
काठमाडौं । सोमबार राती वसन्तपुरमा ठड्याइएको य:सिं ढालिएसँगै यँया (इन्द्रजात्रा) सकिएको छ। नानिचा:या: (बीचको टोलमा रथयात्रा) सँगै साँझ साइतमा य:सिं ढालेर टेकु दोभानमा लगेर विसर्जन गरेसँगै इन्द्रजात्रा विधिवत् रुपमा सम्पन्न भएको हो।
य:सिं ढालेपछि त्यसलाई हनुमानढोकाबाट मरु, चिकंमुग:,मजिपात, ह्युमत हुँदै टेकु दोभानमा लगेर विर्सजन गरिएको थियो।

सोमबार महिलाहरुले वसन्तपुरबाट रथ तानेर रथयात्रा सुरु गरेका थिए। कुमारी घरबाट नरदेवी, भेडासीं, किलागल, इन्द्रचोक, मखन हुँदै फेरि कुमारी घर पुगेर रथ यात्रा समापन भएको थियो।

रथयात्रा समापनपश्चात् राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपुरस्थित कुमारी घर गई जिवित देवी कुमारीको दर्शन गरेका थिए।
यससँगै यो वर्षका लागि मजिपा लाखे, पुलुकिसी, सवभकु, दी प्याखंको नाच पनि सकिएको छ।










