
काठमाडौं। द्रुत बसका लागि छुट्याइएको लेनमा अब साझा यातायात, स्कुलका बस, एम्बुलेन्स, दमकललगायतका इमर्जेन्सी सवारीसाधनले पनि प्रयोग गर्न पाउने भएका छन्।
आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको संयोजकत्वमा बसेको बैठकले अन्य सवारीसाधनका लागि पनि लेन खुला गर्ने निर्णय गरेको हो।
‘बसले मात्रै लेन ढाकिएन। अरु सवारीसाधनलाई पनि दिँदा उपयुक्त हुने देखिन्छ,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले भने,‘अरुका लागि पनि खुला गर्ने विषयमा छलफल भएको छ।’
द्रुत बस सेवा संविधान दिवसको अवसर पारेर सञ्चालनमा ल्याइएको हो। पाइलटका रुपमा रत्नपार्कदेखि सूर्यविनायकसम्म यस्तो सेवा सञ्चालनमा छ। यो सेवा सञ्चालनका लागि रातो रङ पोतेर छुट्टै लेन बनाइएको छ।
सेवालाई ट्राफिक लाइटमा पनि नरोकिने गरी व्यवस्था मिलाइएको छ। यस्तो बस रत्नपार्क र सूर्यविनायकबाट ५/५ मिनेटमा छुट्ने व्यवस्था मिलाइएको छ।
द्रुत बसका लागि छुट्टयाएको लेन तत्कालै आवश्यकता अनुसार मर्मत गर्न मन्त्री ज्वालाले निर्देशन दिएका छन्। त्यसैगरी अन्य सवारीसाधन समेत प्रवेश गरेकाले डोरी वा अन्य कुनै वस्तु प्रयोग गरेर लेन छुट्याउने निर्णय भएको छ। ‘विस्तारै डेडिकेटेड लेन नै बनाउने हो। तर अहिलले काम चलाउन डोरी वा अन्य वस्तु प्रयोग गरेर छुट्याइने छ,’ बैठकमा सहभागी एक अधिकारीले बताए।
त्यसैगरि मन्त्रालय मातहतका कम जिम्मेवारी भएका कर्मचारी खटाएर जनचेतना जगाउन विभिन्न कार्यक्रम गर्ने निर्णय भएको छ। बस स्टपमा बुझिने सांकेतिक चिह्नसहितको पेन्ट गर्ने समेत निर्णय भएको छ। रत्नपार्क र भक्तपुरको राधेराधेमा बस स्टप थप्ने निर्णय भएको छ।