बझाङमा ४ म्याग्नेच्युडमाथिका १२ भूकम्प, कुन जिल्लामा कति क्षति?

बिजमाण्डू
२०८० असोज १७ गते १०:२५ | Oct 4, 2023
बझाङमा ४ म्याग्नेच्युडमाथिका १२ भूकम्प, कुन जिल्लामा कति क्षति?


काठमाडौं । बझाङमा हिजो दिउँसो गएको भूकम्पपछि हालसम्म परकम्प गइरहेको छ। मंगलबार दिउँसो २: ४० बजे बझाङको तलकोटलाई केन्द्रविन्दु बनाएर ५.३ म्याग्नेच्यडको भूकम्प गएको थियो। त्यसयता आज बिहानसम्म ४ म्याग्नेच्युडभन्दा माथिका १२ वटा भूकम्प गइसकेको छ।

Tata
GBIME
NLIC

आज बिहान ४:२७ बजे र बिहान ५:४३ बजे ४.३ म्याग्नेच्युडका दुई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यस्तै, मध्यराती १२ बजेर ५० मिनेटमा पनि ४.३ म्याग्नेच्युडको र १२ बजेर १६ मिनेटमा ४.१ म्याग्नेच्युडको भूकम्प गएको थियो।

मंगलबारमात्रै ४ म्याग्नेच्युडभन्दा बढीका ८ वटा भूकम्प रेकर्ड भएका छन्। सबैभन्दा ठूलो भूकम्प मंगलबार दिउँसो ३:०६ बजे ६.३ म्याग्नेच्युडको गएको थियो।

कुन जिल्लामा कति क्षति ?

बझाङमा भूकम्पबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका-११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन्।

प्रारम्भिक रिपोर्टका अनुसार बझाङमा भूकम्पका कारण १८ जना घाईते भएका छन् भने ३१ वटा  सरकारी भवन र २९ वटा घरहरुमा आंशिक क्षति पुगेको छ। बाजुरामा २ जना घाइते भएका छन्। त्यहाँ ४ वटा सरकारी भवन र ९ वटा घरहरुमा आंशिक क्षति पुगषेको छ। एउटा घर पूर्ण क्षति भएको छ।

डोटीमा सरकारी भवन ६ वटामा आंशिक क्षति भएको छ। एउटा घर पूर्ण क्षति हुँदा एउटा घरमा आंशिक क्षति पुगेको छ। यस्तै,  अछाममा ५ जना घाइते भएका छन्। त्यहाँ एउटा सरकारी भवन पूर्ण क्षति हुँदा ५ वटामा आशिंक क्षति पुगेको छ। अछाममा एउटा घर पूर्ण र ३ वटा घरहरुमा आंशिक क्षति पुगेको छ।

बैतडीमा भने भूकम्पका कारण एक जना घाइते भएका छन्। त्यहाँ एउटा  सरकारी भवनमा आंशिक क्षति पुग्दा दुईवटा घरहरु पूर्ण क्षतिग्रस्त भएका छन्।

दार्चुलामा भने भूकम्पका कारण एउटा सरकारी भवनमा आंशिक क्षति पुगेको छ। डडेलधुरामा एउटा घर पूर्ण रुपमा क्षति हुँदा  चार वटा घरहरुमा आंशिक क्षति पुगेको छ।