
काठमाडौं। प्रतिनिधि सभाको अर्थ समितिमा मंगलबार अर्थमन्त्री प्रकाशशरण महतलाई बोलाइए पनि अन्तिम समयमा अनुपस्थित भए। यसअघि पनि समितिमा बोलाउँदा अनुपस्थित महत मंगलबार पनि नआएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले भने आपत्ति जनाएका छन्। एमाले सांसदहरुले मन्त्रीले समिति छलिरहेको आरोप लगाएका छन्।
‘उहाँको त्यस्तो के काम पर्यो समितिमा नआएर अन्त जानुपर्ने? यो ठिक भएन। आउँछु भनेर अन्तिममा आउनुभएन। यो दोस्रो पटक हो अर्थतन्त्र मन्दीको अवस्थामा छ। यसलाई सरकारले स्वीकार गर्नुपर्छ,’ पूर्व अर्थमन्त्री तथा एमाले सांसद विष्णु पौडेलको आक्रोश थियो।
अर्थमन्त्री आर्थिक संकटप्रति गम्भीर नभएको आरोप पनि पौडेलले लगाए। पौडेलले मन्त्री महतले समिति छलिरहेको आरोप पनि लगाए। उनले आर्थिक अवस्थाबारे विज्ञसहितको बैठक बोलाएर महतसँग छलफल गर्नुपर्ने राखे।

मन्त्री उपस्थित नभए पनि मन्त्रालयका सचिवद्वय कृष्णहरि पुष्कर र रामप्रसाद घिमिरेसहितको कर्मचारी टोलीले अर्थतन्त्रबारे जवाफ दियो। ‘अर्थतन्त्रमा सुधारका संकेतहरु देखिएका छन्’ सबैको जवाफ एकै थियो।
तर सांसदहरुले भने जवाफलाई टालटुले भएको बताए। कसरी सुधार आयो भन्ने समिति सदस्यहरुको प्रतिप्रश्नमा सचिवद्वयले प्रवेश गर्न चाहेनन्।
‘अर्थतन्त्र सुधार भयो भन्नुहुन्छ। बजारमा डामाडोल छ। सरकारले निर्माण कम्पनीको भुक्तानी नगरेर काम नै रोकिएको छ। कुन कुरा सत्य हो?,’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विराजभक्त श्रेष्ठले गरेको प्रश्नको जवाफ सचिवहरूले दिएनन्। समय अभाव देखाएर पुष्कर निस्किए।

मन्त्रालयका सहसचिव बाबुराम सुवेदीले अर्थतन्त्रमा सुधार भएको दाबी गरे। ‘कित्ताकाट खुलाएपछि घरजग्गा केही चलायमान हुने देखिएको छ। लगानी योग्य पुँजीको अवस्था राम्रो छ,’ सुवेदीले भनेका थिए।
पर्यटन, होटेल, निर्माण र उत्पादनमा सकारात्मक संकेत देखिएको सुवेदीको भनाइ थियो। उनले ब्याजदर कम हुने, कर्जाको माग र कर्जामा वृद्धि प्रक्षेपण पनि समितिमा सुनाए।
तर, मन्त्रालयको दाबी वास्तविकतासँग धेरै टाढा भएको भन्दै समितिका सदस्यहरूले आलोचना गरे। सांसदहरु अर्थमन्त्री महतको आलोचना उत्रिए।
मन्त्रालयको जवाफप्रति सांसदहरूले आक्रोश व्यक्त गरेपछि सचिव घिमिरेले भने आर्थिक क्षेत्रमा देखिएका संकट स्वीकार गरे। ‘राजस्व प्रशासनमा त्यति उत्साह छैन। बजेटले लिएका नीति र सुधारका कार्यक्रमको तत्काल नतिजा नआउने भएकाले सुधार हुन समय लाग्छ। तर बढाइचढाइ गर्न हुँदैन। मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामै पुगेको भन्ने होइन,’ घिमिरेले भने।
अर्थतन्त्रबारे वास्तविकता समितिले जान्न पाउने अधिकार भए पनि मन्त्रालयले ढाकछोपको प्रयास गरेको आरोप सांसदको थियो।
‘उद्योगी व्यवसायीको कुरा सुन्ने हो भने उहाँहरूले भन्नुहुन्छ यो देश अब आर्थिक मन्दीमा नराम्रोसँग फसिसक्यो। उहाँहरूलाई हामीले सामान्य अवस्था छ भनेर कन्भिन्स गराउन सक्ने स्थिति छैन। त्यही भएर मन्त्रालयले वास्तविकता के हो भनिदिनुपर्छ। खाली अंकमा यति सुधार भयो यो भयो भनेर हुँदैन। व्यवहारिक पक्षबाट पनि हेर्नुपर्छ,’ सांसद नारायणी शर्माले मन्त्रालयका कर्मचारीको दाबीमाथि प्रश्न गरिन।

उद्योगी व्यवसायी निराश भएर पलायन हुने स्थितिमा पनि मन्त्रालयले अवस्थालाई सामान्य भन्नु नै समस्या भएको भन्दै सांसदहरूले मन्त्रीले जबाफदेही हुनुपर्ने माग गरे।
अर्थविद् तथा रास्वपाका सांसद डा. स्वर्णिम वाग्लेले अहिलेको अर्थतन्त्रबारे सरकारको बुझाइमै समस्या रहेको बताए। उनले अब सामान्य तरिकाले अर्थतन्त्र सुधारको संकेत देखियो भन्नु गलत भएको टिप्पणी गरे।
‘माइक्रो इकोनोमिक्समा अब बढी ध्यान दिनुपर्ने हो कि। उद्योग बन्द हुने, सटर बन्द हुने स्थिति छ। सफल मानिएका उद्योगीहरूले पनि अहिले मसँगकै भेटमा अब उद्योग बन्द गर्ने स्थितिमा पुगेँ भन्नुभएको छ। अब यो सामान्य डाटा मात्रै केलाएर हुँदैन। यसको पत्र-पत्र केलाउनुपर्छ,’ उनले भने।
वाग्लेले पनि मन्त्री महतले बजेटको कार्यप्रगतिबारे जवाफ दिनुपर्ने बताए।
‘अर्थतन्त्र सुधारका लागि बजेट वक्तव्यको बुँदा नम्बर २९ देखि ४६ सम्मको कार्यप्रगतिको अवस्था के छ ? यसबारे अर्थमन्त्रीले जवाफ दिनुपर्छ,’ वाग्लेले भने।

अर्थमन्त्री महत नआएपछि बैठक एजेन्डामा केन्द्रित त भएन नै, पहिलो एजेन्डामाथिकै छलफल टुंगोमा पुगेन। केही समयको छलफलपछि प्रतिनिधि सभाको बैठकमा जानुपर्ने भन्दै सभापति सन्तोष चालिसेले अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित गरे।
आर्थिक अवस्था र चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको समीक्षाबारे अर्थमन्त्री र सचिवसँग छलफल गर्ने कार्यसूचीमाथि छलफल भए पनि समिति निर्णयमा पुगेन। कार्यसूचीमा भएको मौद्रिक नीति र नयाँ स्टक एक्सचेन्जमा भने बैठक प्रवेश नै गरेन।