
काठमाडौं। २०८० साउन महिनामा देशमा अहिलेसम्मकै उच्च रेमिटेन्स भित्रियो। विदेशमा काम गर्न गएका नेपालीले औपचारिक माध्यमबाट १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ रेमिटेन्स पठाएका हुन्।
गत मंसिरदेखि हरेक महिना एक खर्ब रुपैयाँमाथि रेमिटेन्स भित्रिरहेकोमा साउनमा ऐतिहासिक धेरै भित्रिएको हो।
सामान्यत: रेमिटेन्स दसैंतिहारअघि अलि बढी भित्रिने गरेको थियो। दसैं असोज-कात्तिकतिर पर्ने हुँदा भदौ र असोजमा रेमिटेन्स उच्च दरले बढ्ने गरेको थियो। यसपाली त गत जेठ महिनादेखि नै रेमिटेन्स वृद्धिले रेकर्ड तोड्न थालेको हो।
रेमिटेन्स उच्च दरले बढ्नुका पछाडि मुख्यत: दुई कारण छन्, एउटा रोजगार र पढ्न भनेर यसपाली एकदमै ठूलो जनशक्ति बाहिरिएको छ। अर्को भनेको डलरको विनिमय दर वृद्धि भएको छ।
‘मुख्य त ठूलो जनशक्ति बाहिरिँदा नै त्यसको प्रभाव रेमिटेन्स आयमा परेको हो‚’ राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक त्रिलोचन पंगेनीले भने, ‘औपचारिक माध्यमबाट मात्र यति धेरै रेमिटेन्स आएको छ। हामीले हुन्डी नियन्त्रण गर्न सक्यौं भने रेमिटेन्सको आधार थप बढेर जान्छ।’
दसैंतिहारमा नेपाल बस्ने परिवारको खर्च बढी हुन्छ। ठूलो चाड भएकाले खाद्यान्न, लत्ताकपडा, यातायातदेखि सरसामान जोड्नका लागि समेत खर्च हुन्छ। यसका लागि भनेर विदेशमा गएकाहरुले अलिकति बढी नै रकम नेपाल पठाउने गर्छन्।
‘दसैंतिहारलाई भाइब्रेन्ट बनाउने मूलत: रेमिटेन्सले नै हो‚’ राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले भने, ‘यसपाली स्थानीय आयआम्दानी कम भए पनि विदेशबाट आउने पैसाले केही जोडबल गर्छ।’
उनको बुझाइमा विदेशिनेको संख्या ठूलो भएकाले यसपाली रेमिटेन्स आयमा अरु महिनाभन्दा थप सुधार हुन्छ।
काम गर्नै गएकाहरुले त पैसा पठाउँछन् नै‚ पढ्न भनेर गएकाहरुले पनि चाडबाडमा रकम पठाउने गर्छन्। त्यसले गर्दा भदौ र असोजमा रेमिटेन्सले उचाइ हासिल गर्ने लेखाजोखा राष्ट्र बैंकको पनि छ।

पोहोर-परारको दसैंअघिको रेमिटेन्सको तथ्यांकमा भने खासै ठूलो सुधार देखिएको थिएन। कोभिडको प्रभाव कायम रहेकाले यसपाली जस्तो ठूलो जमात बाहिर गएको थिएन। बाहिर गएकाहरु पनि नेपाल नै फर्किएका थिए।
यसपाली आन्तरिक अर्थतन्त्रमा छाएको मन्दी, कमजोर मनोबल, महँगी र घट्दो व्यापार व्यवसायबाट निरास भएर युवाहरु कि त काम गर्न गएका छन् कि पढ्ने बहानामा बाहिरिएका छन्। काम गर्नै गएकाहरुले त पैसा पठाउँछन् नै‚ पढ्न भनेर गएकाहरुले पनि चाडबाडमा रकम पठाउने गर्छन्। त्यसले गर्दा भदौ र असोजमा रेमिटेन्सले उचाइ हासिल गर्ने लेखाजोखा राष्ट्र बैंकको पनि छ।
‘करिबन २०/२५ प्रतिशतले बढ्छ भन्ने हाम्रो अनुमान हो। साउनमै ११६ अर्ब आएकाले भदौमा सहजै १२५ अर्ब नाघ्नु पर्ने हो‚’ केन्द्रीय बैंकका एक उच्च अधिकारीले भने, ‘पछिल्लो दिन बैंकमा बढेको निक्षेपले पनि रेमिटेन्समा राम्रो सुधार हुन्छ भन्ने संकेत गरेको छ।’
यसपाली दसैं कात्तिक लागेपछि सुरु हुन्छ। त्यसो हुँदा असोजमा पनि उत्तिकै रेमिटेन्स भित्रिने देखिएको छ। पोहोर भने रेमिटेन्सको वृद्धि दर उत्साहप्रद थिएन। साउनमा ९२ अर्ब भित्रिँदा भदौमा ९४ अर्ब ८३ करोड र असोजमा ९४ अर्ब १ करोडमा सीमित भएको थियो।
पोहोर दसैंतिहार मानेलगत्तै ठूलो जनसंख्या बाहिरिन थालेको थियो, उनीहरुले आयआर्जन गरेर पैसा पठाउन थालेकाले मंसिरदेखि रेमिटेन्समा निरन्तर सुधार आएको हो।

२०७८ मा पनि साउनमा ७६ अर्ब भित्रिँदा भदौमा साढे ७९ अर्ब र असोजमा ८१ अर्ब रुपैयाँ भित्रिएको थियो। यसपाली भने गत मंसिरदेखि नै रेमिटेन्स जोडतोडले बढिरहेको छ।
पोहोर दसैंतिहार मानेलगत्तै ठूलो जनसंख्या बाहिरिन थालेको थियो। उनीहरुले आयआर्जन गरेर पैसा पठाउन थालेकाले मंसिरदेखि रेमिटेन्समा निरन्तर सुधार आएको हो।
रेमिटेन्सको वृद्धिले मुलुकको विदेशी मुद्राको सञ्चितिमा पनि उच्च सुधार देखिएको छ। विदेशी मुद्राको सञ्चिति २०७९ वैशाखमा ११ खर्ब ४६ अर्ब ८८ करोड रुपैयाँमा झरिसकेको थियो। अहिले साउनमा १५ खर्ब ७३ अर्ब रुपैयाँमा उक्लिसकेको छ।
वैदेशिक रोजगार विभागका अनुसार, पोहोर ३ लाख ५४ हजार रोजगारीमा गएका थिए भने यसपाली ४ लाख ९७ हजार गइसकेका छन्। पोहोर साउनमा १३ हजार ८०० जना गएका थिए भने यसपालीको साउनमा ४४ हजार ५४० जना गएका छन्। यो नयाँ गएकाहरुको तथ्यांक हो।