जुट उद्योग पनि मन्दीको मारमा, माग कम आएपछि उत्पादन कटौती, मूल्य पनि घट्यो

अनन्तराज न्यौपाने
२०८० असोज १६ गते ०६:१२ | Oct 3, 2023
जुट उद्योग पनि मन्दीको मारमा, माग कम आएपछि उत्पादन कटौती, मूल्य पनि घट्यो


विराटनगर। नेपालमा उत्पादित जुटका सामग्रीका मुख्य क्रेता भारतका आयातकर्ताले खरिद–आदेश घटाएपछि नेपालका उद्योगले उत्पादनमा कटौती गर्न थालेका छन्। मोरङ-सुनसरीका ६ वटा जुट उद्योगमध्ये ३ वटाले साताको एक दिन उत्पादन कटौती गरेका हुन्।

Tata
GBIME
NLIC

हप्तामा एक दिन बन्द हुन थालेका तीन वटै उद्योग सातै दिन चौबिसै घण्टा चल्दै आएका थिए। उत्पादन कटौती गर्ने उद्योगमा नेपालकै सबैभन्दा ठूलो जुट उद्योग अरिहन्त मल्टिफाइबरसहित स्वस्तिक जुट उद्योग र बाबा जुट उद्योग छन्।

अरिहन्त मल्टिफाइबरका सञ्चालक एवम् नेपाल जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले विश्वव्यापी मन्दीका कारण भारतमै जुटका सामग्रीको खपत कम हुन थालेपछि त्यहाँबाट माग कम भइरहेको जानकारी दिए।

गोल्छाको अरिहन्त मल्टिफाइबर दैनिक ७० टन क्षमताको सातै दिन र चौबिसै घण्टा सञ्चालन हुने उद्योग हो। तर मागमा कमी आएपछि शनिबार पुरै बन्द गरेर आइतबारदेखि मात्र सञ्चालन गरिएको उनले बताए।

गोल्छाले भने, ‘परिस्थिति यस्तै हो भने हप्ताको ३ दिनसम्म बन्द गर्नुपर्ने अवस्था देखिँदैछ। यो अवस्था उद्योगी, किसान, मजदुर सबैका लागि विकराल हुनेछ ।’ भारतका उद्योगले युरोप, अमेरिका, खाडी राष्ट्र लगायतका स्थानमा गर्दै आइरहेको जुटका ब्यागहरूको निर्यातमा ४ महिनायता ठूलो ह्रास आएको उनले बताए।

भारतका उद्योगको निर्यात घटेपछि ती उद्योगले त्यहीँका व्यवसायीलाई आपूर्ति बढाएको हुँदा नेपालको निर्यात प्रभावित भएको उनको भनाइ छ। ‘साउन लागेपछि नै जुटका सामग्रीको मूल्य घट्न थाल्यो’, गोल्छाले भने, ‘मूल्य घटे पनि भदौ महिनासम्म ठिकै अर्डर अइरहेको थियो। असोज लागेपछि अर्डरमा ५० प्रतिशतले गिरावट आएको छ। त्यसैले यही शनिबारदेखि हामीले हप्तामा एक दिन उद्योग बन्द गर्ने निर्णय गरेर त्यसलाई कार्यान्वयनमा ल्याएका हौँ।’

मजदुरको पारिश्रमिकमा वृद्धि भएपछि उद्योगको लागत अझ महँगो भएको उनको प्रतिक्रिया छ। पारिश्रमिकमा वृद्धिपछि आफ्नो उद्योगमा मासिक १५ करोडभन्दा बढीको असर परेको उनले बताए। श्रमिकको पारिश्रमिकको निर्धारण गर्ने निकायले काठमाडौं र मुलकका अन्य विभिन्न सहर र स्थानका लागि एउटै मापदण्ड बनाएको भन्दै उनले प्रतिवाद गरे।

गोल्छाले भने, ‘मुलुकका अन्य स्थानमा भन्दा राजधानी काठमाडौँमा दैनिक जीवन महँगो छ‚ त्यसैले त्यहाँ अन्य स्थानको भन्दा बढी पारिश्रमिक हुनु आवश्यक छ। तर काठमाडौँमा पाउनेजति नै ज्याला काठमाडौँबाहिरका स्थानमा पनि निर्धारण गरिनु व्यावहारिक र वैज्ञानिक हुँदैन। तर सरकारले मजदुरको ज्यालाका हकमा देशभरि ज्यालाको एउटै दररेट कायम गरेको छ।’

