
काठमाडौं। ९ किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरासँग सोधपुछ गरेको छ। सीआईबीले महरालाई आफ्नो कार्यालयमा बोलाएर सोधपुछ गरेको हो।
गत पुस १० गते फ्लाइ दुबइबाट चिनियाँ नागरिकले ७३० वटा भेप (इलेक्ट्रिक चुरोट)मा ९ किलो सुन भित्र्याएका थिए। त्यो सुन भन्सारको कोठाबाट चोरी गरी बिक्री गरिएको थियो।
यो प्रकरणमा महरा र उनका छोरा राहुल पनि मुछिएका थिए। सुन ल्याउने चिनियाँ नागरिकसँग महरा बाबुछोराको सम्पर्क देखिए पनि उनीहरुलाई अनुसन्धानको दायरामै नल्याइएपछि सीआईबी र सरकारको आलोचना हुँदै आएको थियो।
यो प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायव सुब्बा रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत, सुरक्षा गार्ड निर्मल विक, सुन व्यापारी वेदप्रसाद अग्रवाल र साहेव राव पाण्डुङ मरग साउन २ गतेदेखि पुर्पक्षका लागि कारागारमा छन्। केही अभियुक्त भने फरार छन्।
सीआईबीले बल्ल महरालाई बोलाएर सोधपुछ गरेको हो। उनका छोरा राहुल एक महिनादेखि सीआईबीको हिरासतमा छन्।अनुसन्धानको क्रममा नाम आएपछि महरालाई बोलाएर सोधपुछ गरिएको सीआईबीका एक अधिकृतले बताए।
भेपमा ९ किलो सुन भित्र्याएका दुई चिनियाँ नागरिक भने फरार छन्।
यो प्रकरणमा केही व्यापारीमाथि पनि अनुसन्धान गरिरहेको ती अधिकृतले बताए। रसुवाका एक व्यापारीसँग तस्करको सम्पर्क रहेको खुलेको छ। ‘सम्पर्क के का लागि भन्ने थप प्रमाण जुटाउँदै छौं। चेक लिएका केही व्यापारी पनि छन्। तर तिनीहरुको अरु नै कारोबार भन्ने पनि छ,’ ती अनुसन्धान अधिकृतले भने।