बाजेको सेकुवाले विराटनगरमा खोल्यो १९औँ आउटलेट, शाकाहारीलाई छुट्टै व्यवस्था

बिजमाण्डू
२०८० असोज १७ गते १२:३० | Oct 4, 2023
बाजेको सेकुवाले विराटनगरमा खोल्यो १९औँ आउटलेट, शाकाहारीलाई छुट्टै व्यवस्था


विराटनगर। अमेरिकामा समेत ३ वटा आउटलेट सञ्‍चालनमा ल्याइसकेको बाजेको सेकुवा चेन रेस्टुरेन्टले विराटनगरमा पनि आउटलेट सुरु गरेको छ। विराटनगर-४ मा पर्ने कञ्‍चनबारीमा बाजेको सेकुवाले १५ करोडको लगानीमा १९औँ आउटलेट सञ्‍चालनमा ल्याएको हो।

Tata
GBIME
NLIC

कञ्‍चनबारी चोक दक्षिण धरान रोडसँगै रहेको आफ्नै ८० धुर जमिनमा बाजेको सेकुवाको सफ्ट ओपेनिङ भइसकेको छ। नवरात्र लागेपछि यसको ग्र्यान्ड ओपेनिङ गर्ने सञ्‍चालक चेतन भण्डारीले बताए।

रेस्टुरेन्टमा भुईं तला र पहिलो तलामा गरेर १५० जना अटाउने क्षमता रहेको सञ्‍चालकको भनाइ छ। भुईं तलामा २ वटा फेमिली रुम पनि छन्। रेस्टुरेन्टमा क्याफे र आइसक्रिम पार्लर छुट्टाछुट्टै छन्।

यहाँ कसैले पनि १५० जनासम्मको बर्थडे पार्टी, म्यारिज एनिभर्सरी र अन्य उत्सव गर्नसक्ने उनको भनाइ छ। साथै ५० जनासम्मको सेमिनार, कार्यशाला आदि पनि गर्न सकिन्छ।

बाजेको सेकुवा नाम दिए पनि रेस्टुरेन्टमा शाकाहारीका लागि छुट्टै किचनको व्यवस्था गरिएको भण्डारीले बताए।

‘विराटनगरको मागलाई हेरेर हामीले किचनमा भेज र ननभेज सेक्सन छुट्टाछुट्टै बनाएका छौँ,’ सञ्‍चालक भण्डारीले भने, ‘एउटा सेक्सनका भाँडाकुडा, चक्कु र अन्य सामग्री अर्को सेक्सनमा पुग्दैनन्। त्यस्तै एउटा सेक्सनका कुकहरू पनि अर्को सेक्सनमा जानुहुन्‍न। भेज र ननभेज सेक्सनका लागि रेफ्रिजरेटर पनि भिन्दै व्यवस्था गरिएको छ। हामी यस कुरामा धेरै सचेत छौँ।’

उनले थपे, ‘बाजेको सेकुवा भनेर यहाँ ननभेज सेकुवा मात्र बुझ्नु हुँदैन। यहाँ विभिन्‍न प्रकारका भेजिटेरियन सेकुवा पनि पाइन्छन्। यसबाहेक भेजिटेरियन सेक्सनमा पोलेको लसुन, पोलेको प्याज, पालक फ्राईजस्ता थुप्रै शाकाहारी डिसहरू तयार गरिन्छ।’

सञ्‍चालक भण्डारीका अनुसार रेस्टुरेन्ट राम्ररी चल्दै गए ब्रेकफास्टसहितको सेवा पनि उपलब्ध गराइनेछ।

रेस्टुरेन्टले आफ्नै जमिनमा पार्किङको व्यवस्था गरेको छ। यहाँको पार्किङमा ५० देखि ६० वटा चार चक्के गाडी र ७० देखि ८० वटा मोटरसाइकल अटाउने व्यवस्थापनको दाबी छ।

बाजेको सेकुवाका आउटलेटहरू नेपालमा काठमाडौंबाहिर पोखरा र नुवाकोटमा पनि एक-एक वटा छन्। सञ्‍चालक भण्डारीले जनकपुर, सुर्खेत, नेपालगञ्‍ज र दाङमा आउटलेटका लागि संरचनाको निर्माणकार्य भइरहेको जानकारी दिए।