्पनीको नाफामा सुधार छैन। बैंक तथा वित्तीय संस्थाकै नाफामा पनि गिरावट छ। केही संस्थाको त वितरणयोग्य नाफा नै ऋणात्मक छ।
‘लाभांशले पनि बजारमा पैसा आउँथ्यो। त्यो अवस्था पनि रहेन। कर्मचारीको तलब भत्ता वृद्धि हुन्थ्यो, अहिले त्यो सबै रोकिएको छ’, एक बैंकरले भने, ‘नियम अनुसार २ वर्षमा बढाउनु पर्छ भने पनि नसक्ने भएपछि के लाग्छ?’
दसैंलाई सेयर बजार र घरजग्गाले पनि स्वागत गर्न सकेको छैन। अन्य बेला दसैं नजिकिँदै जाँदा सेयर बजारमा क्रमिक सुधार आउँथ्यो। लगानीकर्ताले बजारबाट दसैं खर्च जोहो गर्थे। त्यो पैसा उपभोगमा खर्च हुन्थ्यो। यसपालि त्यो अवस्था छैन। दसैं जति नजिकियो, सेयर बजार उति घटिरहेको छ।
घरजग्गा खरिदका लागि बैंक तथा वित्तीय संस्थामा ऋणका फाइलको चाङ हुन्थ्यो। यसपालि आधार दरमा बढीमा एक प्रतिशत प्रिमियम लिएर ऋण दिन्छु भन्ने स्किम आउँदा समेत सोधखोज हुन छाडेको छ।
‘एउटा, दुईटा ठाउँ वा क्षेत्रको कुरा होइन, हरेकको मनोबल कमजोर भएको छ’, ती बैंकरले भने, ‘सुधारको सामान्य संकेत पनि देखिएको छैन।’
दसैंकै बेला उपभोग बढ्न नसकेकाले उनलाई यो वर्षभरि नै स्थितिमा सुधार हुन्छ भन्ने विश्वास छैन। ‘अब सरकारले ‘स्टुमुलेट प्याकेज’ ल्यायो वा ब्याजदर घटाएर तरलता बढाउने गरी केन्द्रीय बैंक सक्रिय भयो भने मात्र अहिलेको अवस्थामा सुधार आउँछ’, उनले भने।