उनले कामदारको ज्यालाको दररेट निर्धारण गर्दा भौगोलिक र क्षेत्रगत आधार बनाइनुपर्ने र जीवनयापनका लागि कुन ठाउँ सस्तो र महँगो छ भन्ने कुराको अध्ययन गरेर त्यसलाई आधार बनाउनु पर्ने आग्रह गरे । ‘कुनैकुनै उद्योग जन्मजात रूपमा कुनै क्षेत्र र भूगोलमाथि निर्भर हुन्छन्। नेपालका जुट उद्योग पनि सुरुदेखि नै भारतमा निर्भर रहँदै आएका छन्। अब भारतबाटै माग कम आउन थालेपछि उत्पादनमा कटौती गर्नुको विकल्प भएन‚’ उनले भने।

संघका वरिष्ठ उपाध्यक्ष एवम् बाबा जुट मिल्सका सञ्चालक प्रकाश मुन्दडाले आफ्नो दैनिक २५ टन क्षमताको उद्योग शनिबारदेखि हप्तामा १ दिन बन्द गर्न थालेको जानकारी दिए। उनका अनुसार नेपालका सबै जुट उद्योगको ९५ प्रतिशत उत्पादनको बजार भारत नै हो। उतैबाट माग कम भएपछि उत्पादनमा कटौती गर्नुपरेको हो।

भारतका आयातकर्ताले अत्यन्त कम मूल्यमा अर्डर दिन थालेको र उक्त मूल्यबाट उद्योग सञ्चालन गर्ने अवस्था नरहेको जिकिर उनको छ।

नेपाल उद्योग परिसंघका कोशी प्रदेशका प्रवक्ता एवम् स्वस्तिक जुटका सञ्चालक रमेश राठीले पनि आफ्नो २५ टन क्षमताको उद्योगमा शनिबार हप्ताको एक दिन उत्पादन बन्द गर्न थालेको बताए। भारतको फुड कर्पोरेसन अफ इन्डिया (एफसीआई)ले आफ्नो मुलुकमा उत्पादित जुटब्याग मात्र प्रयोगमा ल्याउँदा नेपालका जुट उद्योगको कारोबारमा ठूलो धक्का लागेको उनले स्पष्ट पारे।

भारतले नेपालका जुट उद्योगका उत्पादनलाई ४ प्रतिशत एन्टी डम्पिङ ड्युटी लगाएकाले पनि त्यसले लागत अझ बढाएको उनले चर्चा गरे। नेपालका जुट उद्योगले चालु आवको साउन र भदौ महिनामा गत वर्षको सोही अवधिका तुलनामा सस्तो दरमा निर्यात गर्नुपरेको दुखेसो उनले गरे।

उनले भने, ‘गत आर्थिक वर्ष हामीले जुटको हैसियन चट्टी (लामो कपडा) प्रति वर्ग मिटर ४८ रुपैयाँले निर्यात गरेका थियौं। चालु आवको २ महिनामा ४४ रुपैयाँले गरेका छौं। त्यस्तै जुटका बोराको निर्यात प्रतिकिलो १४२ बाट झरेर १२७ रुपैयाँमा भएको छ। जुटको डोरीको निर्यातमूल्य झन् धेरै घटेको छ। प्रतिकिलो १०६ रुपैयाँमा निर्यात भइरहेको जुटको डोरीले साउन र भदौ महिनामा किलोको ५८ रुपैयाँको मूल्य मात्र पाएको छ। असोज लागेपछि त मूल्य र माग दुवैमा ह्रास छ। यसको असर किसान र श्रमिकसम्म पर्ने निश्चित छ।’

भारतीय पत्रपत्रिका यस्तो भन्छन्
भारतीय पत्रपत्रिकाले त्यहाँका जुट उद्योगले उत्पादनमा ३० देखि ५० प्रतिशतले कटौती गरेको समाचार लेखेका छन्। कोलकाताको सन्मार्ग दैनिकले भारतीय जुट मिल संघका अध्यक्ष राघव गुप्तालाई उद्धृत गर्दै सेप्टेम्बरदेखि नोभेम्बरसम्मका लागि जुटका उत्पादनको मागमा ३० देखि ५० प्रतिशतले गिरावट आएको जनाएको छ।

सन्मार्ग दैनिकका अनुसार सेप्टेम्बर महिनामा महाराष्ट्रमा ३.२१ लाख गाँठ जुटका बोराको माग हुने अनुमान गरिएकोमा २.५ लाख गाँठ मात्र भएको छ। अक्टोबर र नोभेम्बर महिनाका लागि २ लाख गाँठभन्दा बढी माग होला भन्ने अनुमान गरिएकोमा १.४८ लाख गाँठ हुने सम्भावना छ। त्यस्तै छत्तीसगढको प्रदेश सरकारले अक्टोबर र नोभेम्बर महिनाका लागि गरेको अर्डर रद्द गरेको छ।